४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आन्तरिक आम्दानी बढाउँदै चौतारा नगर

‘करको दर घटाउने, दायरा’ बढाउने नीति लिएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले आन्तरिक स्रोत बढाउन थालेको छ। स्थानीय तह कति बलियो छ भन्ने एउटा महत्त्वपूर्ण सूचक आन्तरिक आय पनि हो। यही तथ्यलाई ध्यानमा राखेर कृष्णप्रसाद सापकोटा नेतृत्वमा स्थानीय सरकार गठन भएपछि चौताराले करको दर घटाउँदै दायरा फराकिलो बनाउने नीति अघि सारेको थियो। नीतिअनुसार आन्तरिक आय वृद्धिमा यो नगरले सफलता हाँसिल गर्न थालेको तथ्यांकले देखाएको छ।

दहत्तर बहत्तर अर्थात् ढुंगा, गिटी, बालुवा रोडा निकासी कर चौताराको आन्तरिक आम्दानीको प्रमुख स्रोत हो। यो शीर्षकमा नगरले सबैभन्दा बढी आय गर्दै आएको छ। त्यसपछि वडाले विभिन्न सिफारिसमा लिने दस्तुर, सम्पत्ति कर, घर बहाल कर, मालपोत कर, व्यवसाय दर्ता, वन तथा खनिजजन्य पदार्थको निकासी कर,  घर नक्सा पास लगायत शीर्षकबाट नगरले आम्दानी प्राप्त गर्दै आएको छ।

समृद्ध नगर नगरवासीकै सहभागितामा बनाउन सम्भव छ भन्ने मान्यताले करको दर घटाइ दायरा बढाउने नीति लिएको नगरप्रमुख कृष्णप्रसाद सापकोटा बताउँछन्। ‘नगरवासीले नगरलाई थोरै–थोरै कर तिरेर प्राप्त हुने आन्तरिक स्रोत उनीहरुकै लागि खर्च गर्ने हो,’ उनले भने।  

चालु वर्ष (०७९/८०) मा नगरले २३ करोड ८० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ। चालू वर्षको वैशाखसम्म नगरले १८ करोड ६९ लाख ५६ हजार १ सय ९१ रुपैयाँ आम्दानी प्राप्त गरेको छ। लक्ष्यको झण्डै ७९ प्रतिशत आम्दानी १० महिनामै संकलन गर्न नगर सफल भएको छ। जेठ र असारको थप राजस्व जम्मा हुन बाँकी रहेकाले नगरले सहजै लक्ष्यअनुसार आन्तरिक आम्दानी गर्ने देखिन्छ।

नगरभित्र पर्ने सुनकोसी र इन्द्रावती नदीबाट उत्पादित रोढा, बालुवा निकासी करबाट चौताराले ठूलो मात्रामा राजस्व उठाउँदै आएको छ। यी नदीमा दुई वटा ठेक्कामार्फत निकासी करबापत नगरले आम्दानी गर्छ। चालु वर्षको १० महिनामा नगरले दहत्तर, बहत्तर (रोढा, बालुवा निकासी) करबाट १७ करोड २५ लाख रुपैयाँ आम्दानी गरिसकेको छ। यो शीर्षकमा नगरले २१ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ। संकलित दहत्तरबहत्त कर लक्ष्यको ८० प्रतिशत हो। असार अन्तिमसम्म यो लक्ष्य पनि सहजै पूरा हुने देखिन्छ।

दहत्तरबहत्तर करपछि वडा कार्यालयहरुले ठूलो मात्रमा आम्दानी गरेर नगरलाई बुझाउँछन्। विभिन्न सिफारिस दस्तुर, सम्पत्ति कर, मालपोत कर, विभिन्न शुल्यबाट वडाले आम्दानी गर्छ। नगरका १४ वटा वडाले चालु वर्षको वैशाखसम्म १ करोड १३ लाख ५१ हजार ८ सय २९ रुपैयाँ आम्दानी गरिसकेको नगरपालिकाको तथ्यांकले देखाएको छ। योबाहेक नगर आफैँले पनि आन्तरिक आम्दानी गर्छ। घर नक्सा पास, व्यवसाय दस्तुर लगायत शीर्षकमा नगरले शुल्क लिँदै आएको छ।

चालु वर्ष नसकिँदै नगर स्वयम्ले ३१ लाख ४ हजार ३ सय ६२ रुपैयाँ आम्दानी गरेको छ। नगरले चालु वर्षमा नगर र वडाहरुबाट २ करोड ३० लाख रुपैयाँ आम्दानी लिने लक्ष्य राखेको छ। वैशाखसम्म नगरले १ करोड ४४ लाख ५६ हजार १ सय ९१ रुपैयाँ आम्दानी गरिसकेको छ। जेठ र असारको राजस्व थप हुँदा नगर आन्तरिक कोषमा लक्ष्यअनुसार आम्दानी संकलन हुन सक्छ। आन्तरिक आय बढाउन नगरले चालु वर्ष राजस्व लक्ष्य वृद्धि गरेको देखिन्छ।

गत वर्ष (०७८/७९ मा) नगरले २४ करोड ४ लाख २१ हजार ७ सय २२ रुपैयाँ आम्दानी गरेको थियो। चालु वर्षमा दहत्तरबहत्तरको ठेक्का कममा लागेकाले यसबाट हुने आम्दानी भने गत वर्षको भन्दा केही घट्ने देखिन्छ। तर नगर र वडाले गर्ने आम्दानी बढेले कुल आन्तरिक आय बढ्न सक्ने सम्भावना छ।

नगरपालिकाको अनुसार गत वर्ष दहत्तरबहत्तरबाट २२ करोड ३३ लाख ७ हजार ७ सय ८०  रुपैयाँ प्राप्त भएको थियो। त्यस्तै वडाहरुले १ करोड ४२ लाख ७५ हजार २ सय र नगरले २७ लाख ७५ हजार ७ सय २ रुपैयाँ आम्दानी गरेका थिए। आर्थिक वर्ष नबित्दै नगर (आन्तरिक) ले गत वर्षभन्दा ४ लाख रुपैयाँ बढी आम्दानी गरिसकेको छ।  

दहत्तरबहत्तर, पञ्जिकरण शुल्क, नागरिकता सिफारिस, भूमि कर, जग्गा तिरो, सम्पत्ति कर, विभिन्न दस्तुर, प्रशासनिक सेवा शुल्क, कृषि तथा व्यावसायिक वस्तुको कर, घर जग्गा बहाल (भाडा) कर, नक्सा पास दस्तुर, न्यायिक दस्तुर, परीक्षा शुल्क, वन रोयल्टी, व्यवसाय दर्ता, सवारी साधन दर्ता कर, पटके सवारी कर लगायत राजस्व शीर्षक नगरको आम्दानीका प्रमुख स्रोत हुन्।

आगामी आर्थिक वर्षमा करको दायरा अझ फराकिलो बनाउने नगरको तयारी छ । सम्भावित स्रोतहरू पहिचान गर्ने काममा नगर जुटिसकेको छ। ‘आगामी वर्ष आन्तरिक आय अझ बढाउन मिहिनेत गरिरहेका छौँ,’ नगरप्रमुख सापकोटाको भनाइ छ। नगरले वर्षेनी खर्च गर्ने कुल बजेटको १९ प्रतिशत हिस्सा आन्तरिक आम्दानीले ओगट्दै आएको तथ्यांकले देखाएको छ। 

प्रकाशित: ४ असार २०८० १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App