१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता

नवलपरासी –  नहरमा डुबेर शुक्रबार नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन्। 

नहरमा पानी धेरै भएका कारण दुवैजना बेपत्ता भएको प्रहरीको अनुमान छ। 

पहिला बालिका नहरमा डुबेको देखेपछि बालिकालाई उद्धार गर्न वृजलाल पुगेपछि दुवैजना बेपत्ता भएका हुन् । प्रहरी र स्थानीयवासीको सक्रियतामा दुवैजनाको खोजी कार्य जारी छ । 

सदरमुकाम परासीसहित केहीगाउँ डुबानमा 

लगातारको वर्षाका कारण नवलपरासी जिल्लाको सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रमा केही गाउँ डुबानमा परेका छन् । 

वर्षाका कारण परासीको रामखण्ड पुलसंगैको गाउँ र हाटबजार क्षेत्र डुबानमा छ । यसैगरी रावणखण्ड खोलाका कारण परासीमा रहेको नेपाली सेनाको ब्यारेकसहित आसपासका क्षेत्र पनि डुबानमा परेका छन्। 

लगातारको वर्षाले विभिन्न नदीमा बाढीको बहाव बढ्दै जाँदा ग्रामीण क्षेत्र आसपासका बस्ती जोखिममा परेका छन् । पाल्ही नन्दन र सरावल गाउँपालिकामा पनि बाढीको प्रबाह बढेको छ। 

पाल्ही नन्दन १ शंकरपुर, २ सुगौली, (हरपुर पुलमा आवागमन बन्द) सरावल गाउँपालिका वडा नं ३ कोठिलहाँ, ५ र ६ का खडौना, मधवलिया, नौडिहँवा, वडा नं ७ गणेशपुरलगायत गाउँका केही घरमा बाढी बढेको हो। 

अविरल वर्षाका कारण नारायणी नदीलगायत अन्य खोलाको सतह बढेकाले बाढीको खतरा देखिएको छ । बाढीको प्रभाव ग्रामीण क्षेत्रका केही गाउँमा देखिएपछि स्थानीयवासी नजिकैको विद्यालय/सङ्घ संस्था र अग्ला घरमा गएर बस्न बाध्य छन्। 

तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन स्थानीय प्रशासनद्वारा आग्रह गरिएको छ । गुठिसूर्यपुरामा बाढीले पाँचवटा कच्ची घर बगाएको छ । जिल्लाको ग्रामीण क्षेत्रका केही गाउ‘ डुबानमा परेपछि त्यहाँका विद्यालयमा शरण लिन बाध्य छन्। 

प्रकाशित: २० श्रावण २०७४ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App