सुस्मिता पोखरेललाई क्यान्सर लाग्दा उनकी छोरी श्रीधा चार वर्षकी थिइन्। नियमित उपचार र आत्मबलका कारण उनले छोरीलाई क्यान्सर रोगको जटिलता र कठिनाइको महसुस गर्न दिइनन्। तर अघिल्लो शनिबार भने श्रीधा निकै रोएको सुस्मिताले सुनाइन्। नेपाली कथानक चलचित्र ‘दर्पणछाया’मा क्यान्सरकी बिरामी बनेकी हिरोइनको मृत्यु देखेपछि उनी निकै उदास बनेकी हुन्।
‘यसअघिसम्म मैले छोरीलाई क्यान्सर हो, धेरैले जितेका छन्, म पनि जित्दै छु भन्दै आएकी थिएँ,’ सुस्मिताले सुनाइन्, ‘तर सिनेमामा क्यान्सर बिरामीको मृत्यु देखेपछि उनी निकै आत्तिएकी थिइन्। शनिबार निराश रहेकी नौ वर्षीय श्रीधा आइतबारदेखि भने सामान्य बन्दै आएको उनले बताइन्।
‘आइतबार भक्तपुरमा आयोजित क्यान्सर विजेताको होली देखेपछि उनको अनुहारमा खुसी फर्किएको थियो,’ सुस्मिताले भनिन्, ‘अझ सोमबार असनकी क्यान्सर विजेता बुढी आमासँगै मेरो तस्बिर पनि पत्रिकामा प्रकाशित भएपछि झनै खुसी छिन्।’
श्रीधाको खुसी फर्किए पनि सिनेमामा रहेका क्यान्सर बिरामीको चित्रण र तिनका मृत्युले रियलमा क्यान्सर विजेता र उनीहरूका परिवारमा दुःख रहिरहेको उनले सुनाइन्। ‘सिनेमाको सानो कुराले पनि कति प्रभाव पार्दो रहेछ भन्ने मैले बल्ल बुझें,’ उनी भन्छिन्, ‘सिनेमा बनाउनेले पनि त्यो कुराको ख्याल गरिदिए निकै राम्रो हुने थियो।’
उनको कुरासँग नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष प्रमिता खनाल पनि सहमत छिन्। क्यान्सरसँग लड्न औषधिसँगै आत्मबलको पनि उत्तिकै जरुरत रहेको बताउँदै त्यो काममा समाजका हरेक पक्ष संवेदनशील हुनुपर्ने उनले बताइन्। क्यान्सरका बिरामीको हौसलामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी उनले सकारात्मक सोचाइले बिरामी र तिनको परिवारमा सकारात्मक प्रभाव देखिएको बताइन्।
‘हामीले केही समयअगाडि नेपाली सिनेमा हेर्ने क्रममा सरोकारवालालाई सिनेमामा क्यान्सर बिरामी मरेको मात्र नदेखाएर नयाँ जीवन जिएको पनि देखाउन अनुरोध गरेका थियौं,’ उनले भनिन्, ‘उहाँहरूले हाम्रो कुरालाई सकारात्मक रूपमा लिनुभएको छ।’
भक्तपुर क्यान्सर अस्पतालका डाक्टर रोशन प्रजापति पनि पछिल्लो समय क्यान्सर जित्नेहरूको संख्या बढ्दै गएको सुनाउँछन्। ‘समयमै उपचार गराए क्यान्सर पनि अन्य बिमारजस्तै निको हुन्छ,’ उनले भने, ‘क्यान्सरका बिरामीलाई औषधिसँगै आत्मबलको पनि जरुरी हुने सबैले बुझ्नुपर्छ। त्यसैले सिनेमा बनाउनेले पनि यसतर्फ ध्यान दिनुपर्छ।’
मनोसामाजिक परामर्शदाता डा. नम्रता पाण्डे पनि सिनेमालाई समाजको दर्पण भएको बताउँदै यसमा देखाइने कुराले समाजमा सकारात्मक तथा नकारात्मक प्रभाव पर्ने बताउँछिन्। यस्तै सिनेमाको सूक्ष्म प्रभाव क्यान्सर विजेता तथा क्यान्सर रोगीका परिवारमा बढी असर गर्ने उनको बुझाइ छ।
‘क्यान्सरलाई क्यान्सरभन्दा पनि बढ्ता डर लाग्ने बनाएर प्रस्तुत गर्ने गरिएको छ,’ उनले भनिन्, ‘अब सिनेमा तथा कथाका कन्टेन्ट (विषयवस्तु) मा ध्यान पुर्याउनुपर्ने देखिन्छ।’
समाजलाई आशावादी बनाउने काम सिनेमाको पनि भएको उनको बुझाइ छ। ‘क्यान्सर विजेताको जीवनबारे पनि सिनेमा बनाउनुपर्छ,’ उनले भनिन्, ‘यसले क्यान्सरपीडित र तिनका परिवारलाई मात्र होइन, सिंगोे समाजलाई सकारात्मक सन्देश दिन्छ।’
चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिम्सिना ‘दर्शकलाई भावुक बनाउन’ सिनेमामा बिरामी देखाइने गरेको बताउँछन्। ‘हिजो क्यान्सरलाई निको नहुने रोगका रूपमा समाजले लिएको थियो, त्यसैले त्यही रूपमा सिनेमामा चित्रण गरियो,’ उनले भने, ‘अहिले त्यो सोच फेरिएको छ। क्यान्सर बिरामी निको हुन थालेका छन्। त्यसको प्रतिबिम्ब अब सिनेमामा पनि झल्कनुपर्छ।’
प्रकाशित: १७ चैत्र २०८० ०६:५८ शनिबार