१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

रोगले थलिएर स्वदेश फर्कनेहरू भन्छन्...

‘छोरी वर्ष दिन पनि पुगेकी छैन, बिहे भाकोे दुई वर्ष हुँदै छ। परिवारकै लागि विदेश गएको थिएँ’, रोग लागेर स्वदेश फर्किएका एक युवाले भने, ‘म घरको एक्लो छोरा हुँ। बुढी आमालाई मेरै चिन्ताले चितामा पुर्‍याउला भन्ने ठुलो डर छ। हरेस् नखाएकी श्रीमती नआत्तिनु म छु नि भन्छिन्, तर डाक्टर साब हार मानिसके।’

स्वदेशमा रोजगार नभएपछि मलेसिया पुगेको पाँच महिना नपुग्दै देश फर्किएका संखुवासभाका २५ वर्षीय योगेन्द्र रोका हुन्। सानै उमेरमा रोगसँग लडिरहेका उनी अहिले शिक्षण अस्पतालको शय्यामा लडिरहेका छन्। उनलाई बोनम्यारो सुक्ने रोग लागेको छ।

गत वर्षको फागुनमा उनी १४ दिनकी छोरी छाडेर विदेश गएका थिए। उनी १८ वर्षकै उमेरमा दुई वर्ष कतार र २९ महिना साउदी अरेबिया बसेर स्वदेश फिर्ता भएका थिए। कमाउन बिदेसिएका रोका राम्रो आम्दानी नभएकै कारण कतार र साउदी अरेबियामा धेरै समय बस्न सकेका थिएनन्। परिवारमा चार दिदीबहिनीमध्ये उनी कान्छा भाइ हुन्। रोका परिवारमा सबै छोरीको घरबार भइसकेको थियो। परिवारको आर्थिक भार थेग्ने भनेकै उनी मात्रै थिए।

‘बुवा तारन्तार बिरामीकै कारण १८ वर्ष नलाग्दै विदेश जान बाध्य भए। सबै दिदीको बिहे भइसकेको थियो’, अस्पताल शय्यामा रहेका रोकाले भने, ‘कतार गएको केही समयमै बुबाको मृत्यु भयो। परिवार सबै शोकमा थिए। कमाई मेरो राम्रो थिएन। कतारबाट ल्याएको पैसा कजकिरियामै सकियो।’

नेपालमा केही काम नपाएपछि पुनः साउदी अरेबिया फर्किएका रोका भन्छन्, ‘घरमा आमा एक्लै भएकाले बिहे गरेको थिएँ। छोरी र श्रीमतीसँगै बस्ने राम्रो अवसर मिलेको पनि थिएन। मेलेसिया आएको केही महिनामै ठुलो रोग लाग्यो। शरीरमा रगत जम्न र दाग देखिन थाल्यो।’

परिवारको आर्थिक भार सम्हाल्न मलेसिया पुगेका उनले उपचारका दौरान पनि काम गर्न छाडेनन्। शरीरमा रगतको मात्रा कम भएपछि अस्पताल जाँदै रगत हाल्दै काम गरेको उनले बताए।

‘मलेसियामा जाली बनाउने काम थियो। राम्रो कम्पनी परेको थियो। काममा धेरै खट्नुपर्ने थिएन। कतार र साउदी अरेबियाभन्दा मलेसियामा राम्रो आम्दानी थियो’, उनले भने, ‘परिवारमा छोरी जन्मिएकोमा छुट्टै खुसी थियो। त्यो खुसी धेरै दिन रहेन। मलेसिया गएपछि राम्रो कमाइ भए पनि शरीरमा ठुलो रोग लाग्यो।’

गत भदौ २७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै अस्पतालमा भर्ना भएको उनले जानकारी गराए। ‘मलेसियाबाट नेपाल फर्किएपछि ६९ दिन अस्पतालनै बसें। डाक्टरले ४÷५ लाखको औषधी खाए हुन्छ भन्नुभएको थियो। तर ८-९ लाखको औषधी खाइसक्दा पनि निको हुन सकिनँ। फेरि १७ लाखको उपचार चलाउनुपर्छ भनेका छन्। त्यो पनि भएन भने बोनम्यारो नै परिवर्तन गर्नुपर्छ रे? त्यसका लागि अस्पतालले ३० लाख चाहिन्छ भनेको छ। कहाँबाट ल्याउनु त्यतिका पैसा ? ८-९ लाख सकिँदा जोगी भइसकियो’, शिक्षण अस्पतालको शय्यामा मृत्युसँग लडिरहेका रोकाले भने।  

