केहीवर्ष अघिसम्म कोही नब आगन्तुक आयो भने मुस्लिम बस्तीका महिला लाजले मुन्टो बटारथे। उनीहरु सन्तान धेरै जन्माउने गर्थे। यसरी सन्तान जन्माउँदा उनीहरु प्रायः अस्पताल कमै मात्रामा जाने गर्थे। तर, अहिले मुस्लिम महिला वद्लिएका छन्।
सुनसरी कोशी गाउँपालिका वडा नं. ५ को आधारभूत स्वास्थ्य केन्द्र कुम्याहीको ‘बर्थिङ सेन्टर’ सञ्चालन भएसँगै मुस्लिम महिलाहरु बच्चा जन्माउन जाने गरेका हुन्। गाउँपालिकाले यसै वर्षको वैशाख महिनादेखि स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो।
मुस्लिम बाहुल्यता रहेको बर्थिङ् सेन्टरमा मुस्लिम महिला नै बढी मात्रमा आउने गरेका छन्। ‘शुरुमाबर्थिङ् सेन्टर खुल्दा पनि मुस्लिम महिला आउन लजाउने गर्थे, उनीहरुलाई वस्तीमै गएर सचेतना पैmलाएपछि अहिले भने बिना हिचकिचावट वच्चा जन्माउन आउने गरेका छन,’ आधारभूत स्वास्थ्य केन्द्र कुम्याहीका प्रमुख सविल आलमले भने।
मुस्लिम वस्तीको परिवार नियोजन गर्ने र परिवार नियोजनको साधन प्रयोग गर्ने क्रम पनि बढेको छ। केहीबर्ष अघिसम्म त मुस्लिम वस्तीमा परिवार नियोजन गर्नुलाई (गुनाहा) पाप लाग्छ भन्ने सोच थियो। तर, अहिले वद्लिएको छ। साथै, परिवार नियोजनको साधनप्रयोग गर्ने क्रमपनि बढ्दो छ।
बर्थिङ् सेन्टरमा आउनेमध्ये ४५ प्रतिशत मुस्लिम, १५ प्रतिशत मुसहर र बाँकी अन्य समुदायका आउने गरेको तथ्याङ्मा उल्लेख छ। बर्थिङ् सेन्टरमा अन्य समुदायमा यादव, साह, मेहता, मण्डल लगायतका आउने गरेका छन। यद्यपी, पण्डित समूदायका महिला भने बर्थिङ सेन्टरमा न्यून आउने गरेका छन्। विश्वास कम भएकाले गर्दा पनि न्यून आएको अनुमान गरिएको छ।
अहिले आधारभूत स्वास्थ्य केन्द्र कुम्याहीबाट गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भ जाँच र २४ सै घन्टा प्रसूति सेवाप्रदानगर्ने गर्ने गरिएको छ। गाउँमै प्रसूति सेवा सुरु भएपछि पछिल्लो आठ महिनाको अवधिमा ५९ जना गर्भवतीले बच्चा जन्माइसकेका छन्। यसरी वच्चा जन्माउने मध्ये ६ जना महिला २० वर्षभन्दा मुनीका रहेका छन्। यस आधारमा यस क्षेत्रका महिलालाई पनि कलिलै उमेरमा विवाह गरि दिने चलन अझै पूर्ण रुपमा हटि नसकेको प्रस्ट हुन्छ।
स्वास्थ्य केन्द्रमा प्रसूति गराउनेलाई यातायात खर्च बापत दुई हजार रुपैयाँ, नियमित प्रसूति जाँच प्रोत्साहन स्वरूप आठ सय रुपैयाँसहित आमालाई एक सेट र बच्चालाई दुई सेट कपडा पनि उपलब्ध गराउने गरिएको छ।
यसैबीच, भोक्राहा नरसिंह वडा नं. २ मा बर्थिङ सेन्टर सुरु भएको १३ वर्ष वित्यो। यो बर्थिङ सेन्टरमा पनि मुस्लिम महिलाको उल्लेखीय उपस्थिती रहने गरेको छ।
बर्थिङ सेन्टरमा सबै पूर्वाधार पूरा भएपनि जनशक्ति अभाव छ। यद्यपी, सेवा प्रवाह गर्नमा भने त्यही न्यून जनशक्तिले धानेको छ। त्यहाँ काम गर्नेले आफ्नो र व्यक्तिगत कामलाई कहिल्यै चाँसो नराखिकन सेवाग्राहीकै सेवामा अहोरात्र खटिने गरेका छन्।
सुरक्षित सुत्केरी सेवाका लागि बर्थिङ सेन्टरमा तीनजना अनमी गीताकुमारी मेहता, कल्पना मेहता र सुजाता महेता छन्। यी अनमीले २४ सै घण्टा आलोपालो डियूटी खटिने गरेका छन्। सुत्केरी सेवाका लागि महिलाहरुको चाप पनि निकै हुने गरेको छ। ‘बर्थिङ सेन्टरमा हामी तीनजना आलोपालो गरेर डियूटी खटिने गरेका छौ,’ अनमी गीताकुमारी मेहताले भनिन, ‘कुनै जटिल खालका बिरामीलाई रिफर गर्ने गरेका छौ।’ अनमी मेहताका अनुसार बर्थिङ् सेन्टरमा काम गर्नेले कुनै समस्या परे भोक्राहा नरसिंहका हेल्थ असिस्टेन्ट रमेशकुमार साहसँग बेला बेलामा सल्लाह लिने गर्छन्। यस बर्थिङ सेन्टरमा विशेषगरी भोक्राहा नरसिंह वडा नं. २ सँगै वडा १, ४, ३ र ८ का सुत्केरीलाई वच्चा जन्माउन ल्याउने गरिएको छ।
बर्थिङ सेन्टरमा कार्यरत अर्की अनमी कल्पना मेहताका अनुसार बर्थिङ् सेन्टरमा ल्याएर तत्काल अन्यत्र रिफर गरिएका दुई जना सुत्केरीका शिशुको निधनभएपनि अरु कुनै घटना छैन्। घटनाक्रम अनुसार मंसिरमा भोक्राहा नरसिंहकै रेखाशर्मा पुरै दुखेर सिकिस्त भएर बर्थिङ् सेन्टरमा आएकी थिइन्। तत्काल त्यहाँबाट विराटनगर लान सुल्झाएपनि नलगेपछि शिशुको निधन भएको थियो। यस्तै, असोजमा पनि कोशी अञ्चल अस्पताल विराटनगर लान रिफर गरिएको सीता सदाको शिशुको पनि निर्धन भएको थियो।
प्रकाशित: ७ माघ २०८० १२:५५ आइतबार