२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तालवाराही पुनर्निर्माण पुरानै स्वरूपमा गरिने

फेवातालबिचमा रहेको तालवाराही मन्दिर। यो मन्दिर पुनर्निर्माण गर्ने तयारी छ। फाइल तस्बिरः नागरिक

फेवातालबिचमा रहेको तालवाराही मन्दिरको स्वरूप परिवर्तन गर्न पुरातत्व विभागले रोक लगाएको छ। तालवाराही मन्दिर गुठीले मन्दिरको स्वरूप परिवर्तन गर्दै पुर्ननिर्माण थालेको थियो। तर, विभागले पुरानै स्वरूपमा मात्र मन्दिर पुनर्निर्माण गर्न पाइने भन्दै स्वरूप बदल्न रोक लगाएको हो। विभागले स्वरूप परिवर्तन गर्न रोक लगाएपछि पुनर्निर्माणको काम पनि रोकिएको छ।

गुठीले कात्तिक दोस्रो सातादेखि मन्दिर पुनर्निर्माणको शिलान्यास गराएको थियो। भूकम्पका कारण मन्दिर तीन इन्च दक्षिण ढल्किँदा जोखिम बढेकाले पुनर्निर्माण थालिएको थियो। मन्दिर शिलान्यास गर्नुअघि गुठीले विभागमा बुझाएको विवरणभन्दा फरक स्वरूपमा पुनर्निर्माण थालिएको भन्दै रोक लगाएको विभागले बताएको छ।

विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग अनुसार गुठीले मन्दिर पुनर्निर्माण थाल्नुअघि विभागमा पुरानै स्वरूप पेश गरेको थियो। तर, शिलान्यास गर्ने बेलामा भने पहिलेका भन्दा फरक स्वरूपमा मन्दिर पुनर्निर्माण गर्ने जानकारी गराएको थियो।

‘गुठीले पुनर्निर्माणको सहमति लिने बेलामा पुरानै स्वरूप पेस गर्‍यो र विभागले त्यहीअनुसार सहमति दियो। तर, शिलान्यासमा जाँदा भने विभागका प्राविधिकले फरक स्वरूपमा मन्दिर पुनर्निर्माण हुन थालेको थाहा पाए,’ उनले भनिन्, ‘स्वीकृत भएको भन्दा फरक स्वरूपमा मन्दिर पुनर्निर्माण हुने थाहा पाएपछि प्राविधिकले उति नै बेला विरोध गरेका थिए। प्राविधिकको सल्लाहबमोजिम नै विभागले पुनर्निर्माणमा रोक लगाएको हो।’

गुठीले सुरुमा पुरानै स्वरूपमा मन्दिर पुनर्निर्माण गर्ने भनेपछि विभाग सहमत भए पनि पछि स्वरूप फेरेकाले काम रोक्न भनेको उनले बताइन्।

‘शिलान्यास भएपछि काम अघि बढेको छैन। केही दिन अघि मात्र प्राविधिकहरूले फेरि गएर स्वरूप हेरेर आएका छन्। पुरानै स्वरूपमा बनाउने भन्ने सहमति भएको छ,’ उनले भनिन्, ‘विभिन्न विशेषता र ऐतिहासिकता मेटिने भएकाले मन्दिरको स्वरूप फेर्न मिल्दैन।’

विशेष परिस्थितिबिना मन्दिरको स्वरूप फेर्न नपाइने उनले बताइन्।

महानिर्देशक प्रधानांगका अनुसार मन्दिरको पुरानो स्वरूपमा पूर्वपट्टि एउटा मात्र ढोका रहेकोमा स्वरूप फेरेर गुठीले चारैतिर ढोका राख्ने तयारी थालेको थियो। त्यस्तै पुरानोभन्दा ठुलो आकारमा मन्दिर बनाउने तयारी पनि गुठीको थियो। ‘ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा जथाभावी परिवर्तन गर्न मिल्दैन,’ उनले भनिन्।

गुठीका अध्यक्ष हिक्मतबहादुर कुँवरले भने मन्दिरको केही स्वरूप फेर्न चाहे पनि विभागले रोकेको बताए।

