१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पेरिस सम्झौताबाट हात नझिक्न अमेरिकालाई आग्रह

काठमाडौ- स्वच्छ ऊर्जा नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जलवायु परिवर्तनसम्बन्धी ‘पेरिस सम्झौता’ बाट हात झिक्ने निर्णयको बिरोध गरेको छ । यसअघि दुईवटा संस्थाले निर्णयमा पुनर्विचार गर्न माग राख्दै अमेरिकी दूतावासमा ज्ञापनपत्र बुझाएका थिए।

वातावरण क्षेत्रमा क्रियाशील स्वच्छ उर्जा नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालजस्ता नगन्य मात्रामा प्रदूषण गरिरहेका विश्वका अति कम र कम विकसित ४८ मुलुकले जलवायु परिवर्तनबाट ठूलो क्षति व्यहोरिरहेको उल्लेख गर्दै निर्णयमा पुनर्विचार गर्न अमेरिकी प्रशासनलाई आग्रह गरेको हो ।

स्वच्छ उर्जा नेपालले नेपालको अधिकतम तापक्रम वार्षिक रूपमा ०.०५६ डिग्री सेल्सियसले बढिरहेको जनाएको छ । ‘यो दर विश्व तापक्रम वृद्घिदरको औसतभन्दा बढी हो’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा प्रदूषक मुलुकहरूको सूचीमा अग्रस्थानमा रहेको अमेरिकी सरकारको यस्तो निर्णयले हामीजस्ता मुलुकलाई निराश बनाएको छ । अल्पकालीन रूपमा गरिएका यस्ता निर्णयले जलवायु परिवर्तनबाट आक्रान्त समुदायलाई हतोत्साहित गरेको छ ।’

उर्जा नेपालले मानवीय क्रियाकलापका कारण विश्व तापक्रम बढिरहेको कुरा वैज्ञानिक रूपमा पुष्टि भइसकेको अवस्थामा सबैभन्दा धेरै प्रदूषण गर्दै आइरहेका मुलुकले उनीहरूले उत्सर्जन गरिरहेको हरित गृह ग्या“सको मात्रा घटाउन तत्काल पहल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘झन्डै दुई दशकको बहसपछि भएको पेरिस सम्झौतालाई कार्यान्वयन गरेर यस शताब्दीको अन्त्यसम्ममा विश्व तापक्रम वृद्घिदरलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्छ ।’

पेरिस  सम्झौतामा अहिलेसम्म १९५ मुलुकले हस्ताक्षर गरिसकेका छन् भने १४८ मुलुकले अनुमोदन गरेका छन् । ‘पेरिस सम्झौता जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई सम्बोधन गर्ने ठूलो उपलब्धि भएको हाम्रो विश्वास छ । ऐतिहासिक रूपमा धेरै प्रदूषण गरिरहेको मुलुकको राष्ट्रपतिले संसारले अनुमोदन गरेको सम्झौताबाट हात झिक्न गरेको निर्णय निराशाजनक र अल्पकालीन भएको हाम्रो ठम्याइ छ’, विज्ञप्तिमा भनिएको छ  ।

स्वच्छ उर्जा नेपालले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, राजनीतिज्ञ नागरिक समाजको पक्षमा रहेको जनाएको छ । ‘हामी सम्झौता कार्यान्वयनमा अग्रसर रहेका युरोपियन युनियन, फ्रान्स, जर्मनी, चीन, भारत, क्यानाडालगायतप्रति आभार व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे त्यहाँका सर्वसाधारणलाई सचेत गराउँदै आएका दुई संस्थाले पेरिस सम्झौताबाट बाहिरिने निर्णय फिर्ता लिन आग्रह गरेका थिए । हिमालयन क्लाइमेट इनिसिएटिभ र क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटीले पेरिस सम्झौताबाट बाहिरिने निर्णय फिर्ता लिन आग्रह गर्दै अघिल्लो सोमबार अमेरिकी दूतावासमा ज्ञापनपत्र बुझाएका थिए । यी दुई संस्थाले हिमाली क्षेत्रमा बसोबास गर्दै आएका नेपालीको तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो शुक्रबार बिहान १ बजे वासिङ्टनस्थित ह्वाइट हाउसको रोज गार्डेनमा उभिएर जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट हात झिक्ने घोषणा गरेका थिए । यसको विश्वव्यापी विरोध भइरहेको छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App