१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पति दीर्घायुको पर्व मनाउँदै मैथिल नारी

वटसावित्री मान्दै रौतहट सदरमुकाम गौरका मैथिल महिला।  तस्बिर : मदन ठाकुर

रौतहट- मिथिलाञ्चलको संस्कृतिमा प्रकृति र पौराणिक पात्र पूजनको परम्परामध्ये सौभाग्य, पति दीघायु र सन्तान सुख दिने 'वटसावित्री' पर्व बिहीबार धूमधामका साथ मैथिल महिलाले मनाएका छन्। यो पर्वमा मूलतः मिथिलाञ्चलका ब्राह्मण, कायस्थ जातिका महिलाले वरको रूखलाई पूजा गर्ने गर्छन्। वरको रूखसम्म नपुग्ने महिलाले लिपपोत गरिएको आँगनमा वरको हाँगा रोपी पूजा गर्ने गरेका छन्। यो पूजामा विवाहित महिलाको अनिवार्य सहभागिता रहन्छ। पर्वका दिन महिलाले वरको रूख या रोपेको हाँगामा जनैको धागो बेरेर मौसमी फलफुलसहित पूजा गर्ने पद्धति रहेको गौर नगरपालिका– ११ सिसवा की गनितादेवी झाले बताइन्। दीर्घायु र अमरत्वको प्रतीक वटवृक्ष ज्ञान र निर्वाणसँग पनि सम्बन्धित छ। त्यसैले यो पर्वमा पतिको दीर्घायुको कामना गरिन्छ।

विवाहित मैथिल महिलाले समूहमा वर पूजा गर्ने यो व्रत निराहार भएर बस्ने गर्छन्। यो पर्वको बेलामा वटवृक्षमा बाँसको पंखा, लिच्ची, आँप, चना, केराउका साथै केही घरेलु मिष्टान्नलाई प्रसादका रूपमा चढाएर पर्व मान्ने गरेको रौतहट सदरमुकाम गौर नगारपालिका– ८ विद्यापति नगरका ममतादेवी झाले बताइन्। उनका अनुसार पतिको दीर्घायुका लागि यो पर्व मान्ने गरिन्छ । यो पर्वमा धानको लावा र गाईको दुध पनि चढाई नागदेवताको पूजासमेत गरेको उनले थपिन्।

वटसावित्री  व्रतमा वट र सावित्री दुवैको विशिष्ट महत्व छ। वटमा ब्रह्मा, विष्णु र महेश तीनै देउताको वास हुने र वटवृक्षमुनि पूजाअर्चना गर्नुसँगै व्रतकथा सुन्नाले सबैखाले मनोकामना पूरा हुने विश्वास छ। यमराजले हरण गरिसकेका आफ्ना पतिलाई सति सावित्रीले दृढ संकल्पले फर्काएर ल्याएको सन्दर्भसँग जोडिएको यो पर्व मैथिल महिलाले पतिको लामो आयु होस् भन्ने आस्था र विश्वासका साथ मान्ने गरेको पंडित श्रीनारायण झाले बताए।

वरिष्ठ पत्रकार चन्द्रकिशोरका अनुसार वर र पिपलजस्ता वृक्ष मानव जीवनका लागि उपयोगी रहेकाले प्रकृति संरक्षण गर्ने सामाजिक सन्देशको एउटा महत्वपूर्ण पाटोको रूपमा यो पर्व रहेको बताए। उनले अस्तित्व र जीवनका लागि मैथिल महिलाको नेतृत्वदायी अभियानको प्रतीक पनि यो पर्व भएको औंल्याए। गर्मीयाममा सघन छाँयादार रूख वरको संरक्षण गर्ने र तराई–मधेशको गर्मी छल्न बाँसको नयाँ पंखा घरमा राख्ने र दान गर्नुका साथै तराईमा सर्पको बढ्दो बिगबिगीप्रति चेतना फैलाउने मानवीय सन्देश र अवसर पनि वटसावित्री पर्व रहेको वरिष्ठ पत्रकार झाको भनाइ छ। यो पर्वलाई प्रकृति संरक्षण र मौसमसंगै जीवनशैली बदल्ने सिकाइको रूपमा पनि लिइन्छ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०५:११ शुक्रबार

पति दीर्घायुको पर्व मनाउँदै मैथिल नारी