४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिकामै डायलासिस सेन्टर स्थापना गरिने

फाइल तस्बिर

तनहुँको आँबुखैरेनी गाउँपालिकाले डायलासिस सेन्टर स्थापना गर्ने भएको छ। मिर्गौलापीडितका लागि डायलासिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलासिस सेन्टर स्थापना गर्न लागेको हो।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा डायलासिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौलापीडित रहेकाले उनीहरुलाई सहजरुपमा सेवा दिन अस्पतालमा डायलासिस सेन्टर स्थापना गरिने अध्यक्ष शुक्र चुमानले बताए।

उनले भने, 'यहाँका मिर्गौलाका बिरामी भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलासिस गर्नुपर्ने बाध्यता छ, तैपनि भनेको बेला समय नपाउँदा उहाँहरुलाई निकै दुःख भइरहेको छ, त्यस्तो अवस्थाको अन्त्यका लागि आगामी आवमा आँबुखैरेनीमा नै यो सेवा दिनेछौँ।'

हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर सञ्चालनमा छ। मिर्गौला पीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ। दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेका छन्।

उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई नयाँ उपकरण पठाएको छ। प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई उपकरण आइपुगे पनि जडान हुन बाँकी छ।

चार उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए। उनका अनुसार केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० जना रहेका छन्। अझै ३० जना मिर्गौलापीडित डायलासिसका लागि पालो पर्खिदै छन्।

गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने चुमानले बताए। उनले भने, 'ठूला शल्यक्रिया गर्नुपरेमा महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ, केही शल्यक्रिया भने नियमितरुपमा अस्पतालमै हुनेछन्।'

गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ। अध्यक्ष चुमानले महिलाको प्रजनन स्वास्थ्य, पाठेघरको क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको बताए। गाउँपालिका भित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरे। 

प्रकाशित: १८ असार २०८० ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App