९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सगरमाथाको उचाइमा हिउँको गहिराइ कति

सगरमाथा चुचुरोमा हिउँको गहिराइ कति होला भन्ने विषय सधैं चासोमा पर्दै आएको छ। यसअघिका अध्ययन नतिजा असंगत र अनिश्चित रहँदा विश्वको सबैभन्दा दुर्गम र उच्चतम स्थानको हिउँको गहिराइ यकिन हुन सकेको थिएन। हालै गरिएको एक वैज्ञानिक अध्ययनले सो उल्झनको समाधान निकालेको छ। चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी धारमा गरेको मापनले सगरमाथाको चुचुरोमा सरदरमा साढे ९ मिटर गहिरो हिउँ रहेको देखाएको छ। यसअघि विगत पाँच दशकमा भएका मापनले यो गहिराइ ०.९ देखि ३.५ मिटर रहेको मानिएको थियो।  

सन् १९७५ मा चिनियाँ आरोहण दलले काठको चुच्चे लट्ठी (उडेन–स्टेक) को सहायताले गरेको मापनले हिउँको गहिराइ ०.९२ मिटर रहेको देखाएको थियो। यसैगरी सन् १९९२ मा इटाली र चीनको संयुक्त दलले स्टिल स्टेक हिउँमा घुसाएर गरिएको मापनले हिउँको गहिराइ २.५२ मिटर रहेको देखाएको थियो। तर हिउँको घनत्व, लटठीको लम्बाइ तथा खराब मौसममा व्यक्तिगत कारणले उचाइ मापनमा कठिनाइ रहँदै आएको थियो। 

सन् २००५ मा रेडियो इको साउन्डिङ प्रविधिअन्तर्गत चिनियाँ पर्वतारोहण तथा सर्वेक्षण दलले राडार प्रयोगमार्फत गरेको मापनमा यो गहिराइ सरदरमा ३.५ मिटर रहेको देखिएको थियो। सन् २०१९ र २०२० मा नेपाली तथा चिनियाँ टोलीले राडार उपकरणकै सहायतामा हिउँको गहिराइ मापन गरे पनि नतिजा सार्वजनिक नगरिएको अनुसन्धानकर्ताको भनाइ छ।

‘सगरमाथा टाकुराको हिउँमा भइरहेको गतिशील परिवर्तनबारे अझै पनि वैज्ञानिक बुझाइ अपर्याप्त रहेको र सगरमाथाको चट्टानको सही उचाइ यकिन हुनु आवश्यक छ।’

गत वर्ष (सन् २०२२) अप्रिल र मे महिनामा जमिनभित्रसम्म जान सक्ने राडार प्रविधि (जिपिआर) का आधारमा गरिएको यो मापनले सगरमाथाको चुचुरोमा यसअघि ठानिएको भन्दा धेरै गहिराइसम्म हिउँ रहेको देखिएको हो।  

युरोपियन जिओसाइन्स युनियन र द क्रायोस्फेयरको अनलाइन प्रकाशन कपर्निकस र वैज्ञानिक जर्नल नेचरमा हालै प्रकाशित अध्ययन नतिजाले यस्तो देखाएको हो। चीन तथा नेपालले संयुक्त रूपमा सन् २०२० मा सगरमाथाको उचाइ ८८४८.८६ मिटर घोषणा गरेका थिए तर टाकुरामा हिउँको गहिराइ ठ्याक्कै कति छ भनेर यकिन नहुँदा चट्टानको सही उचाइ ठम्याउन कठिनाइ हुने गरेको छ।  

पृथ्वीको यो सर्वाधिक उचाइमा भिन्न ऋतृ र वर्षहरूमा हिउँको गहिराइ फरकफरक हुने गरेको छ। हिउँको तहमा हुने फरक, प्रकाशको परावर्तन (रिफ्राक्सन अफ लाइट) तथा गुरुत्वाकर्षण विचलन (ग्राभिटी डेभिएसन) लगायत कारणले सगरमाथाको वास्तविक उचाइ कति हो भन्ने विषय विवादित रहेको विज्ञ मान्छन्। पछिल्लो अध्ययनले सगरमाथाको उचाइसमेत परिवर्तन हुन सक्ने देखिएको छ। यो अध्ययनअन्तर्गत चिनियाँ एकेडेमी अफ साइन्सअन्तर्गतको इन्स्टिच्युट अफ तिबेटन प्लेटो रिसर्चका वैज्ञानिकहरूले ७ हजार मिटरभन्दा माथि उचाइमा चट्टानको सतह र हिउँको गहिराइको फरक पत्ता लगाउन विभिन्न २६ बिन्दुहरूमा मापन गरेका थिए। यी मापनले सरदरमा साढे ९ मिटर हिउँको गहिराइ रहेको देखाएको हो। नतिजामा १.२ मिटर तलमाथि हुन सक्ने उनीहरूको ठम्याइ छ।  

