७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हलेसी मन्दिरमा श्रृंखलाबद्ध भेटी चोरी, सुरक्षाको चिन्ता

खोटाङको महादेबस्थानमा रहेको त्रि–धार्मिकस्थल हलेसी। तस्बिर : दमन राई

खोटाङ – पटक–पटक ताला तोडेर मन्दिरको भेटी चोरी हुन थालेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित त्रि–धार्मिकस्थल हलेसीको सुरक्षा चिन्ता बढेको छ। तीन महिनाकै अन्तरमा हलेसी महादेब मन्दिरको भेटी चोरी भएपछि मन्दिरको सुरक्षा चिन्ता बढाएको हो। गत भदौमा मन्दिरभित्रको भेटीघ चोरी भएको हलेसीमा पुन: पुस २९ गते राती पनि भेटी चोरी भएको छ। भदौमा भएको चोरीमा संलग्नको पहिचान भए पनि पछिल्लो चोरीमा संलग्नको हालसम्म पहिचान हुन सकेको छैन।

जिल्लाको प्रमुख आर्थिक श्रोतकोरुपमा रहेको हलेसीको पटक–पटक भेटी चोरी हुनुले मन्दिरको सुरक्षा अवस्था संबेदनशिल बन्दै गएको स्थानीयको भनाई छ। फलामे बारले घेरिएको महादेबको शिवलिंग र गणेषको मुर्तीसँगै राखिएको ‘तीन ताल्चे’ बाकस फोडेर भेटी चोरी हुनुले समग्र मन्दिर नै असुरीक्षत रहेको देखिएको महादेबस्थानका वडासदस्य डिल्ली चामलीङले बताए। सुरक्षा व्यवस्थापनमा ध्यान नपुग्दा हिन्दु, किँरात र बौद्धमार्गीको आस्थाको केन्द्रकारुपमा रहेको धार्मिक तथा पर्यटकीयस्थल हलेसीको भेटी मात्र नभएर मन्दिरभित्रका मूर्ती तथा संरचना समेत असुरक्षित देखिएको छ। ‘तीन–तीन वटा ताला हालिएको बाकसको पैसा चोर्नेले महादेब, गणेषको मूर्ती तोडफोड नगर्लान् भन्न सकिन्न,’ वडासदस्य राईले भने, ‘सबैको आस्थाको केन्द्रकारुपमा रहेको हलेसी पूर्णरुपमा असुरक्षित रहेको श्रृंखलावद्ध चोरीका घटनाले देखाइसकेको छ।’

 भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किँराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किँरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको लगायतका आधारमा त्रि–धार्मिकस्थल मानिएको हलेसीमा स्वदेश तथा बिदेशबाट हिन्दु, किँरात र बौद्ध धर्मावलम्बीको बाक्लो भीड लाग्ने गरेको छ।

बिक्रम संवत् १८६१ सालदेखि २०६० सालसम्म गिरी महन्तले एकलौटी आम्दानीको श्रोत बनाएको हलेसी मन्दिरको भेटी संकलनका लागि हाल प्रबेशद्धारमा एउटा र गुफाभित्र शिबलिंग रहेको ठाउँमा अर्को दान बाकस राखिएको छ। द्धन्द्धकालमा तत्कालिन नेकपा माओवादीको अगुवाईमा २०६१ साल मंसिरमा बालाचतुर्दसी मेलाकोबेला पूजारी फेर्ने र व्यवस्थापन समिति बनाउने काम भएपछि हलेसीको आम्दानीको हिसावकिताव राख्न थालिएको हो। त्यसपछि बनेका हलेसी महादेब विकास समिति र मन्दिर व्यवस्थापन समितिले मन्दिरको आम्दानीलाई चुस्तदुरुस्त बनाउन २०६८ सालदेखि हलेसीमा एउटै दान बाकसमा ईलाका प्रहरी कार्यालय, हलेसी महादेबस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिको छुट्टा–छुट्टै ‘तीन ताला चाबी’ हाल्ने व्यवस्था सुरु गरिएको हो। तर, तीन वटै चाबी लगाइएका दान बाकस फोडेर पटक–पटक चोरी हुन थालेपछि हलेसी मन्दिरमा चौबिस घण्टे सुरक्षा व्यवस्था आवश्यक देखिएको राईले बताए।

प्रहरीका अनुसार पुस २९ गते हलेसी मन्दिरको भेटी बाहेक स्थानीय व्यवसायी पदम राईको पसलबाट नगद १५ हजार र १८ हजार बराबरको रिचार्ज कार्ड, चन्देश्वर यादवको नगद ५ हजार, हामस राईको ३० हजार बराबरको ३ थान मोबाईलसेट र कृष्ण कार्कीको नगद ४ हजार चोरी भएको थियो। पैसाको मात्रा यकिन नभए पनि मन्दीरमा तीन दिनका अवधिमा दर्शनार्थीले बाकसमा खसालेका भेटीघाटी चोरी भएको हो। बाकसका ५/१० रुपैयाँका नोटलाई छाडेर ठूला नोट मात्र चोरी गरेको पाइएको हलेसी महादेबस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए। 

मन्दिरको प्रवेशद्धार र मन्दिरभित्र राखिएका दान बाकसमा जम्मा भएको रकम र अन्य ठाउँमा चढाइएका भेटी प्रत्येक महिनाको अन्तिम दिन ईलाका प्रहरीचौकी हलेसी, हलेसी महादेबस्थान विकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति र स्थानीयको रोहबरमा ताला खोकेर गणना गर्ने गरिएको छ। ईलाका प्रहरी कार्यालय नजिकै रहेको हलेसी मन्दिरमा फितलो सुरक्षा व्यवस्थापनका कारण पर्यटक एवं दर्शनार्थीमा समेत नकरात्मक सन्देश गएको स्थानीय बताउँछन्। हलेसी मन्दिको भेटी चोरी भएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले ईलाका प्रहरीचौकी हलेसी, हलेसी महादेबस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिलाई पुस ३० गते स्पष्टीकरणका लागि पत्र पठाइसकेका छन्।

धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेब गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरब गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफा लगायतका प्राकृतिक आकृतिको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन्। मारातिका गुम्बा रहेको हलेसीमा हरेक हिउँद बिश्वभरका बौद्धमार्गीहरुले ४/५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन्।

 

 

प्रकाशित: ६ माघ २०७४ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App