अस्पतालमा आफूलाई लागेको रोगभन्दा पनि बढी चिन्ता परिवारको लागेको उनी बताउँछन्। वैदेशिक रोजगार बोर्डबाट अंगभंग तथा बिरामीका नाममा रोकाले सात लाख रुपैयाँ आर्थिक सहायता पाएका थिए। त्यो पैसा उनका लागि एक रात झैं भयो।

रोकाले लामो सास फेर्दै भने, ‘सानै उमेरमा कस्तो डरलाग्दो रोग लाग्यो ? घरमा कमाइधमाइ गर्ने आफू मात्र हो। मेरो ताल यस्तो छ। म निको हुने आशाले आमाले ऋणको चुली पार्नु भइसक्यो। बोर्डबाट आएको पैसा कता गयो पत्तै भएन। सरकारी अस्पताल भनेर पनि के गर्नु विभिन्न चेकजाँच भनेर पैसाको खोलो लागेको छ।’

साथीभाइ र गाउँघरमा सहयोग माग्दै करिब ६० हजार संकलन भएको उनले बताए। ‘पराइघरमा गएकी चेलीबेटीबाट पनि धेरै साथसहयोग पाएको छु। उनीहरू पनि आर्थिक अवस्थामा कमजोर नै छन्’, उनले भने, ‘पैसा भए उपचार छ। पैसा छैन भने मर्नुको विकल्प छैन। एकदुई लाख मात्रै हो र ? गाउँघरको सम्पत्ति बेचेमा दुईतीन लाखबाहेक अरु आउँदैन। परिवारको बासै के उठाउनु ? पैसा जुटाउने कुनै माध्यम नै छैन।’

गरिबका घरमा पहुना त आउँदैनन्। बीसौँ–तीसौँ लाख कसले सहयोग गर्छ र? हप्ता दिनमा ‘एक प्याकेट’ रगतको पोका हाल्नुपरेको उनी बताउँछन्। ‘ज्वरो आएपछि रगतको मात्रा ह्वात्तै घट्छ। यो रोग नै यस्तै रहेछ। यस्तो रोग शत्रुलाई पनि नलागोस्’, उनले सुनाए।

रोकाजस्तै वैदेशिक रोजगारीमा दुई वर्षपहिले कुबेत पुगेका मोरङका नाम बताउन नचाहने एक पुरुष थिए। उनी पनि कुबेत पुगेको ६ महिनामै ठुलो रोग लागेर स्वदेश फर्किए। ती ३६ वर्षीय पुरुषको दुवै मिर्गौला फेलका कारण स्वदेश फर्किएका हुन्।

उनी अविवाहित हुन्। उनको जीवनमा आफ्नो भन्ने आमाबाबुबाहेक कोही छैनन्। उनी मिर्गौला फेल भएर स्वदेश फर्किएलगत्तै काठमाडौंमा बहिनीज्वाइँको डेरामा बस्दै आएका छन्। उनको हेरचाह आमा र बहिनीले गरेका छन् भने अस्पतालको काममा ज्वाइँ खट्ने गरेको उनले बताए।

उनले विदेश जानुअघि स्वदेशमै लामो दूरीको बस चलाउने गरेका थिए। स्वदेशमा आम्दानी राम्रो भए पनि पैसा बचत नहुँदा बिदेसिनुपरेको तिनले बताए। ‘विदेश र स्वदेशमा उस्तै–उस्तै कमाइ थियो। नेपालमा हुँदा पैसा जोहो गर्नै नसकिने। विदेशमा त्यो पैसा बच्थ्यो’, उनले भने, ‘कहिल्यै औषधी नखाएको मान्छे एकैचोटि कुबेत पुगेको पाँच महिनापछि बिरामी पर्न थाले। पिसाब लागिरहने, खाना नरुच्ने, थकाइ मात्रै लाग्ने र धेरै गाह्रो भएपछि प्राइभेटमै उपचार गराउँदा त्यहाँको डाक्टर साबले दुवै मिर्गौलामा इन्फेक्सन छ भने। धेरै गाह्रो हुँदै गएपछि मिर्गौला फेल भएको थाहा पाउँदा आफैं होसमा रहिन।’

