१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

८८ केजी सुन काठमाडौं पुर्‍याउन तीन पटक चालक परिवर्तन

सुन तस्करीमा प्रयोग भएको गाडी।

रसुवा— चीनको केरूङबाट तस्करी गरी ८८ किलो सुन काठमाडौं पुर्‌याउने कार्यमा संलग्न सवारी साधनमा तीन पटक चालक परिवर्तन भएको देखिएको छ। सोमबार र मंगलबार गरी रसुवामा दुई जना सवारी चालक पक्राउ गरेको छ। काठमाडौंमा एक जना सोमबार नै पक्राउ परिसकेका छन्।

प्रहरीका अनुसार रसुवागढीबाट दिलिप खड्का र स्याफ्रुबाट दाम्पा तामाङ पक्राउ परेका हुन्। पक्राउ परेका खड्कालाई मंगलबार काठमाडौं पठाइएको छ। मंगलबार पक्राउ परेका तामाङलाई सोधपुछ गर्ने कार्य भइरहेको रसुवा प्रहरीले जनाएको छ।

प्रहरी रेकर्डअनुसार केरुङबाट सुन भित्र्याउँदासम्म बा १७ च ६४२७ नम्बर टाटा सफारी गाडीमा तीन वटा चालक परिवर्तन भएको देखिएको हो। रसुवा प्रवेश गर्दा प्रहरी र सेनाले गाडी नम्बर र चालकको नाम रेकर्डमा राख्ने गर्दछन्। रसुवा प्रहरीले पक्राउ गरेका दुई जना सो गाडीका चालकहरु हुन्।

चीनको केरूङबाट रसुवागढी नाका हुँदै काठमाडौं पुर्‍याइएको ८८ किलो सुनसहित महानगरीय अपराध महाशाखाले काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीबाट मनोज अधिकारीलाई पक्राउ गरेको थियो।

महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित अधिकारीलाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा स्ट्रोम गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको थियो।

भन्सार र सीमा सुरक्षा थप कडा पारिने

काठमाडौंबाट ठूलो परिमाणमा सुन बरामद परेपछि रसुवामा सुरक्षा समितिको बैठक बसेको छ। नाकामा सुन तस्करी तथा आपराधिक क्रियाकलाप रोक्ने विषयमा छलफल गर्न सुरक्षा निकायको प्रमुखसँग मंगलबार साँझ बैठक राखिएको हो। जिल्लाका सुरक्षा प्रमुखहरुको संलग्नता रहेको सो बैठकले केरुङस्थित भन्सार र सीमा सुरक्षालाई प्रभावकारी बनाउनेबारे छलफल गरेको छ।

बैठकले नाकामा सिसिटिभी राखेर निगरानी बढाउने, डिजिटल एक्सरे मेसिन राख्ने, व्यागेज एक्सरे मेसिन राख्ने तथा मेटल डिटेक्टर वाक थ्रु गेट निमार्ण गर्ने निर्णय गरेको छ। निर्णय कार्यान्वयका लागि गृह मन्त्रालउ पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समन्वय समितिका संयोजक हिरादेवी पौडेलले बताइन्।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सीमामा खटिएका प्रहरीलाई बोलाएर आज तीन घण्टा सोधपुछ गरिएको थियो।

रसुवाबाहिर धेरै सुन बरामद

भूकम्प र पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सञ्चालनका आएको रसुवागढी नाकाबाट २०७१ सालदेखि नै सुन तस्करीको घटना सुरु हुँदै आएको छ।

नाका सञ्चालनमा आएदेखि अहिलेसम्म जिल्लाभित्र नौ पटक साना परिमाणमा मात्र सुन बरामद भएको छ। जिल्ला बाहिरबाट भने न्युनतम नौ किलोदेखि ८८ किलोसम्म सुन बरामद भएको छ। जिल्लामा सबैभन्दा ठूलो परिमाणमा ७ किलोसम्म सुन पक्राउ परेको देखिन्छ।

जिल्लाभित्र जाँचका लागि दर्जनौ चेक पोष्ट राखिए पनि ती चेकपोष्टमा सर्वसाधारणलाई चेकजाँच हुन्छ। सुन तस्कर अहिलेसम्म पक्राउ परेका छैनन्। सर्वसाधरणको झोला खोतल्ने, अनावश्यक समय पर्खाउने लगायतको काम भएपनि तस्करी नियन्त्रणका लागि प्रहरीले ठोस कार्य गर्न नसकेको सर्वसाधरणको बुझाइ छ।

अहिले जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको एक दर्जन चेक पोष्ट सञ्चालनमा छन्। जिल्लाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा तीन, कालिकास्थानमा दुई र बेत्रावतीमा एउटा चेक पोष्ट छ।

जिल्लामा टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानमा नेपाली सेनाको ब्यारेकसहित चार ओटा चेक पोष्ट छ। सशस्त्र प्रहरीको सीमा र धुन्चेमा दुई ओटा चेक पोष्ट छन्। नेपाल प्रहरीको सीमामा दुई ओटा चेक पोष्ट सहित स्याफ्रु, धुन्चे, कालिकास्थान र बेत्रावतीमा गरी ६ ओटा चेक पोष्ट राखिएको छ।

तीन वर्षमा एक सय ३२ किलो सुन पक्राउ

रसुवागढी नाका भएर तीन वर्षमा एक सय ३२ किलो सुन पक्राउ परेको छ। चीनको केरूङबाट रसुवागढी हुँदै आएको सुन रसुवासहित नुवाकोट र काठमाडौंबाट बरामद भइरहेको छ। सुन तस्करीमा संलग्न भएका १७ जना भरिया पक्राउ परेका छन्। अबैध रुपमा सुन ओसार्दै गर्दा तीन वर्षमा १७ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये १० जना रसुवा, दुई जना नुवाकोट र तीन जना काठमाडौं पक्राउ परेका हुन्।

प्रकाशित: २० भाद्र २०७४ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App