१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सरल 'सरला दिदी'

धरान- 'हेेलो, सरला दिदी बोल्नुभएको हो?'

ल्याण्डलाइन फोनबाट जवाफ आयो, 'हजुर बोल्दैछु, तपाईं नि?'

'म नागरिक दैनिकको रोहित भाइ'

'अँ बाबु, भन्नुस् न?'

'आज तपाईं घरमै रहनुहुन्छ कि कतै जानुहुन्छ?'

'२ बजेपछि एउटा मिटिङमा जानु छ, बाबु।'

 

घडी हेरें, १० बजिसकेको थियो। आजै (२०७३ चैत ३१ गते) नभेटे काम अधुरै हुन्छ।

'तपाईंसँग भेटेर कुरा गर्नु छ, ११ बजेतिर घरमै आउछु है दिदी।'

'हुन्छ बाबु'– जवाफ आयो।


सरल विचार, मिलनसार व्यवहार र परोपकारी भावनाले सरला कायस्थ सबैकी प्रिय छिन्।

धरान–२, रत्न रोडकी ७८ वर्षीय सरला कायस्थलाई जतिबेला पनि घरमा भेट्न सकिँदैन। यसको कारण हो– उनको सक्रिय सामाजिक जीवन। सात दशकको उत्तरार्द्धमा रहेकी कायस्थको समाजसेवाप्रतिको लगाव युवा भन्दा कम छैन।

सरल विचार, मधुर वचन, मिलनसार व्यवहार र परोपकारी भावनाले उनी सबैको प्रिय छिन्। समाजसेवामा समर्पित कायस्थको जीवन नामजस्तै सरल छ। उनलाई सबैले 'सरला दिदी' भनेर सम्बोधन गर्छन्। 'दिदी' शब्दभित्र अगाध श्रद्धा, सम्मान, प्रेम र प्रेरणा (ऊर्जा) भरिएको छ। उनले केही पाउने लालसाले समाजसेवा गरिनन्, जे गरिन निःस्वार्थ भावले गरिन्। महिलाको निम्ति उनको जीवन एउटा छुट्टै पाठशाला हो।

रेडक्रसमा कुशल नेतृत्व

कायस्थले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकी छिन्। उनी आवद्ध संघसंस्था र कामको लामो फेहरिस्त (सूची) बन्छ। नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाकी संस्थापक अध्यक्ष रहेकी कायस्तले कार्यकालमा महŒवपूर्ण योगदान पुर्‍याएकी छिन्।

हरेक क्षेत्रमा पुरुषको दबदबा रहेका बेला पनि उनी २०२८ मा रेडक्रसको संस्थापक अध्यक्ष बनिन्। त्यसयता निरन्तर २१ वर्ष (२०४९ साल)सम्म रेडक्रस सुुनसरी शाखाको नेतृत्व सम्हालिन्। त्यसपछि पनि २०६८ सालसम्म रेडक्रसको केन्द्रीय सदस्य र उपाध्यक्ष भएर सेवा गरिन्। रेडक्रसमा महिला विकास समितिको सभापति पनि भइन्।

उनकै नेतृत्वमा धरानमा रेडक्रस सुनसरीको भवन निर्माण भयो। काठमाडौंबाहिर एम्बुलेन्स सेवा सञ्चालन गर्ने पनि सुनसरी पहिलो बन्यो। उनकै कार्यकालमा ब्लड बैंक सञ्चालनमा आयो। इनरुवामा रेडक्रस प्राथमिक विद्यालय स्थापना भयो। भुटानी शरणार्थी व्यवस्थापन, २०४५ का भूकम्पपीडित, आगलागी, बाढीपहिरो एवम् कोशी कटान पीडितलाई उद्दार, राहत र पुनर्स्थापना जस्ता गहन जिम्मेवारीलाई पनि रेडक्रसले उनको नेतृत्वमा निर्वाह गर्‍यो। रेडक्रसमा उनी एक्ली महिला थिइन्, जो पुरुषसँगै राहत लिएर प्रभावित क्षेत्र तथा गाउँमा पुग्थिन्। यसक्रममा उनले ६८ जिल्लामा पुगिन्।

