महेश्वर आचार्य
काठमाडौं – तीन दिनपछि आफ्नो ६५ औं जन्मदिन मनाउने तयारीमा रहेका पुरातŒवविद् शुक्रसागर श्रेष्ठको निधन भएको छ । मधुमेह, क्रोनिक ग्यास्ट्रिक र लिभरका रोगी श्रेष्ठको पेटमा केही साताअघि आन्तरिक रक्तस्राव भएपछि उनको स्वास्थ्यमा समस्या थपिएको थियो । अन्तिम अवस्थामा लिभर सिरोसिसले पीडित श्रेष्ठको गत शुक्रबार निधन भएको हो ।
पुरातŒवविद् श्रेष्ठ रामग्राम उत्खनन्, मुस्ताङ कालीगण्डकी क्षेत्रको मानव गुफा अन्वेषण, धादिङ सल्यानटारको अध्ययन, कीर्तिपुर सहरको अन्वेषण तथा काठमाडौं उपत्यकाका कीर्तिपुरसहितका सहरको कला तथा वास्तुकला ज्ञाता थिए । मुस्ताङ गुफाको उत्खनन्मा श्रेष्ठ जर्मन टोलीसँग सहभागी भएका थिए भने रामग्रामको उत्खनन् उनकै नेतृत्वमा भएको थियो । बुद्धको मावली कहाँ हो भन्ने दोधार हुँदा श्रेष्ठले रामग्राम नै बुद्धको मावली भएको प्रमाणित गरेका थिए । ‘नवलपरासीको दक्षिण झरही नदीको किनारमा रहेको थुम्कोलाई पुरातŒवविद् बाबुकृष्ण रिजालले बुद्धको मावली रामग्राम भएको बताए पनि त्यसलाई प्रमाणित गर्ने काम शुक्रसागर श्रेष्ठले नै गरेका हुन्,’ श्रेष्ठका सहपाठीसमेत रहेका प्राध्यापक जगमान गुरुङले बताए । नेपालमा उनकै दाँजोका अर्का विज्ञ पाउन मुस्किल भएको प्राध्यापक गुरुङको भनाइ छ । ‘संस्कृत, प्राचीन लिपि, कला र वास्तुकलाको क्षेत्रमा उहाँजस्तो हस्ती जन्मन गाह्रो छ,’ गुरुङले भने ।
उनीसँगै उत्खनन्लगायतका काम गरेका त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका सहप्राध्यापक मदनकुमार रिमालले श्रेष्ठ ‘पक्का पुरातत्वविद्’ भएको बताए । ‘आफूले खोज गरेका विषयमा गम्भीर अध्ययन गर्ने र कुरोको चुरोसम्म पुग्न चाहिने धैर्य र मिहिनेत गर्ने प्रवृत्ति उनमा थियो । उनले सतही कुरा र काम कहिल्यै गरेनन्,’ रिमालले सम्झिए, ‘एक्ला वृहस्पतीझैं भीडभाड र सतही चियोचर्चाबाट टाढा रहने श्रेष्ठजस्तो अध्ययनशील अन्वेषक अस्ताउनुले उत्खनन् र अन्वेषणको क्षेत्रमा अपूरणीय क्षति भएको छ ।’
त्रिवि संस्कृति विभागका पूर्व प्रमुख एवं प्राध्यापक मुकुन्दराज अर्यालले आफूले ७४ वर्षको उमेरसम्ममा अतिकम देखेका इमान्दार र निष्ठावान् मान्छेमध्ये श्रेष्ठ पर्ने बताए । ‘केही साताका लागि पुरातत्व विभागको कामु निर्देशक हुँदा पनि सरकारी सेवाको गाडी प्रयोग नगरी साइकलमै कीर्तिपुरदेखि घरअफिस गर्थे,’ उनले भने । नबिराउने, नडराउने स्वभावका श्रेष्ठले पुरातत्व विभागको निर्देशक हुने बेला स्वेच्छिक अवकास लिइदिए । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले श्रेष्ठले ६० सालतिर स्वेच्छिक अवकाश लिएपछि पनि स्वतन्त्र अन्वेषण र अध्ययनलाई जारी राखेको बताए । ‘पुरातत्व विभागमा लिपि विषेशज्ञका रूपमा चिनिनुहुन्थ्यो । अवकासपछि पनि विभागका लागि धेरै काम गर्नुभएको थियो,’ दाहालले भने, ‘उहाँ ब्रह्मी, लिच्छवीकालीन र मल्लकालीन लिपिका ज्ञाता हुनुहुन्थ्यो ।’ उत्खनन्का काममा फिल्डैमा उत्रेर ज्यामीझैं घोटिने उहाँको बानी सहकर्मीहरू स्मरण गर्छन् ।
‘रिल फोटोको जमानामा आफूले खिचेको फोटो आफैं बनाउने उहाँ राम्रो फोटोग्राफर र डेभलपर पनि हुनुहुन्थ्यो,’ फोटोग्राफर दीपेन्द्र वज्राचार्यले सम्झिए, ‘२०७२ को भूकम्पपछि हनुमानढोकाका पुराताŒिवक सूची निर्माणको काम सकिएपछि पनि प्राचीन धातु र काष्ठकलाको अध्ययनमा हुनुहुन्थ्यो ।’ श्रेष्ठका ‘स्ट्रिट स्राइन अफ कीर्तिपुर’, ‘जरुँहिटी’, ‘स्याक्रेड ग्रुभ अफ लुम्बिनी’ लगायतका पुस्तक प्रकाशित छन् । पुरातŒव विषयको जर्नल प्राचीन नेपालका सम्पादक रहेका श्रेष्ठका अनुसन्धानमूलक लेख प्रकाशित छन् ।
‘बिहान उठेर झोला बोकेर गएका मान्छे कहाँको मन्दिर र मूर्तिको खोजमा लाग्ने हो पत्तो हुँदैनथ्यो,’ उनकी श्रीमती शान्ति श्रेष्ठले भनिन् । ‘सुगर रोग लागेपछि खानपिनमा धेरै नै सचेत हुनुहुन्थ्यो । आफैं पाउरोटी, कुकिज बनाउने गर्नुहुन्थ्यो’, गला अवरुद्ध पार्दै शान्तिले भनिन्, ‘सोमबार जन्मदिन मनाएपछि सन्चो हुन्छ कि भन्नुहुन्थ्यो तर त्यो दिन देख्नै पाउनु भएन ।’
प्रकाशित: ७ जेष्ठ २०७४ ०२:३६ आइतबार