१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अरुको कामको म जिम्मा लिन्नः पौडेल

दुई महिनाअघि जेल मुक्त भएका रमेश बाहुन भनिने सुजन पौडेलले आफ्नो नाम लिएर जो कोहीले गर्ने राम्रो नराम्रो कामको भागिदार उ आफैं हुनुपर्ने बताएका छन्। मंगलबार नागरिक दैनिकसँग कुराकानी गदै उनले जेलमुक्त भएपछि आफू समाजसेवामा लागेको र पहिला जेजस्तो अवस्था भए पनि अब पुराना कुराहरू बिर्सेर नयाँ जीवनमा फर्केकाले आफ्नो नाम जोडेर अरूले गर्ने कामको जिम्मेवार आफू नहुने बताएका हुन्। केन्द्रीय कारागारभित्र आफ्नो सञ्जालमार्फत कैदीबन्दी सरुवा र चौकीदार नियुक्तिमा आफ्नो रुची नभएको र सरुवा गर्ने काम जेल प्रशासनकै भएकाले आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरेका छन्।

‘१० वर्ष लामो सजाय भोगेर बाहिर आएको छु, म अब सार्वजनिक जीवन विताउन चाहन्छु मलाई पुरानो कामतिर फर्केर हेर्नु छैन, अब सामाजिक काममा लाग्नुछ,’ उनले भने। लामो समय कैद सजाय भुक्तान गरेर उनी वैशाख ८ गते केन्द्रीय कारागार सुन्धाराबाट मुक्त भएका थिए। उनी जेलमुक्त भए पनि जेलमा निकट भएर बसेका कैदीहरूलाई चौकीदार, नाइके, भाइ नाइके नियुक्ति गर्न कैदीबन्दीमार्फत नै दबाब दिएको समाचार प्रकाशित भएपछि आफूले त्यस्तो काम नगरेको र गर्न पनि नचाहेको तथा आफ्नो नाममा कसैले दुरूपयोग गरेको हुनसक्ने बताए।

‘कतै जेल प्रशासनका कर्मचारीहरूले मेरो नाम दुरूपयोग गरेका हुन कि ? उनीहरूलाई बाहिर विभिन्न आरोप लागेको छ भन्ने सुनियो, त्यसकारण उनीहरूले जेलको आन्तरिक प्रशासनसँग मलाई जोडेपछि पार पाइन्छ भनेर मलाई फोन गरेको कुरा जोडेका हहुन कि भन्ने शंका छ,’ उनले जेल प्रशासनतिर आशंका गरे। पौडेलको नाम लिएर जेलमा रहेका नहकुल तामाङ, शेरबहादुर बस्नेत र विष्णु पाण्डेलाई चौकीदार, नाइके, भाइ नाइके बनाउनुपर्ने माग जेलभित्रैबाट उठाउन थालिएपछि जेल प्रशासनले उनीहरूलाई भद्र बन्दी गृहमा सरुवा गरेको थियो। जेलबाट आफूलाई फोन आउने गरेको भने उनले स्वीकार गरेका छन्। ‘लामो समय जेल बसे त्यहाँ मेरा साथीहरू बने उनीहरूले कहिलेकाही फोन गर्नु स्वाभाविक हो,’ पौडेलले भने।

पौडेलको नाम लिएर जेलमा रहेका तामाङ मानववेचविखन तथा ओसार पसारको मुद्दामा सजाय भोगिरहेका छन्। त्यस्तै बस्नेत लागुपादर्थ कारोबार र पाण्डे अपहरण तथा शरीर बन्धकको मुद्दामा सजाय काटिरहेका छन्। स्रोतका अनुसार उनीहरूले जेलभित्र रहेका कैदी बन्दीहरूको मुद्दा मिलाइदिने, रमेश बाहुन मार्फत विभिन्न नेताहरूलाई भनेर जेल सजाय कम गरिदिने, छुटाइदिने भन्दै पैसा उठाएको आरोपमा उनीहरूलाई जेल प्रशासनले काठमाडौंबाहिर सरुवा गर्न खोजे पनि नसकेपछि भद्र बन्दीगृहमा सरुवा गरेको थियो। पौडेलले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै अबदेखि सामाजिक जीवन बाँच्न चाहेको बताएका छन्।

प्रकाशित: १४ असार २०८० ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App