१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्रीसँग गोप्य सम्झौता भएको आरोप गलतः प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका अधिकारीबारे अतिरञ्जित तवरबाट प्रचारबाजी भएको दाबी गरेका छन्।

नेतृत्वकर्ता अधिकृत लागि अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले रिक्त रथी पदमा पदोन्नति प्रक्रिया सुरु भएदेखि उम्मेदवारको उमेर, शैक्षिक योग्यताका विषयमा अतिरञ्जित प्रचारबाजी गरिएको बताएका हुन।  

प्रधानसेनापति शर्माले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजात आवश्यकताअनुसार सम्बद्ध निकायबाट यकीन गरेर मात्र जंगी अड्डाले कारवाही अघि बढाउने बताए। ‘विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केहि पदाधिकारीहरूको कागजात शंकास्पद देखिखदाँ कारवाही गर्न सिफारिस गरेको उदाहरण पनि छन्,’ प्रधानसेनापति शर्माले भने।

जंगी अड्डाले केही समयअघि रथी सरोजप्रताप राणा अवकास गएपछि रिक्त दरबन्दीमा वरिष्ठतम् रथी ताराध्वज पाण्डेलाई बढुवा सिफारिस गरेको थियो। तर उनको उमेर विवाद सतहमा आएपछि राजीनामा दिएर बाहिरिएका थिए।त्यसपछि दोस्रो वरियताका उपरथी अशोक सिग्देल बढुवा सिफारिस भएका छन्। उनको विषयमा पनि विवाद आइरहेको छ।

यसै कुरालाई लक्षित गर्दै प्रधानसेनापति शर्माले असन्तुष्टि पोखेका हुन। उनले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने बताए। उनले भने, ‘स्वस्थ प्रतिष्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भएतापनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाइ आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना राख्नुहुन्न।’

सेनामा सरुवाबढुवा, वृत्तिविकास सम्बन्धी कार्यको गुनासो वा उजुरी गर्ने वैधानिक निकाय दाबी गर्दै यसबारे जानकारी हुँदाहुँदै संस्था बाहिरबाट अमर्यादित क्रियाकलापको प्रयास हुनु दुखद रहेको बताए।  

यस्तै व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू कठोर रुपमा प्रतिवद्ध रहेको प्रधानसेनापति शर्माले बताए। ‘नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवद्ध छ,’ उनले भने, ‘असंख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुरासयले प्रेरित भइ त्यस किसिमको कार्य गर्नेहरुको दुस्प्रयासले नेपाली सेना कमजोर हुँदैन।’

यस्तै पूर्व माओवादी लडाकू यम अधिकारीको प्रशंगमा भइरहेको चर्चाका विषयमा पनि प्रधान सेनापति शर्माले आफ्नो प्रस्टोक्ति दिएका छन्। जसमा उनले आफ्नो र प्रधानमन्त्रीको बिचमा गोप्य सम्झौता भएको भन्ने विषय पूर्णतः गलत भएको दाबी गरे।

‘विशेष परिस्थितिमा भर्ना भइ विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधान सेनापति बनाउन भूमिका तयार गरेको भन्ने आरोप आइरहेका छन्,’ प्रधानसेनापति शर्माले भने,‘कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिए बापत राजदूतको नियुक्तिमा जान लागेकोजस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुस्प्रचार भइरहेका छन्। यी पूर्णतः गलत कुराहरू हुन्।

प्रकाशित: १९ मंसिर २०८० १५:४४ मंगलबार

नेपाली सेना प्रधानसेनापति प्रभुराम शर्मा शैक्षिक प्रमाणपत्र