क्रान्तिका ती दिन र शान्तिका यी दिन प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालका लागि फरक थिए। सशस्त्र युद्धका नायक मानिएका दाहालसँगको ५४ वर्ष लामो सहयात्रामा ३८ वर्ष भूमिगत रूपमै बिताएकी सीताले १६ वर्ष मात्रै शान्तिको सास लिन पाइन्। शान्तिकालमा पनि रोगले थलिएर दुई वर्ष त बिस्तरामै बिताइन्। पछिल्ला दुई वर्ष उनका लागि निकै कष्टप्रद रहे। ती कष्टप्रद दिन बुधबार बिहान अन्तिम सास फेरुन्जेलसम्म रहिरहे।
तीन छोरी र एक छोराको हेरचाह गर्दैगर्दा दाहालले जनयुद्धको तयारी गरेपछि सीताले उनलाई रोक्न सकिनन्। त्यतिबेला अर्धभूमिगत रूपमा दाहालको क्रान्तिकारी सोच, विचार र आन्दोलनलाई उनले साथ दिएकी थिइन्। पारिवारिक जिम्मेवारी आफूले लिएर दाहाललाई भूमिगत भएर पार्टी काममा खटिन उनले सहयोग गरिन्। २०३८ सालदेखि भूमिगत भएका दाहाल पञ्चायतकालभर खुला जीवनमा देखिएनन्। पञ्चायती व्यवस्था ढलेको करिब ६ वर्षपछि दाहालकै नेतृत्वमा मुलुकमा ‘जनयुद्ध’ सुरु भयो। त्यसपछि सीता पनि भूमिगत भइन्। दाहालको नेतृत्वमा तत्कालीन नेकपा माओवादीले युद्धको तयारी गरेपछि सुरक्षाका लागि पनि सीताले भूमिगत हुने निर्णय लिइन्।
दाहालको आश्रयस्थल व्यवस्थापन र माओवादी हेडक्वार्टरको सुरक्षाका लागि पनि सीता भूमिगत हुनुपर्ने अवस्था आयो। जनयुद्ध सुरुताका काठमाडौंमा रहेका दाहालदम्पत्तिले त्यसपछि कहिले रोल्पा, रुकुम त कहिले काठमाडौं, ललितपुर तथा भारतका विभिन्न सहरमा आश्रय लिनुप¥यो। यसक्रममा सीताले पनि निकै आरोहअवरोह पार गरिन्। जतिबेलासम्म जनयुद्ध कायम रह्यो, त्यतिबेलासम्म सीता पनि भूमिगत भइन्, विभिन्न मोर्चामा दाहाललाई साथ दिइरहिन्। जनयुद्धका बेला पारिवारिक दायित्वसमेत सम्हालेर उनले दाहाललाई हरेक मोर्चामा साथ दिएकी थिइन्।
माओवादी शान्तिप्रक्रियामा आएपछि २०६४ सालमा मुलुकमा पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभामा माओवादी सबैभन्दा ठुलो दल बन्यो। संविधानसभामा सबैभन्दा ठुलो दलको हैसियतले माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भए। दाहाल प्रधानमन्त्री भएपछि पनि उनको सचिवालय व्यवस्थापन र पारिवारिक कामलाई सीताले एकसाथ अघि बढाइन्। उनले आफूलाई प्रधानमन्त्री पत्नीभन्दा पनि सामान्य गृहिणीकै रूपमा प्रस्तुत गरिन्। उनले घरमा आउने नेताहरूसँग कहिल्यै पनि आफूलाई यो वा त्यो हुनुपर्ने धारणा राखिनन्। बरु घरमा आउने सबैलाई खाना खाएर, चिया खाएर जान आग्रह गर्थिन्। उनको निवासमा पुग्ने धेरैजसो चिया, खाना लिएरै बाहिरिन्थे।
जनयुद्धका बेला पारिवारिक दायित्वसमेत सम्हालेर सीताले पुष्पकमल दाहाललाई हरेक मोर्चामा साथ दिइन्। दाहाल पहिलोपटक प्रधानमन्त्री भएपछि सचिवालय व्यवस्थापन र पारिवारिक कामलाई सीताले एकसाथ अघि बढाइन्।
निधनपूर्वसम्म सीता नेकपा माओवादी केन्द्रको सल्लाहकार थिइन्। दुई वर्षदेखि बिस्तरामा परेकी उनलाई पार्टीले सम्मानस्वरूप सल्लाहकारमा राखेको थियो।
तर उनी पार्टीको सल्लाहकार मात्र होइन, प्रधानमन्त्री दाहालको राजनीतिक सारथी पनि थिइन्। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेश्वर दाहालका अनुसार सीताका लागि जनयुद्धअघि र जनयुद्धका क्रममा पारिवारिक संर्घषका कथा कम कष्टपूर्ण थिएनन्। जनयुद्धकालमा उनले दाहाललाई राजनीतिक सल्लाहमात्र दिइनन्, उनको सुरक्षा कबजका रूपमा पनि काम गरिन्। महेश्वरका अनुसार भारतको नयाँ दिल्लीमा रहँदा पनि सीताले कन्याकुमारीदेखि सिमला, आसामदेखि मुम्बईसम्म दाहालको सुरक्षाका लागि निकै मेहनत गरेकी थिइन्।
