१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

साँधसीमा सिरहामा,कर बुझाउन उदयपुर

लहान- धनगडीमाई नगरपालिका–१४ का ईश्वर विश्वकर्मा दुई दशकदेखि जग्गाको पोत(कर) तिर्न उदयपुर धाउँदै छन् । सिरहा जिल्ला धनगडीमाई नगरपालिका–१४ सर्रेअम्बासमा रहेको जग्गाको पोत उनी उदयपुर जिल्लाको रिस्कु गाँउपालिकामा तिर्नुपर्छ ।
उतीबेला नापी आउँदा (२०२८ सालतिर) उदयपुरको रिस्कु गाविस (तत्कालीन)मा सिरहाको धनगडीमाई नगरपालिका–१४ को जग्गा दर्ता भयो । त्यो बेलादेखि नै यहाँका जग्गाधनी पोत तिर्न, जग्गा नामसारी, जग्गा पासलगायत जग्गा सम्बन्धी कामका लागि उदयपुर धाउनुपर्ने बाध्यता छ ।
यहाँको करिब ५२ बिघा जमिन उदयपुर जिल्लाअन्तर्गत रिस्कु गाविसले नापी गराएको स्थानीय हेमबहादुर कार्की बताउँछन् । करिब तीनसय जग्गाधनी वर्षौदेखि पोत(जग्गा कर) तिर्न उदयपुर धाउँन बाध्य रहेको उनले भने । यहाँबाट जग्गासम्बन्धी कामका लागि उदयपुर जान निकै गाह्रो पर्छ कार्कीले भने, ‘जग्गा सम्बन्धी काम गराउन जानुपर्दा एकदिनमा भ्याउँदैन, दुईदिनै लाग्छ ।’ मधेसभित्रको पहाड भनेर चिनिने सर्रेअम्बाससम्म सवारीसाधान चल्दैनन् । बस चढ्न पैदल धनगडी बजार बजार आउनुपर्छ । करिब दुई घण्टा पैदल हिंडेपछि धनगडी बजार पुगिन्छ । यहाँबाट बस चढेर उदयपुर सदरमुकाम गाईघाट पुगिन्छ । ओहोरदोहोरमै दिन बित्छ उनले भने, ‘समय र रकम दुवै खेर  फाल्नुपर्दा हैरान छौँ ।’
वर्षौदेखि खप्दै आएको हैरानीबाट छुटकारा पाउन यहाँका स्थानीयले कसरत नगरेको भने होइनन् । उनीहरू स्थानीय प्रसाशनदेखि राजनीतिक दलका नेतासँग हैरानी पोखे । तर, कहिँबाट आशलाग्दो पहल नभएको उनीहरूको गुनासो छ । ‘राजनीतिक दलका नेताले प्रसाशनिक समस्या भन्दै पन्छिए, प्रसाशनका हाकिम राजनीतिक समस्या भन्दै’ कार्कीले भने, ‘हामी भरोसैभरोसामा हैरानी खेप्दै बसेका छौँ ।’
प्रसाशन र राजनीतिक दलका नेताप्रति निराश यहाँका जनतामा स्थानीय तह निर्वाचनले भरोसाको दियो बालिदिएको छ । यहाँका स्थानीयले स्थानीय तह निर्वाचनलाई ‘स्थानीय सरकार’ को रूपमा लिए । उनीहरू उत्साहका साथ मतदानमा सहभागी पनि भए । १३ सय १३ मतदाता रहेको यो वडामा ८ सय ३८ मत खसेको थियो । यहाँका जनतामा मतदानप्रति  उत्साह र उभारको कारण थियो – स्थानीय सरकार आएपछि वर्षौदेखि खप्दै आएको समस्या सामाधान हुन्छ । मत माग्न जाने उम्मेदवार यहाँका जनतासँग समस्या सामाधान गरिदिने प्रतिवद्धता दिलाएका थिए ।
हामीले स्थानीय तह निर्वाचनपछि दैलोमै सरकारको अनुभूती पाउने सुनेका थियौँ स्थानीय बलबहादुर सुनवारले भने, ‘अरुथोक भन्दा पनि जग्गासम्बन्धी कामका लागि उदयपुर जानुपर्ने झन्झबाट मुक्ति दिलाइदिए राहतको सास फेर्थे ।‘हामीलाई मेयरले आश्वासन दिनुभएको छ,’ उनले भने, ‘यो झन्झटबाट छुटकारा पाए, दैलोमै सिंहदरबार अनुभूती हुन्थ्यो ।’
धनगडीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी यहाँका स्थानीयको समस्याबाट अवगत छन् । उनले भने, ‘उदयपुर पुगेर कर बुझाउने स्थानीयको हैरानी थाहा छ । ‘यो समस्याबाट उहाँहरू छिट्टै मुक्ति पाउने छन् । घरजग्गा सिरहामा, कर तिर्न  उदयपुर जानुपर्ने ! उनले भने, यो अव्यवहारिक समस्या चाँडै अन्त्य गर्छौं ।’ यसका लागि पहल सुरु भैसकेको समेत उनले जानकारी दिए ।

नागरिकता बनाउन सदरमुकाम
सुगम र दुर्गम १४ गाउँ समेटेर बनेको नगरपालिका हो, धनगडीमाई नगरपालिका । यो नगरपालिकाबाट नीजकको अडा कार्यालय लहान हो । जहाँ इलाका प्रसाशनमार्फत नागरिकता र राहदानी जारी हुन्छ । तर, यो नगरका जनता अझै ६० किलोमिटर लामो दूरी पार गरेर नागरिकता र  राहदानी बनाउन सदरमुकाम सिरहा धाउनुपर्ने बाध्यता खप्दै आएका छन् ।
१४ मध्ये नौ वडाका बासिन्दासँग सिरहा सदरमुकाम पुगेर नागरिकता बनाउनुपर्ने बाध्यता अझै छ । १० किलोमिटर दूरी पार गरेर लहानबाट नागरिकता र राहदानी लिन पाउँ भनेर यहाँका जनताल्े धेरैपटक स्थानीय प्रसाशन गुहारे । तर, सुनुवाइ भएन । अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि यसमा पहल सुरु भएको छ ।
धनगडीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले भने, ‘सिरहा सदरमुकाम पुग्नुपर्ने बाध्यता अन्त्य गरी लहानबाट नागरिकता र राहदानी जारी गर्न पनि पहल थालेका छौं । हामी जनतालाई कसरी सहुलियत पुग्छ, त्यो कामप्रति सक्रियता बढाएका छौँ,’ उनले भने ।
डोम र मुसहरलाई निःशुल्क सिफारिस
धनगडीमाई नगरपालिकाले नागरिकता, जन्मदर्ता, मृत्युदर्ता, घटना दर्ताजस्ता सिफारिसका लागि लाग्न दस्तुर विपन्न भनेर चिनिने डोम र मुसहर समुदायका सेवाग्राहीलाई मिनाहा गरेको छ । पहिलो नगरसभाबाट यी दुई समुदायका सेवाग्राहीलाई निःशुल्क सिफारिस र अन्य सीमान्तकृत समुदायलाई सिफारिसमा ५० प्रतिशत छुटको निर्णय गरिएको चौधरीले सुनाए ।
‘हामी जनतालाई स्थानीय सरकारको अनुभूती दिलाउने प्रयत्न गर्दैछांै । विकासे योजना पनि जनस्तरबाट जनआवश्यकताका योजना छनोट गरेर अघि बढाउँदैछौं,’ उनले भने ।

प्रकाशित: २६ पुस २०७४ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App