७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुनसरीमा बाढीले मृत्यु हुनेको संख्या ११ पुग्यो

इटहरी- अधिक बर्षासँगै आएको बाढीले गर्दा सुनसरीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। इटहरी क्षेत्रबाट मात्र आठ जनाको मृत्यु भएको छ।

शुक्रबार राति बुढी खोला नदीमा आएको बाढीले इटहरी वडा नं. ४ का तीन बर्षीय बालक रुपेश राई, आठ बर्षीया बालिका रुपसनी राई, इटहरी वडा नं. ४ कै ४० बर्षीय ईश्वर सुनवार, ३० बर्षीया माला साह, उनकी १० बर्षीया छोरी सिठी र वडा नं. १० की ३५ बर्षीया अनिता धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

 बाढी बगाउँदा बेपत्ता भएकी इटहरी वडा नं. ४ कै आशादेवी राई मोरङको निमुवामा मृत फेला परेकी छन्। बाढीले गर्दा एक जना भिखारीको इटहरीकै तरहरामा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, आइतबार बाढीले बगाएर वेपत्ता भएका भोक्राहा वडा नं. ४ का २२ बर्षीय उपन मण्डलको सोमबार दिउँसो शव फेला परेको छ । बगाएर बेपत्ता भएका उनको शव नजिकैको बासघारीमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी  कार्यालय सुनसरीका डिएसपी प्रवीण धितालले बताए।

इनरुवा वडा नं. ९ का विश्वेश्वर खत्वेका १० बर्षीय छोरा कृष्णको पनि मृत्यु भएको छ। कृष्ण घर नजिकै पानी जमेको स्थानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। बाढीले बगाएर ल्याएकी एक महिलाको दुहवी नगर क्षेत्रमा शव फेला परेको छ। शव फेला परेकी महिला मंगोलियन समूदायको भएपनि पहिचान हुन सकेको छैन्।

प्रकाशित: ३० श्रावण २०७४ १३:०२ सोमबार

सुनसरीमा बाढीले मृत्यु हुनेको संख्या ११ पुग्यो