जनयुद्धका क्रममा अन्य ठूला नेताहरूको विषयमा अनेक किसिमका ‘स्क्याण्डल’ आए पनि दाहालका बारेमा केही नसुनिनुमा उनै सीताको भूमिका अग्रणी रहेको थियो। जनयुद्धकालमा भारतमा रहेका बेला दाहाललाई प्रहरीको धरपकडबाट पनि सँगै रहेकी सीताले जोगाएकी थिइन्। दाहाल र सीता रेलमा दिल्लीबाट गोरखपुर आउँदै गर्दा प्रहरीले खानतलासी कडाइ गरिरहेको थियो। उनीहरू रेलको एउटा सिटमा सुतेर यात्रा गरिरहेका थिए। त्यसबेला विशुद्ध गृहिणीको स्वरूपमा देखिएकी सीताले दाहाललाई सुतिरहेको बहाना बनाएर जोगाएकी थिइन्। गृहिणी महिलाजस्तो भएर यात्रा गर्दा आफूहरूलाई जोगाउन सकिने विश्वास सीतामा थियो। उनी दाहालसँग रेल यात्रामा त्यसरी नै हिँड्ने गर्थिन्। २०६० को आसपास सुरेश आलेमगर, मातृका यादव पक्राउ परे तर दाहाल भने सीताकै कारण पक्राउ पर्नबाट जोगिएका थिए।
पारिवारिक दुःखले सधैँ पिरोलिरह्यो
जेठी छोरी ज्ञानुलाई क्सान्सर लाग्यो। दाहाल भूमिगत भएका बेला सुखदुःखमा साथी बनेकी ज्ञानुलाई क्यान्सर लागेपछि सीता तनावमा परिन्। उनले छोरीको उपचारका लागि सबै उपाय खोजिन्, देशविदेश लगिन् तर निको भएन। २०७० चैत १३ मा ज्ञानुको ४० वर्षकै उमेरमा मृत्यु भयो । सीता थप तनावमा परिन्। त्यसपछि उनमा पार्किन्सन्स जस्तो रोग देखियो। त्यसको चार वर्षपछि सीता पुत्र वियोगमा परिन्। छोरा प्रकाशले घरपरिवारको अतिरिक्त बाबुको सचिवालय पनि हेर्ने गरेका थिए। दाहाल पहिलोपटक प्रधानमन्त्री भएका बेला प्रकाश उनको सचिवालयमै थिए। तर बिना मगरसँग बिहे गरेपछि प्रकाशले २०७० माघ ११ मा दाहालको सचिवालय नबस्ने घोषणा गरेका थिए। २०७० चैत १३ गते दिदी ज्ञानुको मृत्यु भएपछि आमाको हेरचाह पनि प्रकाशले गर्न थाले। सीताको हेरचाहका लागि एक सहयोगी र नर्स पनि घरमा सधैं हुन्थे।
२०७४ मंसिर ३ गते लाजिम्पाटस्थित निवासमा सुतिरहेका बेला छोरा प्रकाशको हृदयाघातले मृत्यु भयो। त्यसपछि झन् मानसिक तनाबमा परेकी उनी रोगले थलिइन्। दाहाल विभिन्न धार्मिक मठमन्दिरमा पूजापाठमा पनि सरिक भए। जेठी छोरी र छोरा गुमाएकी सीतामा प्रोग्रेसिभ सुपर न्युक्लियर पाल्सी (पिएसपी) रोग देखियो। दाहालले सीतालाई स्वास्थ्य परीक्षण र उपचारका लागि २०७५ असार ४ गते सिंगापुर लगे। सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरिए पनि रोग निको हुन सकेन। २०७५ चैत ३ गते दाहालले सीतालाई अमेरिका लगे। त्यहाँ जोन्स हप्किन्स अस्पतालमा सीताको उपचार गरियो। त्यहाँको उपचारबाट पनि रोग निको भएन। यसैक्रममा २०७६ पुस ४ गत भारतको हरिद्वार लगेर बाबा रामदेवबाट पनि सीताको उपचार कोसिस गरियो। एक वर्षपछि फेरि उपचारका लागि सीतालाई २०७७ पुस २० गते भारतको मुम्बई लगियो। सीताको रोग निको हुने अपेक्षामा दाहालले उनलाई म्याग्दीको तातोपानी कुण्डमा लगेर पनि स्नान गराएका थिए। तर रोग निको हुन सकेन। अन्नततः सीताले बुधबार बिहान काठमाडौंस्थित नर्भिक अस्पतालमा प्राण त्याग गरिन्।
प्रकाशित: २८ असार २०८० ००:५४ बिहीबार