७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गोडा सुन्निए, माग सुनिएन

फुटपाथ व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने लगायतका माग राखेर विगत ६ दिनदेखि उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः का सुन्निएका गोडा। तस्बिर: उपेन्द्र/नागरिक

फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर ६ दिनदेखि उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः का दुवै खुट्टा नराम्ररी सुन्निएका छन्। लगातार १२३ घन्टासम्म उभिँदा पनि उनका माग सरोकारवाला निकायले सुनेको छैन।

‘गोडा सुन्निए,’ सामाजिक सन्जालमा भुवन थापा लेख्छन्, ‘माग सुनिएन।’ अभियन्ता ईः ले ६ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रियसभा गृह परिसरमा उभिएर विरोध प्रदर्शन गरिरहेका छन्। उनका माग काठमाडौं महानगरपालिकाले नसुने पनि राष्ट्रियसभा गृह परिसरमा अभियन्ता ईः लाई साथ दिनेहरू बढेका छन्। उनका मागप्रति ऐक्यबद्धता जनाउँदै केटाकेटीदेखि बुढापाकासम्मले उभिएरै साथ दिन थालेका छन्।

‘सहरमा रहेका १० हजारभन्दा बढी फुटपाथ व्यवसायीको रोजीरोटीको अधिकारका लागि उनी आन्दोलनमा छन्,’ कार्यक्रममा ऐक्यबद्धता जनाउन आएका रमेश पौडेल भन्छन्, ‘गरिब र गरी खानेको पक्षमा आवाज उठाउनु सबैको दायित्व हो।’

अभियन्ता ईः को माग सरोकारवाला निकायले सम्बोधन नगर्नु दुखद भएको उनी बताउँछन्। ‘लोकतन्त्रमा कोही पनि प्रश्नबाट पर रहन मिल्दैन,’ पौडेल भन्छन्, ‘ढोकामै उठेको यति ठूलो आवाज सरोकारवालाले नसुन्नु निकै निराशाजनक अवस्था हो।’

अभियन्ता ईः पनि आफ्नो खुट्टा सुन्निएको भन्दा पनि महानगरपालिकाले आवाज नसुनेकोमा बढी दुखी छन्। ‘बिहान ५ बजेदेखि राति ११ बजेसम्म उभिँदै आएको छु,’ उनले भने, ‘मलाई मेरो खुट्टा सुन्निएको, गलेको भन्दा पनि मागतर्फ चासो नदेखाएकोमा दुःख लागेको छ।’

सुरुमा ७७ घन्टा भनेर सुरु गरिएको आन्दोलन १ सय २३ घन्टा हुँदै अब १ सय ९९ घन्टासम्म लम्बिएको उनले सुनाए। अभियन्ता ईः को शान्तिपूर्ण आन्दोलनमा आइतबार फुटपाथ व्यवसायीले पनि सहभागी जनाएका छन्। उनीहरूले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको विरोधमा विभिन्न नारा उल्लिखित प्लेकार्ड बोकेर प्रदर्शन गरे।

‘गरिबको पक्षमा आवाज उठाएर चुनाव जितेकाले आज गरिबको आवाज नै सुन्न चाहिरहेका छैनन्,’ फुटपाथ व्यवसायी वासुदेव भट्ट भन्छन्, ‘हामी व्यवस्थित भएर काम गर्न चाहन्छौं।’  

सडक व्यापार संघकी उपाध्यक्ष गीता फुयाँल चाडपर्वको मुखमा व्यवसायी अन्योलमा परेको बताउँछिन्। ‘केही कमाएर दसैं मान्न गाउँघर जाने चाहना पूरा हुने अवस्था छैन,’ उनले भनिन्, ‘यासपालि दसै मान्न सक्ने अवस्था छैन।’

यसैबीच अभियन्ता ईः को आन्दोलनप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चासो व्यक्त गरेका छन्। ‘अभियन्ता ईः लगायतका साथीहरूका बारेमा काठमाडौं महानगरपालिकाका प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु’, सामाजिक सञ्जालमा थापा लेख्छन्, ‘लोकतन्त्रमा आन्दोलनरत सबैको आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ।’

आवागमनमा असर नपर्ने गरी अभियन्ता ईः को माग सम्बोधन गर्न सकिने थापाले सुझाए। ‘मेरो आग्रह छ, निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस्,’ थापाले लेखेका छन्।

प्रकाशित: ८ आश्विन २०८० ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App