२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

ताला फोडेर विद्यालयमा चोरी

खोटाङ – अज्ञात समूहले खोटाङ सदरमुकाम दिक्तेलको एक विद्यालयको ताला फोडेर चोरी गरेको छ । बुधबार राती रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविको ताला फोडेर ग्याँस चुलो, इन्टरनेटको राउटर लगायतका सामान चोरी गरेको हो । विद्यालयको दुई वटा मेन गेट, चार वटा कोठा र दराजको ताला तोडेर एक थान ग्याँस चुल्हो, एक थान इन्टरनेट राउटर, एक थान नेपाली शब्दकोस र विद्यार्थीको हात खुट्टा धुने ५० बढी साबुन चोरी भएको विद्यालयका प्रअ ध्यानबहादुर राईले बताए । विद्यालयको कम्प्यूटर रुम, प्रशासन रुम, स्टाफ रुम र चिया खाजा बनाउने रुमको ताला र दराज तोडेर चोरी भएको प्रहरीले जनाएको छ । 

बिहीबार बिहान कक्षा ११ र १२ को कक्षा सञ्चालनका लागि विद्यालयमा पुग्दा प्रशासन लगायतका कोठाको ताला तोडेको पाइएको शिक्षकहरुले बताएका छन् । महत्वपूर्ण सामान नपाएपछि उनीहरूले ग्याँस चुल्हो, राउटर, साबुन लगायतका सामान लगेको अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट करिब पाँच मिनेट र जिल्ला प्रहरी कार्यालयबाट ६÷७ मिनेटको दूरीमा रहेको सरस्वती माविमा भएको चोरीले सुरक्षा चुनौती थपेको छ । विद्यालयको ताला फोडेर चोरी गर्नेको पहिचान भएको छैन । चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले बताए । 
सदरमुकाममै श्रृंखलाबद्ध चोरी 

खोटाङ सदरमुकाम दिक्तेलमा श्रृंखलाबद्ध चोरीका घटना बढेको छ । साउन यता गहना पसलदेखि जिल्ला अस्पतालमा कार्यरत स्टाफनर्सको ल्यापटपसम्म चोरी भएका छन् । श्रृंखलाबद्ध चोरी भइरहे पनि अहिलेसम्म प्रहरीले घर तथा पलि चोरीमा संलग्न दोषी पत्ता लगाउन सकेको छैन । साउन २८ गते राती रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल अम्बागाछीस्थित रमेश बिकको न्यू हलेसी सुनचाँदी पसलबाट ताला फोडेर ४ आना सुन र ४० तोला चाँदी चोरी भएको थियो । यस्तै, भदौ ६ गते जिल्ला अस्पताल खोटाङमा कार्यरत स्टाफनर्स संगीता जवेगुको ल्यापटप र चेकबुक चोरी भएको थियो। 

स्टाफनर्स जवेगुको ल्यापटप र चेकबुक चोरीमा संलग्न ओखलढुंगा चिसंखुगढी गाउँपालिका–२ का २६ वर्षीय जीवन सार्कीलाई भदौ ८ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुई वर्षअघि पनि न्यू हलेसी सुनचाँदी पशलसँगै रहेको मोबाइल पसल ताला फोडेर चोरी भएको थियो। उसबेला ताला बंग्याइएको भए पनि ताला नतोडिँदा सुनचाँदी पसल चोरीबाट जोगिएको थियो । 

प्रकाशित: १५ भाद्र २०७४ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App