सरकारले चूडामणि पौडेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सरकारले गत भदौ २३ गते सहसचिव पौडेललाई कर्णालीको कायममुकायम प्रमुख सचिव बनाएको थियो।
पौडेल सचिवमा बढुवा भए पनि उनको पदस्थापन भने कर्णालीमै हुने जनाइएको छ।
पौडेल यसअघि २ पटक सचिव पदको बढुवा सूचिको सिफारिसमा परेका थिए। तर उनीसँगै सिफारिसमा परेका दिनेशकुमार घिमिरे पहिलो पटक र दोस्रो पटक राधिका अर्याल सचिवमा बढुवा भइन्। तर पौडेल बढुवाबाट वञ्चित हुँदै आएका थिए।
यसैगरी बिहीबारकै मन्त्रिपरिषद् बैठकले यही चैत ११ गते अवकाश हुन लागेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा पनि स्वीकृत गरेको छ। सरकारले उनको राजीनामा स्वीकृत गरेर नयाँ सचिवका रूपमा पौडेललाई नियुक्त गरेको हो।
प्रकाशित: ८ चैत्र २०८० १३:१६ बिहीबार