५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ग्याङ फाइटपछि उपमेयरका भाईसहित ८ पक्राउ, एक जना गम्भीर घाइते

उपमेयर अइन्द्र बेघाको भाईको समुहको आक्रमणबाट गम्भीर घाइते सन्देश राई र उपमेयर अइन्द्र बेघाको कान्छा भाई बिष्णु बेघा । तस्बिरः रोहित राई

धरानका उपमेयर अइन्द्रबिक्रम बेघाको घरमा आक्रमण गरेको भनिएको घटनामा एक जना गम्भीर घाइते भएका छन् भने प्रहरीले अनुसन्धानको लागि उपमेयरका भाईसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा उपमेयर बेघाको कान्छा भाई बिष्णु बेघासमेत छन्। हिजो (मंगलबार) दुई समुह बीच ग्याँङ फाइट भएको थियो। उक्त घटनामा उपमेयर बेघाका भाई सामान्य घाइते भएका थिए भने अर्को समुहका सन्देश राई गम्भीर घाइते भएका थिए। उनको शरीरको पछाडि कम्मरमा धारिलो हतियारले गहिरो काटेको छ। घाइते राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार घटनाको अनुसन्धानको लागि ८ जना प्रहरी नियन्त्रणमा छन्। उपमेयर बेघाको भाई बिष्णु बेघालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए। ‘मुख्य घाइतेले विष्णु बेघाको पनि नाम लिएकोले अनुसन्धानको लागि नियन्त्रणमा राखेका छौं। हामीले ८ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौं,’ डिएसपी मल्लले भने । सामान्य घाइते बेघालाई उपचार पश्चात नियन्त्रणमा लिइएको हो ।  

पक्राउ पर्नेमा ३ जना बेघाको भाई पक्षका छन् भने ५ जना अर्को समुहका हुन् । घटना दुई समुहबीचको पुरानो रिसइबीले भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानबाट पहिला बिष्णु बेघा समुहले आक्रमण गरेपछि अर्को समुहले खेदाउदै गएर उपमेयरकै घरमा ढुंगा प्रहार गरेको खुलेको छ । दुवै समुह वडा नं १५ को नजिकै रहेको टोलका हुन् । बेघाको भाई खोरिया बस्तीका हुन् भने अर्को समुह सुर्य बस्तीका हुन् ।  

हिजो(मंगलबार)उपमेयर बेघाले फेसबुक लाइभमार्फत धरानका डिएसपीलाई फोन गरेको भिडियो हालेपछि यो घटनाले चर्चा बटुलेको थियो । उपमेयर बेघाले आफुले अफिसबाटै खबर गरेर घर पुग्दा पनि प्रहरी नआइपुगेको भन्दै डिएसपीसँग आक्रोश पोखेको लाईभ भिडियो भाइरल बनेको थियो ।उपमेयर बेघाले आफ्नो घरमा ढुंगामुढा हुँदा परिवार र छरछिमेक आतंकिन बनेको बताए । ‘वल्लो र पल्लो टोलको युवाहरुको समस्या होला तर घरमा आएर ढुंगामुढा गरेर परिवार आतंकित बनाएछन्,’ उनले भने ।  

धरानका डिएसपी मल्लले उपमेयर बेघाले खबर गरेपछि तत्काल ३ वटा युनिटलाई परिचालन गरिएको बताए । तर त्यसबेला ठुलो बर्षा भइरहेको कारण थोरै मात्र ढिला गरि प्रहरी पुगेको उनको भनाई छ । ‘त्यसक्षेत्रको प्रहरी ७ मिनेटमा पुगेको छ, अर्को टोली ११ मिनेटमा पुग्यो । १५ मिनेटभिात्रमा इन्स्पेक्टरसहितको टोली पनि पुगिसकेको छ,’उनले भने,‘घटनालाई गम्भीरतापुर्वक लिएर अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित: २७ भाद्र २०८० ०४:०३ बुधबार

ग्याङ फाइटपछि उपमेयरका भाईसहित ८ पक्राउ