१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विमानस्थलमा कर्मचारी–प्रहरी कुटाकुट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी र सुरक्षामा खटिएका प्रहरीबीच शुक्रबार कुटाकुट भएको छ। अन्तर्राष्ट्रिय ‘डिपार्चर’ क्षेत्रमा पुगेका अध्यागमन कर्मचारीलाई ‘स्टेराइल जोन’मा जाँच गर्ने/नगर्ने विषयमा विवाद हुँदा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको हो। यस विषयमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विमानस्थल सुरक्षा कार्यालयले एकअर्कालाई दोषारोपण गरिरहेका छन्।

अध्यागमन कार्यालयका कर्मचारी आफूमाथि प्रहरीले कुटपिट गरेको भन्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर दोषी प्रहरीमाथि कारबाहीको माग राखेका छन्। गृह मन्त्रालयले घटना छानबिनका लागि समिति गठन गरेको छ।

यसरी भयो घटना

अध्यागमन कार्यालयका अनुसार अध्यागमन अधिकृत छायालाल मोक्तान विमानस्थलको ‘अराइभल’ क्षेत्रबाट लुगा परिवर्तन गर्न डिपार्चरतिर गएका थिए। उनीसँगै अन्य तीनजना कर्मचारी पनि गएको अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताए। त्यसक्रममा ‘मेटल डिटेक्टर’ भएको स्थानमा प्रहरीले जाँचका क्रममा अभद्र व्यवहार गरेपछि घटना भएको हमालले बताए।

‘ड्युटी चेन्ज हुँदा सधैं अराइभल क्षेत्रबाट डिपार्चरमा गएर कपडा फेर्नुपर्छ। त्यसैले सधैजसो ओहोरदोहोर भइरहन्छ,’ अध्यागमन प्रमुख हमाल भन्छन्, ‘यसरी ओहोरदोहोर गर्दा प्रहरीले कहिले जाँच गर्छ, कहिले गर्दैन। फेरि अध्यागमनका कर्मचारीलाई जाँच गरे पनि प्रहरीले आफ्नै कर्मचारीलाई भने गर्दैन। उहाँ (मोक्तान) ले त्यही कुरा उठाउँदा प्रहरीले अभद्र व्यवहार गर्‍यो।’

त्यहाँ विवाद भइरहँदा नजिक रहेका थप पाँच जवान पनि आएर अध्यागमन अधिकृत मोक्तानमाथि रगताम्य हुनेगरी कुटपिट गरेको अध्यागमन प्रमुख हमालले दाबी गरे।

त्यसपछि घटनाबारे सत्यतथ्य बुझ्न आफूसहित कर्मचारी सिसिटिभी रेकर्ड शाखामा पुगेको अध्यागमन प्रमुख हमालले बताए। ‘त्यहाँ पुग्दा प्रहरी कर्मचारीहरूले सहयोग गर्नुको साटो उल्टै विवाद झिके। त्यहाँ पनि मोक्तानजीमाथि हातपात भयो। मलाई पनि कहाँबाट हानेको लात्ती लागेको छ,’ उनले भने।

प्रहरीले भने ड्युटीमा रहेको प्रहरीमाथि पहिले अध्यागमन कर्मचारीबाटै हातपात भएको दाबी गरेको छ। ‘त्यो घटना स्टेराइल जोनमा भएको हो। जहाँ प्रहरीले जोकोही भए पनि जाँच गर्छ। अहिले त मेटल डिटेक्टरले बडीसमेत जाँच गर्ने भनिएको छ,’ विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपशमशेर राणाले भने, ‘ड्युटीमा बस्नेले त्यसो गर्न खोज्दा अध्यागमन कर्मचारीबाट मलाई किन जाँच गरिस् भनेर आक्रमण गर्दा प्रतिरक्षा मात्रै गर्न खोजेको देखिन्छ।

’त्यसपछि अध्यागमन प्रमुख हमालसहितको टोली सिसिटिभी जाँच गर्ने भन्दै आएको एसएसपी राणाले बताए। उनले भने, ‘त्यहाँ पनि एकदुईजना नभई १५/२० जनाको हुलमूल ल्याउनुभएछ। शान्तिपूर्वक सिसिटिभी हेर्नुको साटो त्यहाँ पनि होहल्ला, चर्काचर्की गर्दै ड्युटीमाथि खनिन थाल्नुभयो। सिसिटिभी फुटेजमै क्षति हुने अवस्था आएपछि प्रहरीले थोरै बल प्रयोग गरेको हो।’ 

सिसिटिभीमै हेर्दा पनि अध्यागमन कार्यालयका अधिकारीले प्रहरीमाथि पहिला हातपात र दुव्र्यवहार गरेको देखिने एसएसपी राणाले बताए। ‘ड्युटीमा बस्नेलाई जाँच नगर भन्ने हो भने एउटा कुरा, नत्र ड्युटी गर्न खोज्दा हातपात भयो। त्यसैको प्रतिरक्षा गरेको मात्रै देखिन्छ,’ उनले भने।

अध्यागमन कार्यालयका प्रमुख हमाल भने कर्मचारीले प्रहरीमाथि पहिले हातपात गर्ने कुरा सोच्न पनि नसकिने बताउँछन्। उनले भने, ‘वाहियात कुुरा हो, निजामती कर्मचारीले प्रहरीमाथि आक्रमण गर्ने कुरै आउँदैन। सिसिटिभीले नै त्यो कुरा देखाइहाल्छ नि !’

यो घटनालाई सामान्य रूपमा लिन नसकिने उनी बताउँछन्। ‘यो त सरासर प्रहरीको ज्यादती हो, अत्याचार हो। प्रहरीले आफू हाबी हुन र निजामती क्षेत्रलाई कमजोर पार्न भनेर यो आक्रमण गरेको हो,’ हमालले भने।

आफूहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर घटनाबारे जानकारी गराउँदै दोषी प्रहरी कर्मचारीलाई कारबाहीको माग गरेको हमालले बताए। उनले भने, ‘गृहमन्त्रीज्यूलाई भेटेर प्रस्ट कुरा राखेका छौं। उहाँले कारबाही गर्छौं भन्नुभएको छ।’

छानबिन समिति गठन

गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति सार्वजनिक गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको जानकारी दिएका छन्। समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखामा कार्यरत उपसचिव कुलबहादुर जिसी छन्। समितिलाई आवश्यक छानबिन गरी तीन दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

प्रकाशित: १३ माघ २०८० ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App