६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हात्तीले दुःख दिन थालेपछि रातभर जाग्राम

उर्लाबारी – मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन्। 

केही दिनयता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका स्थानीय बासिन्दा आतंकित बनेका छन्। केहीदिनअघि मात्रै बस्तीमा पसेको हात्तीले घर भत्काइदिएपछि त्रासका साथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उर्लाबारी–१ का कृष्णप्रसाद पोख्रेलले बताए। 

आहाराका लागि बस्ती पस्ने गरेको हात्तीले उर्लाबारी र मिक्लाजुङ क्षेत्रका बस्तीमा रातभर वितण्डा मच्चाउने गरेको छ। यस्तै जिल्लाकै सुन्दरहरैँचा नगरपालिका ५, ६, ७, ८, ९, १०, ११ र १२ र बेलबारी नगरपालिका १, २, ३, ४, ८, ९, १० र ११ का बासिन्दा हात्तीबाट सबैभन्दा बढी पीडित बनिरहेका छन्। 

यी क्षेत्रमा वर्षेनी हात्तीले घर भत्काउने, मान्छेलाई आक्रमण गर्ने, बालीनाली नष्ट गर्ने, घरका खाद्यान्न खाइदिनेलगायतका वितण्डा मच्चाउँदै आएको स्थानीय बासिन्दाले बताएका छन्। 

झापातिरबाट केराबारीको जंगल हुँदै हात्ती आउने गरेको स्थानीयवासीको आशंका छ। तीनदिनयता सुन्दरहरैँचा नगरपालिका–७ का पूर्णकुमार दर्जी, विजय चापागाई, कृष्णप्रसाद भट्टराई र तुलसी सुवेदीको घरमा हात्तीले क्षति पुर्‍याएको छ। घरमा भएका सबै धान, चामललगायतका अन्न पनि खाइदिएको स्थानीयवासीले बताएका छन्। 

हात्तीले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको पश्चिमतर्फको पर्खाल पनि भत्काइदिएकोे छ। केही दिनयता गाउँ पसेर हात्तीले उपद्रो मच्चाउन थालेपछि सुन्दरहरैँचा र बेलबारी नगरपालिकाका बासिन्दा रातभर नसुतीकन जाग्राम बस्न थालेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले हात्तीले वर्षेनी दुःख दिने गरेको गुनासो गर्दै सुरक्षाका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनसम्बन्धी क्षेत्रीय गुल्म स्थापनाको माग पनि गरेका छन्। 

प्रकाशित: ६ पुस २०७४ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App