'रेडक्रसको लामो यात्राले 'बहुमूल्य' कमाइ भएको छ,'  रेडक्रसको चिन्हमात्र देख्दा पनि अझै मनमा खुसी छाउँछ,' उनी भन्छिन्, 'रेडक्रस शब्दले मेरो मुटु छुन्छ।'

दृष्टिविहीनकी 'सारथि'

धरान–१५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयको स्थापना, विकास र सञ्चालनमा कायस्थको महŒवपूर्ण योगदान छ। दृष्टिविहीन विद्यार्थीको निम्ति २०३४ मा स्थापना भएको यो विद्यालयको उनी संस्थापक सदस्य सचिव थिइन्। त्यसबेला व्यवस्थापन समितिको अध्यक्ष अञ्चलाधिश थिए। उनी २०४६ सम्म सदस्य सचिव रहिन्। राजनीतिक परिवर्तनले अञ्चलाधिश पद स्वतः खारेज भएपछि २०४६ देखि २०६९ सालसम्म उनी व्यवस्थापन समिति अध्यक्ष बनिन्। विद्यालयको नेतृत्वमा रहँदा शैक्षिक गुणस्तर र भौतिक विकासमा उनको योगदान महŒवपूर्ण छ। 'यो विद्यालयलाई अहिलेको अवस्थासम्म ल्याउन धेरै खुन, पसिना बगेको छ,' उनले भावुक हुँदै भनिन्, 'भाडाको कोठाबाट सुरु भएको विद्यालयलाई जग्गा खोज्यौं, दाताबाट सहयोग लिएर विद्यालयको भवन र छात्रावास बनायौं।'

विद्यालयको कार्यालय भएको भवन मात्र शिक्षा मन्त्रालयको बजेटबाट बनेको हो। अन्य भवन ब्रिटिश वेल्फेयर, कादुरी फाउन्डेसन लगायतको सहयोगमा ठडियो। उनी रेडक्रसको नेतृत्वमा हुँदा ती संस्थासँगको सम्बन्धले यो विद्यालयको विकासमा मद्दत पुर्‍यायो।

दृष्टिविहीनलाई ब्रेललिपीबाट निःशुल्क अध्ययन, अध्यापन गराउने यो एकमात्र विद्यालय हो। विद्यालय खोल्न उनलाई गाउँबाट १० दृष्टिविहीन छात्र भेला पार्नुपरेको थियो। तिनीहरूलाई कायस्थले नै नुवाइधुवाई गरी ड्रेस लगाएर विद्यालय पठाएकी थिइन्। अहिले विद्यालय नमुना बनेको छ।

पछिल्लो पटक दृष्टिविहीन विद्यार्थी एसएलसीमा सत प्रतिशत उर्त्तीण भएका थिए। सोही विद्यालयमा पढेका विद्यार्थी कोही शिक्षक छन् त कोही सरकारी जागिरे, पत्रकार तथा गैर सरकारी संस्थामा। ती विद्यार्थी उनको आवाजबाटै चिन्छन्। 'दिदी' भन्दै हात समाउँछन्, उनको मन खुसीले गदगद हुन्छ। 'उनीहरूको सफलताले छोराछोरीको प्रगतिमा खुसी भएको आमाको मन जस्तै अनुभूति हुन्छ,' कायस्थले भावना पोखिन्, 'म अहिले त्यो विद्यालयमा छैन। तर, मेरो मन त्यही पुगिरहेको हुन्छ। मेरो चाहना छ, कोही पनि दृष्टिविहीन शिक्षा, जिउने कला, सीपबाट वञ्चित नहोस्। यो विद्यालय दृष्टिविहीका लागि विश्वविद्यालय बन्न सकोस्।'

०००

रेडक्रस र ज्ञानचक्षु विद्यालय स्थापना गर्न मात्र होइन, सुनसरी (धरान)मा स्थापना भएका हरेकजसो संस्था, विद्यालय बनाउन उनले योगदान छ। २०३२ मा स्थापना भएको 'नारी शिल्पकला केन्द्र'की उनी संस्थापक उपाध्यक्ष हुन्। महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन खोलिएको सो संस्थामा कायस्थले दुई सिलाइ मेसिन दिइन्।