उनले भने, ‘कति दिन त्यहाँ बस्नु आफ्नो पैसाले उपचार गर्न पुग्दैनथ्यो। केही समय साथीभाइले सहयोग गरेका थिए। समयमै उपचार नहुँदा रोगले गलाइसकेको थियो। कि उपचार गर्दे कि त स्वदेश फर्काइ दे भनेर काम गर्ने कम्पनीसँग कराएँ पनि। कम्पनीले महिना लगाएर स्वदेश फर्कायो। तर मभित्रको रोगले मलाई लडाइसकेको थियो।’

ती पुरुषका पिता पनि मधुमेह र रक्तचापका बिरामी हुन्। परिवारका लागि विदेश गएका उनी आज ठाडै लडेका छन्। उनको परिवारमा ठुलो बज्रपात परेको छ। उनी २०६५ सालबाटै ड्राइभिङ गर्दै आएका थिए। उनले कुबेतमा पनि गाडी नै चलाउने गरेका बताए। एक्लैले परिवार धान्दै आएका उनलाई अहिले पूरै परिवारको साथ हुँदा पनि निको नहुने रोग लागेको छ।

अब केही दिनमै बिरामी पुरुषलाई उनकी आमाले एक मिर्गाैला दिने भएको उनले खुलाए। ‘दुवै मिर्गौला फेलका कारण डाक्टर साबले परिवारको एक सदस्यबाट मिर्गौला फेर्न मिल्छ भनेका छन्। फेरेको मिर्गौलामा मानिसको आयु १ वर्ष हुन्छ रे? आमाको मिर्गौला मेरो शरीरमा आउँछ। सानो छँदा त कति दुःख दिए होला? आमालाई ठुलो भएपछि पनि दुःख दिन छाडेको छैन। धेरै दुःख लाग्छ। के गर्नु अरू उपाए छैन’, ती पुरुषले भने।

उनले सिनामंगलस्थीत केएमसी अस्पतालमा उपचारसँगै हप्ताको दुई दिन आइतबार र बुधबार डायलासिस गर्दै आएका छन्। उपचारकै क्रममा ६-७ लाख खर्च भएको ती पुरुषले जानकारी गराए। रोकाजस्तै उनलाई पनि वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताका लागि सात लाख प्रदान गरेको छ।

आर्थिक अवस्थाकै कारण बिदेसिएका उनीहरू मात्रै नभएर अरू थुप्रै युवाले वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएर स्वदेश फर्किनुपरेको छ। खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीमा मिर्गौला रोगको खतरा बढी हुने गरेको वैदेशिक रोजगार बोर्डका अधिकारीहरूले जानकारी दिए।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार गर्मी ठाउँ, भवनबाहिर काम गर्ने र धुलोको सामना गर्नुपर्नेहरूमा पनि मिर्गौला रोगको जोखिम बढी देखिएको छ।

रोजीरोटीका लागि रोजगारी खोजी गर्दै बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्छन्। यसरी बिदेसिएका नेपालीमध्ये कडा खालको रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ।

मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी घाइते हुने गरेका छन्। कतिपयले ज्यानै गुमाएका छन्। विशेषगरी खाडी मुलुकमा गएका नेपालीले बढी सास्ती पाएका छन्।

वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी हुने गरेको उप्रेतीले बताए।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग भई स्वदेश फर्किएर बोर्डबाट आर्थिक सहायता पाएका संख्या मात्रै दुई सय २१ जना रहेको छ। 

वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएका व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्न श्रम स्वीकृत गरेको हुनुपर्ने, श्रम स्वीकृतिको नविकरण गरेसँगै बिरामी र मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने बोर्डको कानुनी प्रक्रिया रहेको छ। उक्त तथ्यांक बोर्डबाट आर्थिक सहायता पाएकाहरूको मात्र हो।

प्रकाशित: १ माघ २०८० ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App