सुर्खेत – अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर एमनेस्टी इन्टरनेशनल नेपाल समूह सुर्खेतले अमरज्योति नमुना माविमा अध्ययनरत ४७ जना अनाथ बालबालिकाहरुलाई विद्यालय पोसाक वितरण गरेको छ।
एनएमवी बैङ्क र अमेरिकामा बस्दै आएका सुर्खेती चेली जयन्ती थापाको आर्थिक सहयोगमा एमनेस्टीले अनाथ बालबालिकालाई विद्यालय पोसाक उपलब्ध गराएको हो।
एमनेस्टीका संयोजक सीमा चन्दले विद्यालयमा अध्ययनरत मध्ये ४७ जना अनाथ बालबालिकाहरुलाई आगामी शैक्षिकसत्रका लागि आवश्यक पर्ने विद्यालय पोसाक वितरण गरिएको बताइन्। चन्दका अनुसार विद्यालय पोसाक एमएमवी बैङ्कले उपलब्ध गराएको हो भने सिलाई खर्च पूर्व विद्यार्थीसमेत रहेकी अमेरिका निवासी समाजसेवी जयन्ती थापाले उपलब्ध गराएकी छन्। यस्तै केही व्यक्ति र संस्थाले जुत्ता उपलब्ध गराएका छन्।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले पोसाकका कारण विद्यालयसम्म आउन नसक्ने बालबालिकाका लागि यो ठूलो सहयोग भएको बताइन्। ‘केही नभएका र कोही नभएका बालबालिकालाई सहयोग गर्नु हामी सबैको दायित्व पनि हो’ उनले भनिन्, ‘विभिन्न संघ–संस्था र व्यक्तिहरुसँगको सहकार्यमा एमनेस्टीले गरेको सहयोगले अनाथ बालबालिकालाई ठूलो सहयोग पुगेको छ।’
एनएमवी बैङ्क शाखा सुर्खेतका प्रवन्धक मित्र प्याकुरेलले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर २५ हजार रूपैयाँ बराबरको पोसाक उपलब्ध गराइएको बताए। उनले पोसाक नहुँदा विद्यालय जानबाटै बन्चित हुँने अवस्था रहेको थाहा पाएपछि सहयोग गरिएको बताए।
अमेरिका निवासी थापाले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नियमित सहयोग गर्दै आएकी छन्। उनले विद्यार्थीका लागि उपलब्ध गराइएको पोसाक सिलाउनका लागि २३ हजार पाँच सय रूपैयाँ सहयोग गरेकी छन्।
प्रकाशित: २३ फाल्गुन २०७४ ०७:३० बुधबार