७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

हिलाम्य सडक पार गर्ने क्रममा भिरबाट खोलामा खसेको मोटरसाइकल । तस्बिर : भागिश्वर लिम्बु

तेह्रथुम – बसन्तपुर–म्याङलुङ सडक खण्डको च्याक्चेमा हिलाम्य भएको सडक  पार गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

हिलाम्य सडकपार गर्ने क्रममा लालीगुराँस नगरपालिका ७ च्याक्चेमा मोटरसाइकल भिरबाट २५ मिटर तल झर्दा मोटरसाइकलमा सवार २६ वर्षीय राम लिम्बुको मृत्यु भएको हो । वर्षाका कारण सडक हिलाम्य भए पछि सडकको छेउमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सडकबाट करिब २५ मिटर भिरमा खसेको मोटरसाइकलका चालक सुजन लिम्बु घाइते भएका छन् । मोटरसाइकलबाट लडेर घाइते भएका रामलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरुष ढकालले बताए । 
 
वर्षाका कारण बिग्रेकाे सडकमा अहिले यात्रा गर्न जोखिम रहेको सवारी चालकहरुले बताएका छन् । सडककै कारण साना तथा हलुका सवारीसाधनहरु अहिले सदरमुकाम आउन नसकेपछि यात्रुहरुलाई समस्या भएको छ । सडकको मर्मतका लागि कममात्र बजेट विनियोजन हुँदा सडक मर्मत गर्न समस्या हुने गरेको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ।

सडक हिलाम्य भएपछि अहिले एम्बुलेन्स समेत सञ्चालन गर्न समस्या हुने गरेको एम्बुलेन्स चालकहरूले बताएका छन् । सदरमुकाम जोड्ने सडकको अवस्था  बेहाल भएपछि जिल्लाका सरोकारवालाहरुले भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई भेटेर उक्त सडक मध्यपहाडी पुष्पलाल लोकमार्गलाई हस्तान्तण गर्न माग गरेका छन्। 

भेटघाटमा यसै आर्थिक वर्ष देखि नै मध्यपहाडी लोकमार्गले काम गर्ने सहमति भएको समेत नेकपा एमाले तेह्रथुमका अध्यक्ष लक्ष्मण तिवारीले जानकारी दिए । उनका अनुसार नेकपा एमालेका सचेतक भानुभक्त ढकाल, भवानी खापुङ र अन्य सारेकारवाला व्यक्तिहरूको टोलीले मन्त्रालयको ध्यानाकर्षण गरेको थियो ।

प्रकाशित: १२ श्रावण २०७४ १३:३१ बिहीबार

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा को मृत्यु घाइते