१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रहेनन् दलित अभियन्ता बलदेव राम

मिथिलेश यादव/जितेन्द्रकुमार झा

सप्तरी- दलित तथा भूमिअधिकार आन्दोलनका अगुवा बलदेव रामको ६७ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

जातीय भेदभाव, छुवाछूत तथा  हरुवाचरुवा आन्दोलनका अभियन्ता राम पाँच दिनअघि हृदयाघात भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई आइतबार मात्र घर फर्केका थिए। मधुपट्टीस्थित घरमा आराम गरिरहेका रामको स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिहान ६ बजे निधन भएको छोरा गणेशले जानकारी दिए । सानैदेखि जुझारु स्वभावका उनले जीवनको अन्तिम घडीसम्म दलित तथा भूमिअधिकारका क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएका थिए ।

२००७ सालमा मधुपट्टी गाउँ कनकपुर टोलमा जन्मिएका रामलाई भूमि अधिकार आन्दोलनका अगुवा मानिन्छ । उनले सप्तरी र सिरहामा चमार (दलित) जातिलाई मात्र जबर्जस्ती सिनो (मरेको पशु) फाल्न लगाउने कार्यको विरोध गर्दै ‘सिनो बहिष्कार’ आन्दोलनमा अग्रणी भूमिका खेलेका थिए । त्यसअघि कथित उपल्लो जातका व्यक्तिले पशु मरिसकेपछि चमारलाई मात्र ‘सिनो’ फाल्न बाध्य पार्थे।

  उनको नेतृत्वमा पहिलोपटक २०५६ सालमा सप्तरी, मधुपट्टीका चमार, मुसहर, दुषाद जातिले विगतका परम्परा तोड्दै सिनो फाल्न अस्वीकार गरेपछि कथित उपल्लो जातका व्यक्ति उनीविरुद्घ खनिएका थिए।  विभिन्न तरिकाले असहयोग गरेर उच्च जातका व्यक्तिले उनको अभियानमा व्यवधान गर्न खोजे पनि उनीहरू सफल भएनन् । सिनो बहिष्कार आन्दोलनपछि उनलाई कथित उच्च जातका व्यक्तिले नाकाबन्दी गरी टोलबाट निस्कन दिएका थिएनन् ।

उनलाई इनार–पोखरीबाट पानी झिक्न बन्देज लगाई सार्वजनिक स्थान तथा स्थानीय बजारमा किनमेल गर्नसमेत रोक लगाएका थिए ।

मधुपट्टी, दौलतपुर, हर्दिया, पिप्रापश्चिमलगायत उत्तरी क्षेत्रका चमार संगठित भएर सिनो फाल्ने काम नगर्ने अडान लिएपछि परम्परा तोडिएको थियो ।

‘सिनो बहिष्कारपछि चमार जातिले स्वतन्त्रतापूर्वक नेपाली भएर बाँच्न पाएको अनुभूति गर्न पाएका छन्, जसको श्रेय बलदेव रामलाई जान्छ,’ आन्दोलनमा सरिक अभियन्ता अर्जुन थपलिया सम्झिन्छन् । २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि भूमिअधिकार आन्दोलनको नेतृत्व गरेका उनले गरिब किसानको ‘मोहियानी’ अधिकारबारे अभियान सुरु गरेका थिए ।

उनको अभियानले ल्याएको परिवर्तनका कारण चमार जातिले परम्परागत पेसा छाडेर रोजगारीका अवसर खोजेका छन् । ‘उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण फेरिएको छ, उनीहरूको राजनीतिक, आर्थिक र शैक्षिक हैसियत  माथि उठेको छ,’ थपलिया भन्छन्  ।

 आन्दोलनले सफलता पाएपछि कहिल्यै विद्यालय टेक्न नपाएका चमार समुदायका बालबालिका कलेज तहसम्म पढ्न सक्ने भएका छन् । सिनो फाल्ने परम्परागत पेसा छाडेर वैदेशिक रोजगारीमा गएका यहाँका युवाले पठाएको रकमले गाउँको रूप फेरिन थालेको छ ।   

बलदेवको आन्दोलनलाई नजिकबाट नियालेका विश्लेषक विजयप्रसाद मिश्र भन्छन्, ‘बलदेवले ५३ वर्षअघि भूमिअधिकार आन्दोलन सुरु गरेका थिए । उनलाई ‘सिनो बहिष्कार आन्दोलन’ ले चर्चित बनायो ।’

उनले आफ्नो समुदायभित्र पनि सुधारात्मक काम थालेका थिए । चमार जातिमा चलेको मरेको (सिनो) पशुको कलेजो र राम्रो मासु निकालेर खाने चलन उनले अन्त्य गरेका थिए ।

बलदेव राष्ट्रिय भूमिअधिकार मञ्च तथा हरुवा चरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष र उच्चस्तरीय भूमिसुधार आयोग २०६५ को सदस्य थिए ।

                युवा अवस्थादेखि  दलित मुक्तिका लागि लागिपरेका उनले  २०५६ को ज्याला वृद्धि आन्दोलन, निःशुल्क शिक्षा अभियान, २०५८ को सिनो बहिष्कार आन्दोलनको नेतृत्व लिएका थिए । उनले २०६० सालदेखि हरुवाचरुवाको अधिकार, हलिया मुक्ति, भूमिहीनका लागि व्यवस्थित बसोबासका लागि आवाज उठाउँदै आएका थिए ।

बुवा पृतम दास र आमा दुलारीदेवीका पहिलो सन्तान रामले कक्षा ७ सम्म

मात्र औपचारिक शिक्षा लिएका थिए ।  मधुपट्टीमै जनचेतना दलित संगम नामक गैरसरकारी संस्था स्थापना गरेर उनी विपन्न, दलितलगायत थिचोमिचोमा परेकाका पक्षमा उभिएका थिए। 

उनी राष्ट्रिय मानवअधिकार आयोगद्वारा प्रदान गरिएको ‘दयाराम परियार स्मृति मानव अधिकार सम्मान,’ ‘डा. भीमराव अम्बेडकर अन्तर्राष्ट्रिय सम्मान’, ‘वैद्य–प्रकाश मानवअधिकार पुरस्कार’ लगायत पुरस्कार र सम्मानबाट सम्मानित भएका थिए । उनका पत्नी, दुई छोरी र दुई छोरा छन् ।

 

 

प्रकाशित: १८ श्रावण २०७४ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App