७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

‘होटलका कोठा अपराधस्थल नबनून्’

पृथ्वी होटल व्यवसायी समिति, पोखराले आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय, बैदामका इन्चार्ज राजेन्द्र श्रेष्ठ। तस्बिर: सन्देश/नागरिक

वडा प्रहरी कार्यालय, बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले होटलका कोठा अपराधस्थल बन्न नदिन होटल व्यवसायीहरूलाई आग्रह गरेका छन्।

दसैं, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वहरूको शुभकामना तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै पर्यटकीय नगरी पोखराको मुटु मानिने वडा प्रहरी कार्यालममा भर्खरै मात्र सरुवा भएर आएका डिएसपी श्रेष्ठले होटलमा पर्यटक मात्र नभई पर्यटकको नाममा अपराधी पनि आउन सक्ने भएकाले सचेत रहन व्यवसायीहरूलाई आग्रह गरेका हुन्।

 ‘होटलका कोठा अपराध गर्ने स्थल नबनून्,’ उनले भने, ‘होटलमा बस्न आउनेहरू सबै राम्रा पर्यटक मात्र हुँदैनन्। होटलका कोठाहरू अपराधको योजना बनाउने, अपराध स्थल बनाउने तथा बाहिर अपराध गरेर लुक्ने स्थलका रूपमा प्रयोग हुन सक्छ। त्यसैले तपाईंहरू सचेत रहनुहोला।’

डिएसपी श्रेष्ठले होटलमा बस्नेहरूको गतिविधि शंकास्पद लाग्यो भने प्रहरीलाई खबर गर्न आग्रह गरे। तर प्रहरी आयो वा प्रहरी कार्यालयमा बोलायो भन्दैमा डराउने वा ढाँटछल गर्ने काम नगर्न उनको आग्रह थियो।

‘प्रहरी आयो भन्दैमा डराउनु वा आत्तिनुपर्दैन,’ उनले भने, ‘प्रहरी तपाईंहरूकै सुरक्षाका लागि आउने हो। प्रहरीले अपराधबारे अनुसन्धान गर्न, सोधपुछ गर्न तपाईंकोमा आउन सक्छ वा तपाईंलाई बोलाउन सक्छ। त्यस्तो बेला जानेको, बुझेको वा देखेको कुरा भनेर प्रहरीलाई सहयोग गर्नूस्।’

डिएसपी श्रेष्ठले रात्रिकालीन व्यवसाय सुन्दा राम्रो लागे पनि व्यवहारमा कठिन हुने गरेको बताए। रात्रिकालीन व्यवसायकै कारण अहिले पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अवाञ्चित गतिविधि भइरहेको भन्ने गुनासो स्थानीयबाट आइरहेको उनले जानकारी दिए। ‘लेकसाइडमा अहिले विकृति बढ्यो। अनैतिक क्रियाकलाप बढे। होहल्ला, कोलाहल बढ्यो भनेर बारम्बार गुनासो आइरहेको छ,’ उनले भने।

डिएसपी श्रेष्ठले होटेलमा सिसी क्यामरा राख्न, उज्यालोका लागि लाइटहरूको प्रयोग गर्न, पाहुनाको व्यक्तिगत विवरणसँगै मोबाइल नम्बर राख्न, कम उमेरका भए नराख्न, पर्यटक आउँदा झोला तान्ने–ठेल्ने नगर्न आग्रह गरे। व्यवसायलाई सम्मानित र मर्यादित बनाउन सके गुणस्तरीय पर्यटकको संख्या बढाउन मद्दत पुग्ने उनले बताए।

कार्यक्रममा बोल्दै पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण निउरेले शान्ति सुरक्षा बहाली गर्नका लागि प्रहरीलाई आफूहरू सहयोग गर्न तयार रहेको बताए। होटलमा अवाञ्छित गतिविधि हुन नदिन आफूहरू सचेत रहेको उनको भनाइ थियो।

समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले देशको अर्थतन्त्रले लय छाड्दा व्यवसाय पनि धराशायी हुने क्रममा रहेकाले यसलाई जोगाउन गरिने क्रियाकलापमा प्रहरीको सहयोग रहने विश्वास व्यक्त गरे।

समितिका अध्यक्ष अमृत घिमिरले व्यवसायलाई सम्मानित र मर्यादित बनाउन आफूहरू दत्तचित्त भएर लाग्ने बताए तर शान्ति सुरक्षा कायम गर्न भने प्रहरीले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। समितिका उपाध्यक्ष राजु सुनार र महासचिव इन्दु श्रेष्ठलगायतले लेकसाइडका व्यवसायीले पर्यटकको झोला तान्ने, स्कर्टिङ गरेर गाडीबाट उत्रिन नदिनेलगायतका गतिविधि गरेको भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरे।

प्रकाशित: २ कार्तिक २०८० ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App