काठमाडौं- झापाकी संध्या भट्टराई काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य कलेजमा पत्रकारिता विषयको स्नातकोत्तर तह तेस्रो सेमेस्टरकी विद्यार्थी हुन्। उनी गत वर्ष आफनो गृह जिल्लामै स्नातकसम्मको पठनपाठन सकाएर मास्टर्स गर्न काठमाडौं आएकी थिइन्। आमाबुबा दुवै प्राथमिक स्कुलको शिक्षक भएकाले उनलाई उच्च शिक्षा हासिल गर्न निकै सहज भएको सुनाइन्। झापाकै शिवसताक्षी नगरपालिकामा रहेको जनआदर्श माविबाट एसएलसी पास हुनासाथ घरछेउमै प्लसटु भएकाले उच्च शिक्षा हासिल गर्न सहज बनेको उनले बताइन्। 'घर नजिकै प्लसटु र कलेज खुलेकाले मलाई स्नातकसम्म पढ्ने अवसर मिल्यो,' संध्याले अनुभव सुनाइन्, 'जसले गर्दा म मास्टर्स गर्न काठमाडौं आउन पाएँ।' उनले थपिन्, 'आमाबुबा पनि पढेलेखेका भएकाले सजिलै पठाउनुभयो।'
अभिभावकमा शिक्षाप्रति बढेको चेतना र गाउँघरमै प्लसटु खुल्न थालेपछि उच्च शिक्षामा छोरीको पहुँच बढ्दै गएको छ। राज्यले ल्याएको छात्रवृत्तिसम्बन्धी नीति र कोटा प्रणालीले पनि यो अवस्थालाई सघाएको छ।
उच्च शिक्षा हासिल गर्ने चेलीमध्ये संध्या एउटा उदाहरण मात्र हुन्। छोरालाई मात्र पढाउने प्रवृत्ति र छोरीले चिठी लेख्न जानेपछि शिक्षा पुग्यो भन्ने सोचबाट अभिभावकहरू माथि उठ्न थालेका छन्। आमाबुबामा शिक्षाप्रति बढेको चेतना र गाउँघरमै प्लसटु खुल्न थालेपछि उच्च शिक्षामा छोरीको पहुँच बढ्दै गएको छ।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजमा अध्ययनरत विद्यार्थीको तथ्यांक हेर्ने हो भने पाँच वर्षयता छोरीको संख्यामा वृद्धि हुँदै गएको छ। त्रिभुवन विश्वविद्यालयका योजना निर्देशनालय प्रमुख ऋदिशकुमार पोखरेलका अनुसार २०४८ सालपछि गाउँगाउँमा निजी प्लसटु र कलेज खुल्दै जानुले पनि उच्च शिक्षामा छोरीको पहुँच बढ्दै गएको बताए। विश्वविद्यालयको योजना निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार ०६८/०६९ मा निजी तथा आंगिक कलेजमा स्नातकदेखि विद्यावारिधीसम्म गरी कुल ३ लाख ७३ हजार ८ सय ४६ विद्यार्थी अध्ययनरत थिए। जसमध्ये ३७ प्रतिशत छात्रा थिए।
०६९/०७० मा त्रिभुवन विश्वविद्यालयका कलेजमा विद्यार्थी संख्या ह्वात्तै वृद्धि भएको पाइन्छ। यस समयमा कुल ६ लाख ४ हजार ४ सय ३७ विद्यार्थी अध्ययनरत रहेका थिए। जसमध्ये ४० प्रतिशत छात्रा थिए।