सिद्धि नेवाः परिषदको स्थापना गर्न र संस्थाको सुविधासम्पन्न भौतिक संरचना निर्माणमा पनि उनको देन छ। २०६३ देखि २०७१ सम्म अध्यक्ष बनेकी कायस्थको नेतृत्वमा दुई भवन निर्माण भइसकेको छ। नेपाल परिवार नियोजन संघ, नेपाल क्षयरोग निवारण संघ, बसुन्धरा स्मृति सदनलगायत थुप्रै संस्थाको भवन निर्माणमा पनि उनको योगदान छ। कुष्ठरोग निवारण संघ, नागरिक समाज धरान, बीपी प्रतिष्ठानको सल्लाहकार समिति सदस्य, पूर्वाञ्चल आसरा सुधार केन्द्र निर्माण समिति सदस्यलगायत विभिन्न संघसंस्थामा उनको संलग्नता छ।

करिब ९ वर्ष नेवाःदेय् दबूको अध्यक्ष रहेकी कायस्थ ज्येष्ठ नागरिक मिलन केन्द्रको अध्यक्षसमेत हुन्। ज्येष्ठ नागरिक घरपरिवार, समाजबाट तिरस्कृत भएको वा एक्लो भएको महसुस नहोस् भनेर विभिन्न ठाउँमा भेला हुने, गफिने र समय कटाउन केन्द्रले पहल गरिरहेको छ। 'कायस्थ गोपाल प्रसाद–सरला प्रतिष्ठान' स्थापना गरेर उनले एक पत्रकारलाई सम्मानका साथै दृष्टिविहीन, विपन्न विद्यार्थीलाई छात्रवृत्ति पनि दिइरहेकी छिन्।

अन्य विभिन्न स्कुलमा पनि छात्रवृत्ति स्थापना गरेकी छिन्। उनको निःस्वार्थ कर्मबाट प्रभावित भएकाहरूले राजनीतिमा लाग्न पनि सुझाएका थिए। कतिले त दबाब पनि दिए। उनले आफैलाई मनन गरिन्। उनलाई लाग्यो, 'मेरो स्वभावले राजनीति हुँदैन, सधै रेडक्रसकर्मी सरला दिदी भएर नै बाँच्न चाहन्छु।' उनी राजनीतिबाहिर रहेरै समाजसेवामा समर्पित भइन्।

परिवारको साथ

घर–परिवारको दायरा नाघेर समाजसेवामा लाग्नु अझै पनि नेपाली महिलाका लागि सहज छैन। झन् चार दशकअघिको नेपाली समाज महिलाका लागि ज्यादै संर्कीण थियो। बुहारी भएर भित्रिएपछि उनी पनि लामो समय घर–परिवारमा सीमित भइन्। ६ भाइ छोरा र एक छोरी हुर्काउने जिम्मेवारी थियो। पत्नी, बुहारी, आमाको जिम्मेवारी बहन गर्दै उनले विस्तारै समाजसेवामा पाइला चालिन्। उनको पाइला अहिले पनि अनवरत चलिरहेको छ।

परिवारमा विशेष गरी पति गोपालप्रसादको पूर्ण समर्थन थियो। आमाजु दिदी बिष्णुदेवी श्रेष्ठ, जेठाजु भागवतप्रसादको प्रेरणाले अघि बढ्न मद्दत मिलेको उनी बताउँछिन्। 'पतिबाट एकदमै साथ पाएँ। उहाँको हृदय विशाल थियो,' स्वर्गीय पति गोपालप्रसादप्रति सम्मान दर्शाउँदै उनले भनिन्, 'रेडक्रस काम गर्दा पुरुषसँगै राहत, उद्दार लगायतको काममा हिँड्नुपर्थ्यो। तर, पनि परिवारबाट कहिल्यै छेकबार भएन।'

रेडक्रस कार्यालय टाढा भएकोले कतिपय पीडित घरमै आइपुग्थे। घरमा कसैले पनि नराम्रो भन्दैनथे। पतिले त उल्टै ती पीडितलाई सहयोग दिएरै पठाउथे।

त्यसो त धनकुटा बजारमा १९९५ मा अमात्य परिवारमा जन्मिएकी सरला स्कुले जीवनदेखि नै सक्रिय अनि सेवा भावकी थिइन्। आर्युवेदका चिकित्सक बुबा डिल्लीमान अमात्यसँगै उनी गाउँमा घाउ, खटिराको उपचार गरेको हेर्न जान्थिन्। बुबाको सेवा देखेर उनलाई प्रेरणा मिल्यो।