‘हाम्रो मापनले आश्चर्यजनक हिसाबले हिउँको सरदर गहिराइ ९.५ मिटर रहेको देखाएको छ। यो पहिले अनुमान गरेभन्दा धेरै गहिरो रहेको देखिएको छ,’ इन्स्टिच्युट अफ तिबेटन प्लेटो रिसर्चका प्राध्यापक याङ वेले क्रायोस्फेयरको वेबसाइटमा राखिएको एक भिडियोमा भनेका छन्। उनले हिउँको घनत्व, मापन बिन्दुहरूबीचको दुरी तथा उच्चतम उचाइजस्ता कारणले यसअघिका अध्ययनमा समस्या रहेको बताएका छन्। ‘राडारको सहयोगमा विभिन्न मापन बिन्दुमा दोहोर्याएर गहिराइ पत्ता लगाउने क्रममा देखिएको एकरूपताले अध्ययनको विश्वसनीयतालाई प्रमाणित गर्छ। यसले सगरमाथाको समथर उचाइमा रहेका नयाँ तथ्यहरूसमेत उजागर गरेको छ,’ अध्ययन प्रतिवेदनमा वैज्ञानिकले भनेका छन्। विशेषगरी पृथ्वीको उच्चतम भूभागमा रहेको हिउँ र हिमनदीमा मानवजन्य कारणले सिर्जित जलवायु परिवर्तनको प्रभावका विषयमा वैज्ञानिकहरूको चासो रहँदै आएको छ।  

अनुसन्धानकर्ताले फरकफरक मौसममा गरिने मापन नतिजाका आधारमा जलवायु परिवर्तनले हिमालयमा कसरी प्रभाव पारिरहेको छ भन्न्ने विषयलाई प्रस्ट पार्ने बताएका छन्। उनीहरूले हिउँको भित्री तहसम्म ड्रिलिङ र जमिनभित्रसम्म छिर्न सक्ने राडार मापनले हिउँको तहमा भइरहेको परिवर्तनलार्ई थप आकलन गर्न सकिने बताएका छन्। ‘पछिल्लो दशकमा हिउँको तह बाक्लो अथवा पातलो हुँदैछ भन्ने विषयमा प्रमाणको अभाव छ। सगरमाथामा चुचुरोमा दोहोर्याएर गरिने राडार मापनले जलवायु परिवर्तनले यो क्षेत्रमा पारेको प्रभावलाई आकलन गर्न सहज हुनेछ,’अनुसन्धनकर्ताले भनेका छन्।

नेपाली वैज्ञानिक के भन्छन्?

अध्ययन नतिजाको वैज्ञानिक महत्व अत्यन्त धेरै रहेको र अध्ययनको नतिजाप्रति विश्वभर व्यापक चासो देखिएको प्रतिक्रिया यसमा सहभागी नरहेका नेपाली वैज्ञानिकले दिएका छन्। सगरमाथा टाकुराको हिउँमा भइरहेको गतिशील परिवर्तनबारे अझै पनि वैज्ञानिक बुझाइ अपर्याप्त रहेको र सगरमाथाको चट्टानको सही उचाइ यकिन हुनु आवश्यक रहेको थाइल्यान्डको एसियन इन्सिच्युट अफ टेक्नोलोजीका ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन विषयका प्राध्यापक डा. शोभाकर ढकाल बताउँछन्।  

‘यो नतिजाले जलवायु परिवर्तनले सगरमाथाको हिउँमा पारेको प्रभाव बुझ्न सहयोग गर्नेछ। यस प्रकारका प्रभाव बुझ्न भविष्यमा थप मापन र तुलनात्मक अध्ययन हुनु आवश्यक छ,’ ढकाल भन्छन्। 

प्रकाशित: २ श्रावण २०८० ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App