१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल-भारत सांस्कृतिक सम्बन्ध जोड्दै रानाथारू कलाकार

भारतको पुरनगढस्थित नौगजा गाउँमा प्रस्तुति देखाउँदै नेपालको पुनर्वास क्षेत्रका कलाकार। तस्बिर: पुष्पराज जोशी/नागरिक।

कहिले भारतको खटिमाका रानाथारू कलाकार बन्टी राना कञ्चनपुरको पुनर्वास क्षेत्रमा पुगेर सांस्कृतिक प्रस्तुति पस्कन्छन् त कहिले पुनर्वासका राजकुमारीको सांस्कृतिक समूह भारतको खटिमा पुग्छन् र त्यहाँ प्रस्तुति देखाउँछन्।

यसरी नै भारतको खटिमा क्षेत्र तथा नेपालको कञ्चनपुरका रानाथारू कलाकारहरु एक आपसमा सांस्कृतिक प्रस्तुति देखाउँदै एक अर्काको देशमा आउजाउ गर्दै आएका छन्। जसले गर्दा रानाथारू कलाकारहरु वर्षौँदेखि नेपाल–भारतको सांस्कृतिक सम्बन्ध जोड्दै आएका छन्।

गत वैशाखमा नयाँ वर्षको अवसर पारेर भारतको खटिमा क्षेत्रका चर्चित कलाकार बन्टी राना र रिङ्कु रानाको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिकामा रानाथारू वृहत् संस्कृति प्रस्तुत गरेका थिए भने यसपालिको कृष्ण जन्माष्टमीको अवसर पारेर सात दिनदेखि कञ्चनपुरको पुनर्वासका राजकुमारीको टोली पनि भारतको खटिमामा रानाथारू संस्कृति प्रस्तुत गरिरहेका छन्।

शनिबार बुलेकी भारतको उत्तराखण्ड प्रदेशको पुनरगढस्थित नौगजा गाउँमा कञ्चनपुरको पुनर्वासका राजकुमारीको टोलीसहित त्यहाँका स्थानीय कलाकारले वृहत् सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे। नेपालका कलाकार आएको खबर पाउने बित्तिकै गाउँभरिका मानिस दर्शक बनेर उनीहरुको प्रस्तुति हेरिरहे भने भारतकै रानाथारु समुदायका चर्चित कलाकार बन्टी र रिङ्कुको प्रस्तुतिमा झुमे।

दुवै देशका कलाकारले एकै मञ्चमा सामूहिक रुपमा रानाथारू संस्कृति झल्कने झाँकी, नृत्य तथा गीत प्रस्तुत गरेका थिए। नेपालको कैलाली र कञ्चनपुरमा सीमित मात्रामा रहेका रानाथारू र भारतको उत्तर प्रदेश तथा उत्तराखण्डमा तमामौ मात्रामा रानाथारू समुदायका बसोबास रहेको बताउँदै खटिमाका रानाथारू कलाकार बन्टीले भने, ‘नेपालमा रहेका रानाथारू र हामी भारतमा रहेका रानाथारू समूदायिका ‘रोटीबेटी’ को सम्बन्ध छ, तसर्थ एक आसपमा जोडिनका लागि केही वर्षदेखि दुवै देशका एउटै समुदायका हामी मिलेर सांस्कृतिक कार्यक्रम गर्दै आएका छौँ।’

आफूहरु सांस्कृतिक कार्यक्रम लिएर नेपाल जाँदा आफ्नै घरमा गएजस्तो लाग्ने गरेको बताउँदै भारतकी अर्की कलाकार रिङ्कु रानाले भनिन्, ‘हामी एउटै समुदायका मानिसहरु भारत र नेपालमा बस्छौँ, हाम्रो सांस्कृतिक मात्रै नभई पारिवारिक सम्बन्ध पनि छ। नातागोता र इष्टमित्र पनि दोहोरो छन्। त्यसैले यो सम्बन्ध अझ दिगो बनाउन हामी केही वर्षदेखि मिलेर सांस्कृतिक कार्यक्रम गर्दै आएका छौँ।’

नेपालबाट आफ्नो सानी आमाको गाउँमा कलाकार आउन लागेको सुनेपछि १५ किलोमिटर टाढाको गाउँबाट आफू सांस्कृतिक कार्यक्रम हेर्न आइपुगेको बताउँदै रोशनी रानाले भनिन्, ‘म पनि नृत्य गर्छु। अघिल्लो पटक नेपालको पुनर्वास पुगेकी थिएँ, अहिले नेपालबाट कलाकार आएको थाहा पाएपछि नृत्य हेर्न तथा आफू पनि प्रस्तुति देखाउन १५ किलोमिटर टाढाबाट आएकी हुँ।’

आफूहरु जस्तै रानाथारु समुदायका मानिसहरु पनि नेपालमा बस्छन् भन्ने थाहा पाउँदा खुसी लागेको उनले बताइन्।

भारतमा साङ्गीतिक महोत्सव लाग्दा आफूहरुले पुनर्वास क्षेत्रका रानाथारु कलाकारलाई निम्तो दिने र नेपालमा सांस्कृतिक कार्यक्रम हुँदा भारतीय कलाकारलाई निम्तो दिने गरिएको पुनर्वास नगरपालिकाकी उपमेयर तथा रानाथारू संस्कृतिकर्मी भुलिया रानाले बताइन्।

उनले भनिन्, ‘कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका रानाथारू समुदाय र भारतको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका रानाथारू समुदायबीचको भाषिकता तथा सांस्कृतिकता एउटै किसिमको छ। त्यही भएर पनि हामी नेपाल–भारतको सांस्कृतिक सम्बन्ध जोड्न चाहन्छौँ।’

समाजसेवी व्यक्तित्व पदम देउवाले कलाकारले कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारु समुदाय र भारतको उत्तर प्रदेश तथा उत्तराखण्ड प्रदेशमा बसोबास गर्दै आएका रानाथारु समुदायबीचको सम्बन्ध प्रगाढ बनाएको बताए।

उनले भने, ‘सुरुमा पुनर्वासमा भारतमा रहेका रानाथारु कलाकारलाई निम्त्याइएको थियो, त्यसपछि भने भारतमा रहेका रानाथारु समुदायले नेपालमा रहेका रानाथारु कलाकारलाई निम्त्याउँदै आएका छन्। जसले गर्दा नेपाल–भारतमा रहेका रानाथारुको कला संस्कृति एक आपसमा बाँड्ने र सिक्ने मौका मिलेको छ।’

उनले यस किसिमको सम्बन्धले सांस्कृतिक सम्बन्ध जोडिनुका साथै मित्रता प्रगाढ भएको बताए। राष्ट्रिय जनगणना २०७८ अनुसार कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने रानाथारू समुदायको जनसंख्या ८३ हजार ३ सय ८ रहेको छ।

प्रकाशित: २४ भाद्र २०८० १४:२३ आइतबार

रानाथारू रानाथारू समुदाय