९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

घडीका पुर्जामा पनि सुन तस्करी

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ। ती कम्पनीले ‘ब्रेक सु’का अतिरिक्त घडीभित्रका पुर्जामा सुन लुकाएर ल्याएको खुलेको हो। विभिन्न मितिमा दर्ता भएका फरकफरक ती कम्पनीका मालिक पनि फरकफरक देखाइएको छ।  

सिआइबी स्रोतका अनुसार विकेन्द्र भुजेल, रामकुमार भुजेल, लेखनाथ कार्की डोली, रामबहादुर भुजेल, दिलीप भुजेललगायतका नाममा सातवटा कम्पनी खोलेर सुन तस्करी गरिएको पाइएको छ। कार्कीका नाममा खोलिएको चुङ्गक इलेक्ट्रिक सप्लायर्स कम्पनीले विद्युतीय सामानसँगै सुन तस्करी गरेको स्रोतको दाबी छ। प्रहरी स्रोतका अनुसार उक्त कम्पनीको ठेगाना काठमाडौंको बौद्ध राखिएको भए पनि त्यहाँ कार्यालय फेलापरेको छैन। भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिको ठेगाना सुकेधारा राखिएको छ तर त्यहाँ कार्यालय छैन। ह्वादा इलेक्ट्रिक सप्लायर्स कम्पनी सामाखुसीमा र पवाटी इलेक्ट्रिक सप्लायर्सको कार्यालय बाँसबारीमा देखाइएको छ। दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिले विद्युतीय सामान, ब्रेक प्याड र घडीमा तस्करीको सुन राखेर ल्याउने गरेको पाइएको छ। त्यस्तै दिलीप भुजेलका नाममा खोलिएको रेडी ट्रेड प्रालिमार्फत् ब्रेक प्याडमा राखेर सुन ल्याइएको खुलेको छ। तस्करले सरिता तामाङका नाममा पनि सरिता सप्लायर्स नामक कम्पनी दर्ता गराएको खुलेको छ। भुजेल दाजुभाइका नाममा पाँचवटा कम्पनी छन्।  

‘घडीभित्रका पुर्जामा सुन लुकाएर ल्याएको पाइएको छ, पानी पम्प र घडीभित्र सुन राखेर ल्याइएको एक चिनियाँले बयानमा स्वीकार गरेका छन्’, सिआइबी स्रोतले भन्यो। चिनियाँ गिरोहले भित्र्याएको सुनलाई ‘कचौरा’ र ‘अम्खोरा’ बनाएर भारत पुर्याउने गरेको पाइएको छ। सीमापारि सुन पुर्याउन खासगरी भारतीय महिलालाई ठमेलका होटेलमा राख्ने, पशुपतिनाथको दर्शन गराउने र स्वदेश फर्कंदा एक एकवटा सुनसहितका कचौरा र अम्खोरा दिएर पठाउने गरेको पाइएको छ। त्यस्ता अम्खोरा र कचौराको भित्रपट्टि सुन राखेर तामा र पित्तलको जलपले छोपेर तस्करले सीमा कटाउने गरेको अनुसन्धानबाट खुलेको छ। भारततिर सुन ओसार्न लगाइएका केही महिलालाई सिआइबीले पक्राउ गरेको भए पनि उनीहरूले मूल कारोबारी खुल्ने बयान दिएका छैनन्। ‘सिआइबीका एक अधिकारीले भने, ‘अनुसन्धान हुँदैछ, उनीहरू भारतीय हुन्।’

सुन तस्करीमा संलग्न चिनियाँहरूले भारतीय महिलालाई प्रेमिका बनाएर क्यासिनोमा लैजाने र ठमेलका होटलमा राख्ने गरेको तथ्य पनि सिआइबीले संकलन गरेको छ। प्रहरीले हङकङ र चीनका अधिकारीसँग पनि सुन तस्करी अनुसन्धानमा सघाउन अनुरोध गर्नुका साथै आवश्यक विवरण मागेको छ। हङकङस्थित केही नेपाली व्यवसायी र व्यक्तिले कार्यालय नै खोलेर सुन तस्करी गरिरहेको आशंका नेपाल प्रहरीको छ। राजस्व अनुसन्धान विभागले सुरुमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वाङ लिन, याओ पुचेङ र ली वेन सुङलाई यसअघि भारतीय राजस्व गुप्तचर निर्देशनालयले पनि पक्राउ गरेको थियो। सन् २०१९ को सेप्टेम्बरमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट याओ पुचेङ ६ किलो सुनसहित पक्राउ परेको सिआइबीले स्रोतले जनाएको छ।  

उनीसँग भारतीय नागरिकताको प्रमाणपत्र र अन्य दुईसँग नेपाली नागरिकता र पासपोर्ट भेटिएको छ। ली वेनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता र राहदानी लिएको स्रोतको दाबी छ। उनले छिरिङ लामाको नामबाट सन् २०२२ जनवरी १६ मा राहदानी विभागबाट राहदानी लिएको स्रोतले जनाएको छ। सिआइबी अनुसन्धानबाट चिनियाँ गिरोहले नेपाल ल्याएको तस्करीको सुन भारततिर पठाउने गरेको खुलेको छ। सुन गालेर घरमा उपयोग हुने विभिन्न सामानमा राखेर पठाएको पाइएको छ। ‘अम्खोरा र कचौरा बनाएर लैजाने गरेको पाइएको छ’, स्रोतले भन्यो। सुन तस्करीमा सिआइबीले अनुसन्धान गरिरहेको छ। यो अन्तरदेशीय अपराधसमेत भएकाले नेपाल प्रहरीको विशेष ब्युरोले पनि अनुसन्धान गरिरहेको छ।  

प्रकाशित: १० भाद्र २०८० ००:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App