४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आरती साह मृत्यु प्रकरण: सासू रेणु साह पक्राउ

आरती साह मृत्यु प्रकरणमा उनकी सासू  रेणु साह पक्राउ परेकी छिन्। धनुषा प्रहरीले रेणुलाई जनकपुरको कदम चौकबाट आज पक्राउ गरेको हो।

धनुषा प्रहरीका डिएसपी एवं प्रवक्ता रंजन अवालेले रेणुलाई विशेष सूचनाको आधारमा जनकपुरधामको कदम चौकको एक घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको बताए। उनले पक्राउ परेकी रेणुलाई भोलि अदालतमा पेश गरिने बताए।

आरतीका माइती पक्षले सुरुमा श्रीमान् मोतीबाबु साह र मदन मोहन ब्याहुत सुडी विरुद्ध जिल्ला अदालत धनुषामा जाहेरी दिएका थिए। पछि मुद्दा सर्वोच्च अदालतमा पुगेपछि आरतीका श्रीमान् मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि ससुरा मोहनलाई तारिखमा छाड्ने फैसला सुनाएको थियो।

पछि आरतीका माइती पक्षले आरतीका सासू रेणु साह र देवर रवि साह विरुद्ध पनि जाहेरी दिएका थिए। उनको देवर जनकपुरको थापा चौक स्थित आफ्नै घरबाट पक्राउ परेका थिए। आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन्।

आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिए भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएका थिए। माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले मङ्सिर २० मा सुनुवाइ गरेको थियो। सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार उनका श्रीमानलाई पक्राउ गरिएको हो।

आरती र मोतीबाबुबिच २९ असार २०७७ मा विवाह भएको थियो। दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको आरोप छ।

प्रकाशित: ४ चैत्र २०८० १९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App