१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

वर्षा भएपछि फागु छाडेर खेतीमा रम्दै किसान

फाइल तस्वीर

सहर बजारको जनजीवनलाई फागु पूर्णिमा (होली)ले छपक्कै ढाकेको छ। तर, यो बेला गाउँले जनजीवन भने खेतीबारी प्यारो मानिरहेको छ। फागुको अवसरमा पहाडी समुदायका लागि सरकारले ११ गते बिदा थियो भने तराईवासीका लागि १२ गते।

विदाको सदुपयोग गर्दै बजारक्षेत्रका बालबालिका र युवायुवति रङ खेलेर फागु मनाइरहँदा गाउँवस्तीका किसान भने खेतबारीमा रमाइरहेका छन्। कारण, लामो समयपछि केही दिन यता वर्षा भइरहेको छ। वर्षाले खुसी भएका किसानहरू फागु खेल्नुभन्दा खेतबारीमा रमाउन मज्जा मानिरहेका छन्। लामो समय पानी नपर्दा सुख्खा र धुलाम्य भएका बेला परेको पानीले किसानमा खेतीका लागि उत्साह भरेको छ।

तराई र हिमाली तथा उच्च पहाडी भेगमा पुसदेखि मकै छर्नुपर्ने भए पनि वर्षा नभएकाले किसान चिन्तित थिए। उच्च पहाडी भेगमा माघ पहिलो साताभित्र मकै नछरे उत्पादन घट्ने हुनाले किसान लामो समयदेखि वर्षाको पर्खाइमा थिए। प्रायः चिसो नसुक्ने भएकाले उच्च ठाउँमा वर्षा नभए पनि मकै र आलु छर्ने काम भने किसानले सकिइसकेका छन्।

उच्च भेगमा मकैसँगै आलु रोप्ने याम वर्षा नहुँदा घर्किसकेको छ। वर्षा नभए पनि मकैसँगै किसानले आलु पनि रोप्ने काम गरिसकेका छन्। अहिले कतिपय किसानको मकै गोड्ने काम भइसकेको छ भने कतिको टुसा हानेर गोड्ने बेला हुँदैछ। यो वर्षाले गोडेको मकै र टुसा पलाएको दुवैलाई हलक्क बढ्न उर्जा दिएकोमा किसान मख्ख परेका छन्।

यता, माघ पहिलो सातादेखि फागुन अन्तिमभित्र मकै छरिसक्नुपर्ने तराई भेगका किसान पनि यो वर्षाले खेतबारीमा केन्द्रित हुन पुगेका छन्। पुस–माघदेखि वर्षाको आस गर्दै आएका किसान फागुनभरि पानी नपर्दा तीन बाली पाक्ने खेत बाँझै राख्न बाध्य थिए।

अहिले छरेको मकै जेठमा पाकेपछि असारमा हिउँदे धानको रोपाइँ गर्नुपर्नेमा वर्षा नहुँदा पहिलो बाली मकै छर्न ढिला भइसकेको थियो। बल्ल वर्षा भएपछि किसान जोत्ने, खन्ने र मकै छर्ने काममा व्यस्त हुनु पर्दा फागु खेल्नु प्राथमिकताभित्र नपरेको बताउँछन्।

तराई भेगमा सिँचाई सुविधा नभएको खेतमा मकै छर्ने गरे पनि सिँचाई पुगेका ठाउँमा भने चैते धान लगाउने गरिन्छ। लामो समयदेखि वर्षा नभएकाले कुलो मुहान सुकेर चैते धानको ब्याड राख्नै ढिला भईरहेका बेला वर्षा हुँदा फागु खेल्ने समयलाई किसानहरू ब्याड राख्नमा प्रयोग गरिरहेको बताउँछन्। पानी परेपछि धानको ब्याड राख्ने चटारोले खानेसम्म फुर्सद नपाएका किसानलाई फागु खेल्ने समय पनि कहाँ मिल्नु र?

