२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

गणेश देवताको रुपमा यसरी गरियो हात्तीको अन्तिम संस्कार

तस्विर:सौजन्य मनोज ऐर /संरक्षण अधिकृत राष्ट्रिय निकुञ्ज।

हात्तीलाई गणेश भगवानको रुपमा मानिन्छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ७ कालापानीमा शौचालयको सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हात्तीलाई गणेशको रुपमा पूजाआजा गरेर हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरियो। ठूलो खाल्डो माथि मृतक हात्तीलाई राखेपछि हात्तीसार शाखा पिपरियाका निमित्त प्रमुख शिवदत्त चौधरीले सेतो कपडाले ओढाइदिए। फुल, रातो अबिर, अक्षता र पैसा चढाएर पूजाआजा गरे। धूप , बत्ती बालेर हात्तीको टाउको माथि घुमाएर मन्त्रो चरण गरे।

‘गणेश महाराज,यो संसारमा हजुरको दिन सकियो,  अहिले सम्म संसारमा घुम्नु, खानु भयो,अव यो संसारबाट बिदा भएर हजुरको स्वर्गमा वास होस’ दोरगा चौधरीले मन्त्रको रुपमा भने। हात्तीको अन्तिम संस्कारमा सहभागी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी, स्थानीय बासिन्दा लगायतकाले फुल, अबिर र रुपैया चढाएर अन्तिम बिदाइ गरे।‘हात्ती गणेश भगवान हुन्, हात्तीको मृत्यु भएपछि गणेश भगवानको रुपमा पूजाआजा गरेर अन्तिम संस्कार गर्ने हाम्रो परम्परा रहेको छ, त्यहि परम्परा अनुसार धार्मिक विधि अनुसार हात्तीको अन्तिम संस्कार गरेका हौँ’३२ वर्ष देखि हात्तीसार शाखामा कार्यरत चौधरीले भने,‘मैले पनि पुराना मान्छेहरूबाट यो अन्तिम संस्कार गर्ने विधि सिकेको हुँ।’ चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिनिकुन्जमा गरेर उनले ६ हात्तीको अन्तिम संस्कार गरेको  बताए। आफूले पालेका हात्तीको मृत्यु हुदाँ नुन र एक छाक खाना समेत खान छोड्ने गरेको उनले बताए। ‘आफूले पालेको हात्तीको मृत्यु हुदाँ हिन्द परम्परा अनुसार नुन र एक छाक बार्ने गरिन्छ, यस अघि मृत्यु भएको हात्तीको अन्तिम संस्कार गरेको दिन मैले नुन र एक छाक वारेको थिए’उनले बताए।

हात्तीको अन्तिम संस्कार गर्ने क्रममा खाल्डोमा ३ वोरा नुन पनि हालेको उनले बताए। ‘हात्तीको छाला बाक्लो हुन्छ। छिटो गलोस् भनेर नुन हाल्ने परम्परा छ ’उनले भने।  शुक्लाफाँटामा मृत्यु भएको जंगली पोथी हात्ती हो। करिब ३५ वर्षको वयस्क उमेरको पोथी हात्ती जैविक मार्ग नजिकै चर्न गएको क्रममा बुधवार राती सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको थियो। शुक्लाफाँटा नगरपालिका वडा नं ७ वातावरण मध्यवर्ती सामुदायिक बनको भवनको शौचालयको सेप्टी टयांकीमा खसेको ठाउँबाट निकालेर बनमै नजिकै छेउमा हात्तीको अन्तिम संस्कार गरिएको हो।

यसरी मृत्यु भएको थियो हात्तीको

भारतको पिलभित, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे, लालझाँडी र भारतको दुदुवानेसनल पार्क हात्तीको  परम्परागत जैविक मार्ग हो। शुक्mाफाँटाको अजुनी फाँटा, कालापानी हुँदै चुरेतर्फ जान लागेको हात्तीको बथान बाट छुट्टिएर अन्दाजी ३५ वर्षीय वयस्क पोथी हात्ती बाँस बस्न किनारा तिर आएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए। २०, २५ को संख्यामा हात्तीको बथान रहेको उनले बताए।

‘स्थानीयले हात्तीलाई रोक्न नै बाँस लगायतको वृक्षारोपण गरेका छन, धान पाकी नसकेकोले हात्ती बाँस खान त्यहाँ आईराख्छन’उनले भने,‘बाँस खान आएको हात्ती बुधवार राती २, ३ बजेतिर सामुदायिक बनको भवनको शौचालयको सेप्टी ट्याङ्की खसेर घाँटी अड्किएर मृत्यु भएछ।’ बिहीबार बिहान ६ बजेतिर सामुदायिक बनको हेरालुले हात्तीलाई मृत अवस्थामा देखेका थिए। ८ वर्ष पहिले बनेको शौचालयको सेप्टी ट्याङ्कीको स्ल्याप पातलो थियो। हात्तीका ४ वटा खुट्टा स्ल्याप माथि पर्ने बित्तिकै स्ल्याप भत्केर हात्ती सेप्टी ट्याङ्कीमा खस्यो। साँघुरो सेप्टी ट्याङ्कीमा हात्तीको घाँटी अड्कियो।‘खाल्डोको भुईँमा खुट्टा टेक्न पाए पनि हात्ती बाँच्न सक्थ्यो, खुट्टा हावामै थिए, अड्किदा घाँटीको नाली थिचिएर मृत्यु भयो’उनले भने। चोटपटक लाग्दा हात्ती जोर जोरले कराउने गर्छ।हात्तीले कराएको टाढा सम्म सुनिने भए पनि स्थानीय बासिन्दा कसैले पनि सुनेनन्।‘एक्कासि खसेर घाँटी अड्किँदा हात्तीले कराउन पनि नसकेको देखिन्छ’उनले भने।

हात्ती यसरी खसेर ज्यान गएको देशभरिमै पहिलो घटना भएको राष्ट्रिय निकुञ्जका प्रमुख अधिकृत किशोर मेहताले बताए। यो अचम्म लाग्दो घटना भएको उनको भनाई छ। ‘हात्तीमा खतराबाट जोगिने संवेदनशील स्वभाव हुन्छ’उनले भने,‘दल भएको जमिन, भत्किन सक्ने कमजोर ठाउँमा जाँदैन। पुलबाट पनि नगएर तल खोलाबाट हिँड्ने गर्छ ’उनले भने,‘सेप्टी ट्याङ्कीको कमजोर स्ल्याप माथि हात्ती कसरी गयो भन्ने कुरा नै अचम्म लाग्दो छ।’ सुँढले सुँघेर खतरा भएको र कमजोर संरचना हात्तीले थाहा पाएर त्यहाँ नजाने गरेको संरक्षण अधिकृत ऐर बताउँछन्। राष्ट्रिय निकुञ्ज भित्र रहेको काठका पुलमा पनि नहिँडेर हात्ती तल खोलामा गएर पार गर्ने गर्छन। 

प्रकाशित: १ भाद्र २०८० १३:०१ शुक्रबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका गणेश देवताको रुपमा यसरी गरियो हात्तीको अन्तिम संस्कार किशोर मेहता ‘गणेश महाराज