पण्डित छविलाल पोख्रेल, गजेन्द्रबहादुर प्रधानाङ्ग लगायतको प्रयासमा धनकुटामा 'कन्या स्कुल' खुलेको थियो। उनी त्यही पढ्ने मौका पाइन्। उनी 'अञ्जली' पत्रिका निकाल्ने टिममा थिइन्। स्कुल निर्माणका लागि आर्थिक सहयोग जुटाउन गाउँदै हिँडिन्। 'छोरीलाई पनि स्कुलमा भर्ना गरौं' भन्दै घरघरमा पुगिन्। 'छोरी भर्ना गर्नै मान्दैनथे, कसैले बीचैमा छुटाइदिन्थे,' स्मरण गर्दै उनले भनिन्, 'घरमा ८–१० भाइबहिनी थियौं, म जेठी भएकोले उनीहरूलाई पढाउने र हेरविचार पनि गर्थे।'

२००९ मा सरला र मेरी पार्थिवले एसएलसी उर्त्तीण गरे। उच्च शिक्षा पढ्न कलेज थिएन। काठमाडौं गएर पढ्न धेरै कोसिस गरे पनि पाइनन्। कन्या स्कुलमा दुई वर्ष पढाइन्। २०१२ मा धनकुटामा कलेज खुलेपछि मात्र उनले पढ्न पाइन। उनको कक्षामा ४ जना छात्रा थिए। कलेज जाँदा– आउँदा ठिक समयमा घर पुग्नुपर्ने। आइए पढिनसक्दै २०१३ मा बिहे भएर उनी धरान झर्नुपर्‍यो। जाँच दिन पठाउने सर्त थियो। बिहेपछि उनले काठमाडौंमा गएर आइए परीक्षा दिइन्। र, उर्त्तीर्ण पनि भइन्। पछि धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिन्।

महिलामैत्री बनाउन रेडक्रसमा उम्मेद्वारी

रेडक्रसमा लामो समय रहेर सेवा गरेकी कायस्थलाई लाग्यो, संस्था समयसापेक्ष महिलामैत्री हुन सकेन। अरु संस्थामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व निश्चित भइसक्दा पनि रेडक्रसमा त्यो व्यवस्था लागू हुन सकेको छैन। त्यसैको सुधार र परिवर्तनका लागि उनले २०६८ मा भक्तपुरमा भएको केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन्। उनको विजय भएन। तर, आवाज सशक्त बन्यो। 'म अध्यक्ष पदमा उठ्ने मनसाय थिएन। तर, बाध्यतावश त्यतिबेला उठे। रेडक्रसमा ३३ प्रतिशत महिला चाहिन्छ भनेर आवाज उठाउन उठेको थिएँ,' उनले भनिन्, 'रेडक्रसको नेतृत्वमा अहिले पनि महिला कम छन्। त्यसको लागि त विधान संशोधन हुनु अनिवार्य छ।'

महिलाको आत्मसम्मानका साथै क्षमता विकास र शिक्षामा जोड दिनुपर्ने उनको धारणा छ। तब मात्र पाएको अधिकार सदुपयोग हुने उनको मान्यता छ। गाउँ–गाउँमा शिक्षाको लहर पुगेको र छोरीलाई पनि शिक्षा दिनुपर्छ भन्ने चेतना जागेको देखेर उनी खुसी छिन्। निःस्वार्थ समाजसेवामा लाग्दा पुरस्कार, सम्मान पनि थापिन्। तीभन्दा पनि सेवा गर्दाको मिलेको आत्मसन्तुष्टीलाई उनी उपलब्धि ठान्छिन्। 'मैले केही पाउन गरेको होइन, जे गरे निःस्वार्थ भएर गरे। यसैमा म खुशी छु,' कुराकानीको बिट मार्दै सरला दिदीले सुझाइन्, 'आफ्नो घर विगारेर देश बनाउँछु भन्ने सोच गलत हो। पहिला घर बनाऔं। घर बनेपछि समाज बन्छ। त्यसपछि देश।'

प्रकाशित: ११ वैशाख २०७४ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App