४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पानीपोखरीमा ३१ वर्षपछि प्रहरीको आफ्नै भवन

पानीपोखरीमा नयाँ भवन उद्घाटन गर्दै कर्णालीका प्रमुख प्रमुख (डिआइजी) भिम प्रसाद ढकाल । तस्बिर: गोविन्द केसी/नागरिक

कालिकोट र दैलेख सीमा जोडिएको दैलेखको पानीपोखरी प्रहरी चौकीको ३१ वर्षपछि आफ्नै प्रहरी भवन स्थापना भएको छ। जोखिमपूर्ण घरहरूबाट सेवा दिईरहेको प्रहरी चौकीले ३१ वर्षपछि आफ्नै सुविधा सम्पन्न प्रहरी भवनबाट सेवा दिने भएको हो। 

२०४९ पुस १७ दरबन्दी स्वीकृति भई फागुनमा दैलेखको भैरवी गाउँपालिका ६ स्थित पानीपोखरी प्रहरी स्थापना भएको थियो। स्थापनायता प्रहरीहरू कच्ची घरहरूमा निकै सास्ती झेलेर सेवा दिनुपरेको थियो।केही वर्षअघि मात्र पक्की घर बनेपछि भाडामा राखिएको चौकी अहिले आफ्नै घरबाट सेवा दिएको छ। नयाँ सुविधा सम्पन्न भवनको उद्घाटन कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले एक कार्यक्रम माझ गरेका छन्।

नयाँ प्रहरी चौकी पानीपोखरीको भवनमा कार्यालयसहित प्रमुखको निवास, ब्यारेक, भान्सा घर र शौचालय भवन रहेको छ। ठेक्का मार्फत १ करोड ७७ लाख ८७ हजार ४ सय ३७ रुपैयाँ २५ पैसामा भवन निर्माणमा लागत लागेको प्रहरीले जनाएको छ। उद्घाटन कार्यक्रमको गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाहीले अध्यक्षतामा भएको थियो । प्रहरीको आफ्नै भवनमा प्रहरी बसेसँगै दैनिकी कामहरू गर्न निकै सहज हुने दैलेखका प्रहरी प्रमुख (डिएसपी) किशोर लम्सालले बताए। 

आगामी दिनहरूमा यस क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी हुनुको साथै गुणस्तरीय नागरिक सेवा प्रवाह हुने र  प्रहरी कर्मचारीको कार्यसम्पादन स्तरमा थप मनोबल अभिवृद्धि हुने विश्वास कर्णाली प्रदेश प्रहरी प्रमुख ढकालले गरे।सुरक्षित कर्णाली विशेष अभियान, २०८० को कार्यान्वयन र यस अन्तर्गतका विभिन्न कार्यक्रम गत अभियानहरूले नागरिक र प्रहरीबिच अझ नजिकको सम्बन्ध स्थापित हुनुको साथै अपराध अनुसन्धान, नियन्त्रणमा र शान्ति सुरक्षा कायममा थप उपलब्धिहरू  प्राप्त हुँदै गएको डिआइजी ढकालले भनाई थियो।गाउँपालिका अध्यक्ष रिता कुमारी शाहीले पालिकाले प्रहरीसँग समन्वय सहयोग गरेर शान्ति सुरक्षा कायम गर्न लागि पर्ने बताईन् । प्रहरीको आफ्नै भवन निर्माण सम्पन्नसँगै प्रहरीको कामकारबाहीमा सहज हुने दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। 

त्यस्तै दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, सुरक्षा निकाय प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, समाजसेवी लगायत स्थानीयहरूको सहभागी रहेको थियो।  

प्रकाशित: ७ मंसिर २०८० १२:३७ बिहीबार

पानीपोखरीमा ३१ वर्षपछि प्रहरीको आफ्नै भवन