२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सेनाद्वारा तिलौराकोट दरबार सरसफाइ

तिलौराकोट दरबार क्षेत्रको झाडी हटाउँदै नेपाली सेना।

विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबारमा नेपाली सेनाद्वारा सरसफाइ अभियान सञ्चालन गरिएको छ। लुम्बिनी विकास कोषको अनुरोधमा नेपाली सेनाको शमशेर दल गणले तिलौराकोट दरबारमा अभियान सञ्चानल गरेको हो। तिलौराकोट गौतम बुद्धले २९ वर्ष बिताएको र राजा शुद्धोधनको राजप्रसाद हो।

गणका सहायक सेनानी रामचरण चौधरीको नेतृत्वमा ३५ जनाको टोलीले तिलौराकोट दरबारको पुर्वीगेटको उत्तरतर्फको भागमा बिहीबारदेखि अभियान सुरु गरेको छ। झाडी, झारपात र बुट्यानले कुरूप बन्दै गएपछि सरसफाइ अभिान सञ्चालन गरिएको कोषका कार्यकारी सदस्य गोपीकृष्ण शर्माले बताए।

तिलौराकोटमा झारपातले गर्दा अवलोकनका लागि आउने पर्यटकले सास्ती भोग्दै आएका थिए। दरबारभित्र रहेको झाडी हटाई तिलौराकोटलाई हेर्न लायक बनाउन अभियान चलाइएको शर्माले बताए। उनका अनुसार यस पटक ठोस रूपमा अभियान सञ्चालन गरिएको हो।

‘अन्तर्राष्ट्रिय महत्व बाकेको स्थलमा सरसफाइ नहुँदा यहाँ आउने पर्यटक निराश बनी फर्कने गरेका थिए। अभियानपछि यो क्षेत्र मनोरम बन्ने शर्माले बताए। अन्तर्राष्ट्रिय तथा पुरातात्त्विक महत्वको उक्त दरबार क्षेत्रलाई पूर्ण सफा गर्न सेनाको योगदान महत्त्वपूर्ण भएको कोषका तिलौराकोट सम्पर्क कार्यालय प्रमुख माधव आचार्यले बताए।

विश्व बौद्ध दर्शनको महत्वपूर्ण क्षेत्रको विकासमा सबैको साथ आवश्यक रहेको उनले बताए। पुरातात्त्विक मूल्य र मान्यताका कारण तिलौराकोटका सुन्दरीकरण गर्न नसक्दा वर्षेनी झाडी, बुट्यान र खरघारीमा सम्पदा लुक्ने गरेको छ। शमशेर दल गणका सहायक सेनानी चौधरीले अभियान १५ दिनसम्म चल्ने बताए।

यसअघि ३ महिनापहिले पनि सेनाको टोलीले अभियान चलाएको थियो। ‘पुरातात्त्विक क्षेत्रको संरक्षण र संवर्द्धन सुरक्षाकर्मीको पनि दायित्व हो,’ उनले भने। सरसफाइपछि दरबार क्षेत्र पुनः सुन्दर बन्ने र पर्यटकलाई उत्खनन गरिएको क्षेत्र अवलोकनमा सहज हुने आचार्यले बताए।

तिलौराकोटमा बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्व विभागको टोलीले विगत १२ वर्षदेखि उत्खनन र अनुसन्धानको काम अघि बढाउँदै आएको छ। तिलौराकोट बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद र बुद्धले २९ वर्ष बिताएको स्थलका रूपमा मानिँदै  आएको छ।  

प्रकाशित: ५ आश्विन २०८० ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App