६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सरदर तापमान १७ डिग्री सेन्टिग्रेड नाघ्यो

विश्वमा दैनिक तापक्रमको रेकर्ड राख्न थालिएयता गत सोमबार सबैभन्दा तातो दिन बन्यो। पृथ्वीको सतहको सरदर तापक्रम सोमबार पहिलोपटक १७.०१ डिग्री सेल्सियस पुग्यो। यसअघि सन् २०१६ को अगस्टमा सर्वाधिक १६.९ डिग्री सेल्सियस रेकर्ड बनेको थियो।

अमेरिकाको नेसनल सेन्टर फर इन्भारोमेन्ट पे्रडिक्सनका अनुसार भूमध्यरेखा वरपरको पूर्वी तथा मध्य प्रशान्त महासागरको सतहमा पानीको तापक्रम बढ्दा विकास हुने ‘इलनिनो’ नामक मौसमी प्रणाली र मानवीय क्रियाकलापका कारण भइरहेको कार्बन डाइअक्साइडको अत्यधिक उत्सर्जन पृथ्वीको तापमान बढाउने प्रमुख कारक हुन्।

जमिन र समुद्र गरी पृथ्वीको विभिन्न भागको अद्यावधिक तापक्रम संकलन गरेर वैज्ञानिकले पृथ्वीको सतहको सरदर तापक्रम मापन गर्छन्। भूउपग्रहीय अनुगमन (सेटेलाइट मोनिटरिङ) मार्फत सन् १९७९ देखि तापमान मापन गर्न थालिएको हो भने यान्त्रिक हिसाबले सतहको तापमान १९औं शताब्दीको अन्तदेखि रेकर्ड गर्न थालिएको हो।

विश्वमा दैनिक तापक्रमको रेकर्ड राख्न थालिएयता गत सोमबार सबैभन्दा तातो दिन बन्यो।

 पछिल्ला सात वर्षयता पहिलोपटक विकास भएको पूर्वी तथा मध्य प्रशान्त क्षेत्रमा इलनिनो मौसमी प्रणालीको विश्वको तापमान अझ बढ्ने विश्व मौसम संगठनले मंगलबार जनाएको छ। एक वक्तव्य जारी गर्दै संगठनका महासचिव पेटरी तलासले इलनिनोले तापक्रमको यसअघिको रेकर्ड तोड्न सक्ने बताउँदैे विश्वका सरकारलाई तयार रहन भनेका छन्।

पछिल्ला सात वर्षयता पहिलोपटक विकास भएको पूर्वी तथा मध्य प्रशान्त क्षेत्रमा इलनिनो मौसमी प्रणालीको विश्वको तापमान अझ बढ्ने विश्व मौसम संगठनले मंगलबार जनाएको छ।

‘इलनिनोको घोषणासँगै संगठनले यसबाट मानव स्वास्थ्य, पारिस्थितिकीय प्रणाली र अर्थतन्त्रमा पार्ने प्रभावलाई सम्बोधन गर्न विश्वका सबै देशका सरकारहरूले आवश्यक तयारी गर्नुपर्ने देखिएको छ। ‘पूर्वसूचना प्रणालीको विकास तथा विषम मौसमका घटनाले सिर्जना गर्ने विपद्को तयारीका कार्यले जीवन र जीवनयापनलाई सुरक्षित पार्न सकिन्छ,’ महासचिव तलासले भनेका छन्।

स्थानीय तथा क्षेत्रीय प्रभाव

यस वर्ष मनसुन सुरु हुनुअघि नेपाल र भारतमा प्रचण्ड गर्मी भएको थियो भने तातो हावाका कारण भारतमा कैयौंको मृत्यु भएको थियो। जल तथा मौसम विभागका तथ्यांकअनुसार यस वर्ष नेपालको नवलपुरको दुम्कौलीको तापक्रम सर्वाधिक ४३.८ डिग्री सेल्सियस पुगेको थियो।

 यसैगरी पछिल्ला वर्ष चीनमा पनि तापमान वृद्धिले रेकर्ड कायम गरेको छ भने तातो हावाको प्रकोप बढ्दो क्रममा छ। गत साता मात्र चीनमा ३५ डिग्री सेन्टिग्रेडभन्दा बढीको तातो हावाको लहर चलेको थियो।