उनका अनुसार मन्दिरको पूर्वपट्टि एउटा मात्र ढोका रहेको र भक्तजनको भिड हुँदा पूजा गर्न समस्या पर्ने भएकाले दक्षिणतर्फ अर्काे ढोका राख्न खोजेको भए पनि विभागले स्वरूप फेर्न नदिएपछि पुरानै स्वरूपमा काम अघि बढ्नेछ।

‘भक्तजनको भिडभाडको बेला एउटा पूर्वी ढोकाबाट पसेर दक्षिण ढोकाबाट बाहिर निस्कन मिल्ने बनाउन खोजेका हौं तर विभागले त्यसो गर्न नपाइने भनेपछि रोकिएको हो। अब काम सुरु हुन्छ,’ कुँवरले भने, ‘धेरै नै स्वरूप फेर्ने भनेको होइन। मात्र एउटा ढोका थप्ने भनेका हौं।’  

विभागका प्राविधिकहरू आएर निरीक्षण गरिसकेकाले अब काम अघि बढाउने तयारी भएको उनले बताए। ‘कात्तिक दोस्रो साता शिलान्यास भए पनि पानीको सतह माथि नै भएकाले कामले गति नलिएको हो,’ उनले भने, ‘तर, अब काम अघि बढाउने तयारी छ।’

झन्डै तीन वर्षअघि नै मन्दिर दक्षिण ढल्केको देखिएको थियो। पछि त्यसलाई गुठी र पुरातत्त्वका प्राविधिक झिकाएर अध्ययन गराउँदा तीन इन्च ढल्केको पुष्टि भएको थियो। अध्यक्ष कुँवरका अनुसार २०७२ सालको भूकम्पले मन्दिरको अधिकांश भाग चर्किएको थियो।

 भूकम्पका कारण मन्दिरको दक्षिणतर्फ रहेको आँपको रुख पनि ढल्किएको थियो। रुख ढल्किँदा त्यसको जरा उखेलिएका कारण पछि त्यो रुख सुकेको थियो। रुख सुकेपछि त्यसलाई निकालिएको अध्यक्ष कुँवरले बताए।

मन्दिर ढल्किए पनि दैनिक पूजाआजा भने चलिरहेको थियो। मन्दिरले जोखिम थपेको भन्दै पुनर्निर्माण गर्नका लागि गत चैतमा पूरै भत्काइएको थियो। मन्दिर निर्माणका लागि एक करोड ४४ लाख रूपैयाँको लागत अनुमान गरिएको समितिका अध्यक्ष कुँवरले बताए।

मन्दिर निर्माण पूरा गर्न दुई वर्षको समय लाग्ने उनको भनाइ थियो। चार रोपनी क्षेत्रफलमा अन्डरग्राउन्डसहित मुख्य मन्दिर, गणेश मन्दिर, हवन कुण्ड बनाउने गुठीको योजना थियो। अन्डरग्राउन्डमा फूल पसल राख्ने पनि योजना थियो।

भुइँ तलासहित तीन तले मन्दिरको दोस्रो तलामा मात्रै २० वटा टुँडाल थिए। ती मध्ये केही काम लाग्ने छन् भने केही जीर्ण बनिसकेका छन्। तालवाराही मन्दिर तत्कालीन राजा महेन्द्रले २०१७ सालमा निर्माण गराएका थिए। तत्कालीन समयमा खरको झुपडी बनाएर सुरु गरिएको सो मन्दिर पछि एक लाख २० हजार खर्च गरेर पुनर्निर्माण गरी कलात्मक काठ, टुँडाल र माटाको प्रयोग गरेर बनाइएको थियो।

सिमेन्टका जस्तै काम गर्ने माटाको प्रयोग गरिएकाले मन्दिर बलियो थियो। त्यसैकारण मन्दिर अहिलेसम्म धानिएको थियो। पुरानो मन्दिर भत्काएसँगै चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकै हवनकुण्ड रहेको ठाउँमा पूजाआजा गरिँदै आएको अध्यक्ष कुँवरले बताए।

प्रकाशित: १८ मंसिर २०८० ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App