१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

खप्तड प्रवेशद्वार बगलेगमा चैतदेखी ‘होमस्टे’

डोटी – खप्तडको प्रवेशद्वारको रुपमा रहेको बगलेगमा चैत महिनादेखी ‘होमस्ट’ संचालन गरिने भएको छ। पूर्विचौकी गाउँपालिका–२ र होटल ब्यवसायी संघ डोटीको संयुक्त पहलमा होमस्टे संचालन हुन लागेको हो। 

लामो छलफल र प्रयासपछि बगलेगमा रहेका १० वटा घरहरुमा तत्काल होमस्टे सुरु गर्ने तयारी भैरहेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बहादुर खड्काले बताए। ‘१० वटा घरहरुबाट होमस्टे सेवा सुरु गर्ने तयारी भैरहेको छ,’ खड्काले भने, ‘त्यसका लागि घरहरु छनोट गर्ने काम सम्पन्न भएको छ।’ छनौट भएका प्रत्येक घरमा दुईवटा पाहुना राखिने, शौचालय, खानेपानीको ब्यवस्था लगायतका मापदण्डहरु तोकिएको उनले बताए। यसलगत्तै ब्यवस्थापन तथा तालिमका कार्यक्रमहरु समेत तत्कालै सुुरु गरिने उनले बताए। 

होमस्टे संचालनका लागि स्थानीयहरुले समेत चासो देखाईरहेका छन्। ‘हामी त पहिल्यैदेखी संचालन गर्ने सोचमै थियौं,’ स्थानीय भिम बहादुर ठकुल्लाले भने,‘हामीसँग सोच मात्र थियो । प्राबिधिक ज्ञानसीप थिएन्। अहिले गाउँपालिका, वडा र होटल ब्यवसायी संघले प्राबिधिक ज्ञानसीप दिने बचन दिनुभएको छ। सीप पाए तत्कालै सुरु गर्छौ।’ 

होमस्टे संचालनका लागि स्थानीय युवाहरु पनि उत्साहित छन्। होमस्टेले आम्दानीको ढोका खोल्ने आशा लिइएको स्थानीय युवा भरत साउँदले बताए। ‘हामी उत्साहित छौ। बेरोजगारी समस्याबाट ग्रसित हामी र हाम्रो समुदायलाई यसले कमाउने बाटो दिनेछ भन्ने आशा छ,’ उनले भने। 

होमस्टे संचालन तालिमका लागि पूर्विचौकी गाउँपालिकाले तीन लाख रकम बिनियोजन गरेको छ। पूर्विचौकी गाउँपालिकाकै वडा नम्बर–२ ले पनि होमस्टे संचालनका लागि थप तीन लाख रकम बिनियोजन गरेको छ। वडाध्यक्ष योगेन्द्र बहादुर ठकुल्ला स्वयम् होमस्टे संचालनका लागि लागिपरेका छन्। ‘होमस्टेलाई मैले यहाँको आर्थिक बिकासको पहिलो खुट्किलोको रुपमा लिएको छु,’ ठकुल्लाले भने,‘मैले आफ्नो ध्यान पनि पूर्वरुपमा यतै केन्द्रीत गरेको छु।’ खप्तडको प्रवेशद्वारमा रहेर पनि स्थानीय समुदायले कुनै किसिमको फाइदा लिन नसकी रहेको युग अब धेरै दिन नरहने उनले दाबी गरे। ‘हामीले हिराको रुपमा रहेको खप्तड भजाउन सकेनौ। बरु हाम्रा दाजुभाई भारतमा कुल्ली÷चौकीदारी गर्दैछन्,’ उनले भने,‘अब खप्तड पनि भजिन्छ। खप्तडको कमाईका हिस्सेदार हामी पनि बन्नुपर्छ । यसमा स्थानीय तहबाट खेल्नुपर्ने भूमिकाका लागि हामी तयार छौ।’ खप्तडको प्रबेशद्वार बगलेग र झिंग्रानामा ब्यबसाय गर्न चाहनेका लागि लगानीमैत्री बाताबरण दिन स्थानीय स्तरबाट आफु तयार रहेको उनले बताए।

खप्तडको पर्यटन बिकासका लागि बगलेगमा होमस्टे संचालन अपरिहार्य रहेको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए। उनले भने,‘खप्तड जाँदा बाटोमा पर्यटकका लागि बाटोमा खानबस्नकै राम्रो ब्यवस्था नहुँदा समस्था थियो। त्यहाँ होमस्टे संचालन गर्दा त्यो समस्या हट्नेछ।’

प्रकाशित: १९ फाल्गुन २०७४ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App