यस वर्ष मनसुन सुरु हुनुअघि नेपाल र भारतमा प्रचण्ड गर्मी भएको थियो भने तातो हावाका कारण भारतमा कैयौंको मृत्यु भएको थियो।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आइपिसिसी) ले गत मार्चमा सार्वजनिक गरेको एक प्रतिवेदनले निकट भविष्यमै पृथ्वीको तापमान १.५ डिग्री सेन्टिग्रेडले बढ्ने देखाएको छ।

प्रतिवेदनले तापमानको बढ्दो क्रमलाई रोक्न सन् २०१९ को स्तरभन्दा सन् २०३५ सम्म हरितगृह ग्यासको उत्सर्जनमा ६० प्रतिशतले कटौती गर्नुपर्ने औंल्याएको छ।

गत साता इसिमोडले सार्वजनिक गरेको ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’ शीर्षकको अध्ययन प्रतिवेदनले विश्वको तापमान बढ्ने वर्तमान दर कायम रहिरहे यो शताब्दीको अन्त्यसम्ममा हिन्दकुश क्षेत्रका हिमनदीमा ८० प्रतिशत हिउँ घट्ने चेतावनी दिएको थियो। विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, हिउँ र हिउँ जमेको जमिनमा ‘अभूतपूर्व र धेरै हदसम्म अपरिवर्तनीय’ हिसाबले परिवर्तन आएको देखिएको सो अध्ययनको जिकिर थियो।

नेपाललाई सन्देश

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेल जलवायुजन्य जोखिम बढ्दै जाँदा यसको पूर्वतयारी तथा विज्ञानसम्मत हिसाबले भौतिक पूर्वाधारहरूको निर्माण गर्न आवश्यक रहने बताउँछिन्।

‘सडक निर्माण, जलविद्युत् लगायत अन्य भौतिक निर्माणका गतिविधि गर्दा जलवायु परिवर्तनको सम्भावित असरलाई अनिवार्य हिसाबमा आत्मसात् गर्नुपर्ने देखिएको छ,’ कँडेल भन्छिन्।

अन्तर्राष्ट्रिय स्तरमा भएका एकपछि अर्काे वैज्ञानिक अध्ययनहरूले पृथ्वीको तापमान बढेको देखाएको चर्चा गर्दै विभागका महानिर्देशक कमलराम जोशी नेपालमा पनि यस विषयमा अध्ययन हुनु जरुरी रहेको बताउँछन्।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेल जलवायुजन्य जोखिम बढ्दै जाँदा यसको पूर्वतयारी तथा विज्ञानसम्मत हिसाबले भौतिक पूर्वाधारहरूको निर्माण गर्न आवश्यक रहने बताउँछिन्।

नेपालमा हरेक वर्ष अधिकतम ०.०५६ डिग्री सेन्टिग्रेडले तापमान बढ्ने र उच्च हिमालय क्षेत्रमा यो ०.०८६ डिग्री रहने यसअघिको आकलन छ। ‘पछिल्ला अन्तर्राष्ट्रिय अध्ययनले इंगित गरेको हिसाबले नेपालमा पनि सरदर तापक्रममा परेको प्रभावलाई अद्यावधिक आकलन गर्न स्थलगत अनुगमन र अध्ययनहरू आवश्यक देखिएको छ,’ जोशी भन्छन्।

वन विभागका पूर्वमहानिर्देशक देवेश त्रिपाठी तापमान बढ्दै जाँदा रूख बिरुवा तथा जीवजन्तु माथिल्लो क्षेत्रमा सर्दैै गएको बताउँछन्। कतिपय जीवजन्तु र रूखबिरुवाका लागि वासस्थानको विस्तारले अवसर सिर्जना गरे पनि अन्यलाई नयाँ स्थानमा अनुकूलन हुन कठिनाइ हुने उनको तर्क छ। ‘यो विषययमा थप वैज्ञानिक अध्ययन र अनुसन्धान आवश्यक छ,’ हालसालै सेवा निवृत्त भएका त्रिपाठीको सुझाव छ।

प्रकाशित: २१ असार २०८० ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App