०७०/०७१ मा कुल ४ लाख ५ हजार ३ सय ४१ विद्यार्थीमध्ये ४० प्रतिशत छात्रा अध्ययनरत थिए भने ०७१/०७२ मा कुल विद्यार्थी संख्या २ लाख ९८ हजार ९ सय ९० विद्यार्थीमा सीमित भयो। तर, यस बखत पनि छात्राको संख्या भने ४० प्रतिशतबाट वृद्धि भएर ४४ प्रतिशत पुगेको थियो। योजना निर्देशनालय प्रमुख पोखरेलले विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिँदै जानुले पनि उच्च शिक्षामा छोरीको पहुँच बढेको जनाए।
०७२/०७३ मा भने त्रिभुवन विश्वविद्यालयका कलेजमा कुल ३ लाख ६० हजार २ सय ५४ विद्यार्थी अध्ययनरत थिए। जसमध्ये छोरीको संख्या ४७ प्रतिशत पुगेको छ। 'गाउँघरतिरका छोराहरू कमाउनका लागि विदेशिी,' प्रमुख पोखरेलले भने, 'घरमा छोरीबुहारी मात्र बाँकी रहे। घरदैलोमै कलेज खुलेपछि छोरीको पहुँच उच्च शिक्षातिर बढेको हो।'
राज्यले ल्याएको छात्रवृत्तिसम्बन्धी नीति र कोटा प्रणालीले समेत उच्च शिक्षामा छोरीको पहुँच वृद्धि हुँदै गएको त्रिविका मानविकी संकायका पूर्वडिन चिन्तामणि पोखरलेको दाबी छ। 'तीन वर्षअघि म डिन हँुदा गोर्खा र बागलुङका क्याम्पसमा पुगेको थिएँ। त्यहाँ पुग्दा कक्षाकोठामा ८० प्रतिशत छोरीबुहारी नै थिए ,' पूर्वडिन पोखरेलले अनुभव सुनाए, 'ती क्याम्पसलाई छोरीबुहारीको क्याम्पस नै भनिँदो रहेछ।'
सरकारकोे साक्षरता कार्यक्रमले आमा साक्षर भए। उनीहरूमा छोरीलाई पढाउनुपर्ने बुद्धि पलाउँदै गएको अनुभव शिक्षाविद् विद्यानाथ कोइरालाको छ। जनसंख्याको हिसाबले पनि महिलाकै संख्या पुरुषभन्दा बढी छ। 'छोराहरू कामको सिलसिलामा विदेशिनुपर्ने र छोरीबुहारी घर बस्दा कम्तीमा पढेर 'मास्टर्नी’ बनेर कमाउन सक्ने सोच आमाबुबामा पलाएको मैले पाएको छु,' शिक्षाविद् कोइराला भन्छन्, 'सकरात्मक सामाजिक परिवर्तनले सासु–बुहारीको सम्बन्ध पनि सकारात्मक हुँदै गएको छ। यसले पनि सासुले बुहारीलाई गरिखाने बनाउन पढाउन थालेका छन्।' उच्च शिक्षामा पनि शिक्षा संकायतर्फ छोरीको संख्या बढी भएको उनले बताए।
अर्का शिक्षाविद् महेशनाथ पराजुलीले उच्च शिक्षामा छोरीको संख्या वृद्धि हुनुको मुख्य कारण नै गाउँघरमा शिक्षाको पहुँचलाई नै मान्छन्। उनले विश्वविद्यालय अनुदान आयोगले समेत ग्रामीण क्षेत्रका कलेजको स्तरवृद्धि गर्न आर्थिक सहयोग गरिरहेको बताउँदै यसले पनि उच्च शिक्षामा छोरीबुहारीको पहुँच बढाउन सकारात्मक भूमिका खेलेको जिकिर गरे। उनले भने, 'घर नजिकै कलेज खुल्न थालेपछि छोरी घरमा बस्नुभन्दा केही सिक्न भनी कलेज जाने गरेको मैले पाएको छु। त्यही निरन्तर हँुदै जाँदा स्नातकदेखि विद्यावारिधीमा समेत पहुँच बढ्दैछ।'
प्रकाशित: २९ जेष्ठ २०७४ ०२:०५ सोमबार