त्रियुगा नगरपालिका–१३ असारीका अनन्त दनुवार तीन दिनअघि पानी परेदेखि नै खेतबारीमा व्यस्त भइरहेका छन्। उनको आधा खेतमा सिँचाइ पुगेको छ भने आधाउधिमा छैन। सिँचाइ हुने खेतमा चैते धान रोप्न ब्याड राख्नुछ भने सुख्खा खेतमा यही बेला मकै छर्नुछ। दुईतिरको कामले समयमा खान र निन्द्रा पुगिन्जेल सुत्न फुर्सद नभएको दनुवारले बताए।

‘६ महिनादेखि पानी परेको थिएन, कात्तिकमा परेपछि अहिल्यै हो वर्षा भएको,’ खेतमा व्यस्त भेटिएका दनुवारले भने, ‘ब्याड राख्न, मकै छर्न बेला घर्किसको थियो, धन्न वर्षा भयो र खेतमा लागिहालेको।’ दनुवारले अहिले पनि वर्षा नभएको भए आउँदो वर्ष भोकमरी लाग्ने चिन्ता लागिरहेका बेला वर्षा हुँदा किसानको उद्धार भएको भन्दै प्रकृतिलाई धन्यवाद दिए।

यसपटक लामो समयपछि फागुकै बेला वर्षा भएको र प्रायः सबै भूभागमा पानी परेकाले किसानहरू खेतबारीमा केन्द्रित हुन पुगेका छन्। प्रदेश १ को उदयपुरलगायत हिमाली, पहाडी, खोँच, भित्री मधेस र तराई सबैभेगमा पानी परेकाले खेती बाली लगाउन किसान जुर्मुराएका छन्।

हिमाली भेगमा हुर्कदै गरेको मकै र आलु गोड्ने काम भईसकेकाले वर्षाले जमिनलाई उर्वर र मलिलो बनाएको छ। वैशाख पहिलो साताभित्र मकै छरिसक्नुपर्ने पहाडी र उच्च पहाडी भेगमा बाली लगाउनुअघि जमिन बाँझो मार्ने (जोत्ने), गोठ उतार्ने, मल बिछ्याउने, घसेटा पोलेर मल बनाउने काम वर्षासँगै धमाधम हुन थालेको छ।

सिँचाइ पुगेका खोंच र भित्री मधेसक्षेत्रका किसान चैते धानको ब्याड राख्ने, खेत जोत्ने, कान्ला ताछ्ने, मल छर्ने कामको चटारोमा छन्। तराई भेगमा मकै छर्न र व्याड राख्ने काममा तल्लिन हुन पुगेका छन्। परम्पारगत र अर्ध व्यावसायिक किसानको बाहुल्य रहेको उदयपुरमा धान र मकैको खेती बढी हुने गरेको छ भने आलु, कोदो, गहुँ, फापर र दलहन खेती पनि उत्तिकै हुन्छ।

अर्ध व्यवसायिक किसानलाई मौसमी खेती मात्र गर्नुपर्ने हुँदा सिजनमा मात्र चटारो हुने गर्छ भने व्यवसायिक किसान भने बाह्रै मास व्यस्त हुनुपर्छ। उदयपुरमा व्यवसायिक किसान भने औंलामा गन्न सकिने संख्यामा छन्। व्यावसायिक खेतीमा तरकारी बाली र फलफुलतर्फ केही युवाहरूको आकर्षण बढ्दै गएको छ।

अधिकतर एकीकृत कृषि व्यवसायमा लागेकाहरू पहाडी भेगभन्दा तराईतिर बढी केन्द्रित छन्। पहाडी भेगमा भने फलफुपलतर्फ सुन्तला र कागती तथा तरकारीतर्फ साग, गोलभेडा, खुर्सानी, काउली, आलु र भान्टा खेती गर्ने गरिएको छ।

संघीयता र गणतन्त्रपछि स्थानीय तह पुनर्संरचना भएसँगै कच्ची नै भए पनि सडक सञ्जाल गाउँगाउँ पुगेका कारण गाउँमा उत्पादित कृषि उपजको बिक्रीमा उत्ति चिन्ता लिनुपर्ने अवस्था छैन।  

प्रकाशित: १३ चैत्र २०८० ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App