७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सिआइबीले थाल्यो मुगु घटनाको अनुसन्धान

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुगु पुगेर सामूहिक हत्या घटनाको अनुसन्धान थालेको छ। यही कात्तिक ८ गते मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुगाउँमा सामूहिक हत्याका घटना भएको थियो। घटना भएको नौ दिन बितिसक्दा पनि प्रहरीबाट घटनाको दोषी पत्ता लाग्न नसकेपछि अनुसन्धानका लागि सिआइबी टोली मुगु पुगेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाका अनुसार डिएसपी धर्म भण्डारी नेतृत्वको टोली मुगु पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ। सिआइबी टोलीले स्थानीय घटनास्थल र अन्य स्थलबाट अनुसन्धान गरिरहेको छ। घटना अनुसन्धानमा सिआईबी टोली खटिएपछि पीडित परिवार पनि अनुसन्धान निष्कर्षमा पुग्नेमा विश्वस्त देखिन्छ।

यता छायानाथ रारा ६ का वडाध्यक्ष खेमराज रावलले अनुसन्धानमा सिआइबीको प्रवेशले नयाँ आशा पलाएको बताए। उनले भने, ‘सिआइबी पुग्नुअघि सुर्खेतबाट दुई टोली र जुम्लाबाट गएको एक टोलीले अनुसन्धान गरिरहेका थिए।’

घटनास्थल अनुसन्धानमा गएको कुकुरसहितको टोली भने नेपालगञ्ज फर्किसकेको छ। ‘सिआइबी टोली मुगु पुगेपछि केही आशा जगाएको छ’, अध्यक्ष रावलले भने।

घटनाका बारेमा विस्तृत बुझ्नका लागि कर्णाली प्रदेशका डिआईजी भीमप्रसाद ढकाल आफैं जिल्ला पुगेका थिए। आफन्तले प्रहरीले दोषी पत्ता नलगेसम्म शव नबुझ्ने बताइरहेका थिए, तर प्रहरीले जसरी पनि घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता जनाएपछि कात्तिक १७ गते मृतकको सामूहिक दाह संस्कार गरिएको थियो।

मृतक श्रीदेवीका पति दीपक किरियामा बसेका छन्। छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले मृतकका आफन्तलाई सम्झाइबुझाइ गरेपछि दीपक बोहोरा शव बुझ्न र दाह संस्कार गर्न सहमत भएका हुन्। कात्तिक ८ गते बुधबार भएको घटनाको जानकारी प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान मात्रै पाएको थियो।

जानकारीपश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृत अवस्थामा फेला पारेको थियो। वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका पति दीपक बोहोरा घर पुगेपछि सोही दिन प्रहरीले चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु पु¥याएको थियो।

प्रकाशित: २० कार्तिक २०८० ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App