६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विदेशी औषधि सरकारले नै बेच्ने

काठमाडौं – मिर्गौला, क्यान्सरजस्ता कडा रोगको उपचारमा प्रयोग गरिने विदेशी औषधि सरकारले नै बिक्री गर्ने भएको सरकारले नै बिक्री गर्ने भएको छ । यस्तो औषधि व्यापारीले २२ सय प्रतिशतसम्म महंगोमा बेच्ने गरेको पाएपछि सरकारले आफैं बेच्ने निर्णय गरेको हो । यस्ता औषधि विदेशबाट किनेर यहाँ उपलब्ध गराउन सरकारले छुट्टै निकाय बनाउने भएको छ।

नेपालमा नबन्ने तर नभइनहुने औषधिमा बिरामीको बाध्यताको फाइदा उठाएर आयातकर्ताले सयौं गुणा बढी मूल्य लिनेगरेको भेटेपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नयाँ समिति बनाइसकेको छ । स्वास्थ्यमन्त्री थापाले गोप्य रुपमा थुपै आयातकर्ता, उत्पादक र विक्रेताबाट दर्जनौं औषधिको नेपाल ल्याइपुर्याउँदाको मूल्य (लेन्डिङ प्राइस) र बिक्रीमूल्य संकलन गरेका थियो । यस तथ्यका आधारमा मन्त्रालयले विभिन्न समितिसमेत बनाएर काम सुरु गरेको थियो । 

'कडा रोगका औषधि व्यापारीले २२ सय प्रतिशतसम्म महंगोमा बेच्ने गरेको पाएपछि सरकारले आफैं बेच्ने निर्णय गरेको हो'

स्वास्थ्यमन्त्री थापाका अनुसार औषधिको मूल्य निर्धारण गरी र सुपथ रुपमा सरकारले खरिदबिक्री सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहनेगरी उच्चस्तरीय समिति गठन गरेको हो । ‘अध्ययनले व्यक्तिले स्वास्थ्यमा गर्ने खर्चको ५६ प्रतिशत औषधिमा खर्च हुने देखाएको छ,’ मन्त्री थापाले भने, ‘औषधिको मूल्यमात्रै घटाउन सक्ने हो भने स्वास्थ्यमा हुने धेरै खर्च कम गर्न सकिनेरहेछ,’ । 

थापाले आफ्नो अनुभव र अध्ययनले औषधिको मूल्य औसतमा कम्तीमा ५० प्रतिशत घटाउन सकिने बताए । ‘औषधिजस्तो संवेदनशील कुरा सबैभन्दा गुणस्तरीय र सबैभन्दा सस्तोमा सरकारले किनेर अस्पताल र फार्मेसीमार्फत दिनुपर्छ,’ उनले भने, ‘सरकारले संविधानप्रदत्त जनताको हक कार्यान्वयनका लागि यो काम गर्नुपर्छ ।’

मन्त्रालयले यस्तो प्रस्ताव गर्नुअघि औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा सुझाव समिति बनाएर अध्ययन गरेको थियो । सुझाव समितिले आत्मनिर्भर हुन सकिने औषधिमा स्वदेशी उद्योगकै उत्पादन प्रयोग गर्न समेत सुझाव दिएको हो । 

प्रकाशित: ३१ वैशाख २०७४ ०१:१० आइतबार

विदेशी औषधि सरकारले नै बेच्ने