गुर्भाकोट नगरपालिका–७ गोकुलपुरकी रोशनी शर्मा उच्च शिक्षा अध्ययनको तयारीमा छिन्। माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेकी उनी थप अध्ययनका लागि सुर्खेत बाहिर जाने तयारीमा छिन्। उच्च शिक्षा अध्ययनका लागि नागरिकता आवश्यक थियो।
नागरिकताका लागि उनी सदरमुकाम वीरेन्द्रनगर जाने तयारीमा थिइन। आँगनमै इलाका प्रशासन कार्यालय स्थापना हुँदै गरेको जानकारी पाएपछि उनी सदरमुकाम गइनन्। शुक्रवार उनको नेपाली नागरिकताको प्रमाणपत्र तयार भयो।
शनिबार उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काको हातबाट पहिलो नागरिकता पाइन्। ‘नागरिकता बनाउन वीरेन्द्रनगर जाने तयारीमा थिएँ, आफ्नै ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना हुन लागेको थाहा पाएपछि केही दिन रोकिएँ,’ उपप्रधानमन्त्रीको हातबाट नागरिकता प्राप्त गरेपछि रोशनीले भनिन्, ‘अव म पछाडिका कोही पनि नागरिकता लिनका लागि सदरमुकाम जानुपर्ने छैन्।’
गुर्भाकोटकी प्रेरणा शर्माले दुई वर्षअघि बनाएको नागरिकताको प्रमाणपत्र हराएको थियो। प्रतिलिपि निकाल्न सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता उनीसँगै थियो। प्रेरणाले पनि इलाका प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि प्राप्त गरिन्। ‘सदरमुकाम जाँदा समयसँगै पैसा पनि खर्च हुन्थ्यो,’ उनले भनिन्, ‘आफ्नै ठाउँमा थोरै समयमै नागरिकताको प्रतिलिपि पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु।’
गुर्भाकोट नगरपालिका–७ को गोकुलपुरमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिकाका नागरिकहरुलाई प्रशासनिक सेवा लिनका लागि सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
पूर्वी सुर्खेतमा तीन वटा नगरपालिकासहित दुई वटा गाउँपालिका छन्। हरेक प्रशासनिक कामका लागि यहाँका नागरिकहरू सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता थियो। इलाका प्रशासन कार्यालय मेहलकुनामा स्थापना भएसँगै राहदानी र राष्ट्रिय परिचयपत्रबाहेकका सेवा लिनका लागि यस क्षेत्रका नागरिकहरू सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले जनताले घर–आँगनबाटै सेवा प्रवाह गर्ने उद्देश्यले मेहलकुनामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको बताए। ‘वडा हुँदै पालिकाबाट सिफारिस लिएर नागरिकता लिन सदरमुकाम जाँदा यहाँका नागरिकहरूको समयसँगै पैसा पनि अनावश्यक खर्च भइरहेको हामीले देखेका छौँ,’ उनले भने, ‘अव पूर्वी सुर्खेतका जनतालाई प्रशासनिक कामका लागि सदरमुकाम धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ।
उनले पूर्वी सुर्खेतका लेकवेशी, भेरीगंगा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पुर्याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापीलगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरू स्थापना गरिएको बताए। उनले मेहलकुनामा केही दिनभित्रै इलाका प्रहरी कार्यालय पनि औपचारिक रुपमा स्थापना हुने बताए। ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरू एकै ठाउँमा स्थापना गरेर पूर्वी सुर्खेतका नागरिकहरुलाई आफ्नै ठाउँबाट सेवा पाउन भन्ने चाहना थियो,’ उपप्रधानमन्त्री खड्काले भने, ‘त्यो चाहना अहिले पूरा हुँदै गएको छ।’
उपप्रधानमन्त्री खड्काले नवीन तरिकाले तीव्र बेगमा जनताको विकास निर्माणको चाहना र महत्वाकांक्षालाई सम्बोधन गर्ने गरेर काम भइरहेको बताए। उनले भेरीगंगा उपत्यका नमुनाको आधुनिक शहर निर्माणको प्रक्रियामा रहेको, राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडकलगायतका कामहरू गर्ने गरेर भेरी कोरिडोर सिँचाइ विकास योजनालगायतका ठुला विकास योजनाहरू कार्यान्वयन भइरहेको बताए।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले नागरिकहरुलाई सहज प्रशासनिक सेवाका लागि सुर्खेतका पूर्वी र पश्चिम केन्द्रहरूमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको बताए। ‘पश्चिम सुर्खेतको बावियाचौरबाट यसअघिनै सेवा प्रवाह भइरहेको थियो,’ उनले भने, ‘अव पूर्वी सुर्खेतको गुर्भाकोटबाट पनि प्रशासनिक सेवाहरू उपलब्ध गराउँछौँ।’ इलाका प्रशासन कार्यालय मेहलकुनाबाट चार वटा पालिकाहरू लाभान्वित हुने बताए।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलगायतले बोलेका थिए।
प्रकाशित: ३० असार २०८० १०:५४ शनिबार