५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भरतपुर–१३ बालमैत्री वडा घोषणा

भरतपुर महानगरपालिका वडा नम्बर १३लाई बालमैत्री वडा घोषणा गरिएको छ। भरतपुरलाई वि.स. २०८३÷२०८४सम्म बालमैत्री नगर घोषणा गर्ने अभियान अन्तरगत शुक्रबार बालमैत्री वडा घोषणा गरिएको हो।  

बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचकहरु तय गरिएको छ। त्यसमध्ये केही सुचक सत प्रतिशत र केही ८० प्रतिशत पुरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ। यी सूचकहरु पुरा भएकाले वडा नम्बर १३लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी गराइन्।  

वि.सं. २०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो। भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो।  

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गरिन्। उनले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका कुरामा आफुहरु लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अुरोध गरिन्। अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाका लागि छुट्टै स्रोत कक्षा समेत सञ्चालन गरिएको उनले जानकारी दिईन्।  

भरतपुर १३मा एक हजार नौ सय ४४ बालबालिका छन् । त्यसमध्ये तीन जनामात्र बालबालिका विद्यालय बाहिर थिए । तर, अहिले सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको दाहालको दावि छ। उनका अनुसार महानगरपालिका भित्र ७८ जना बालबालिका विद्यालय बाहिर रहेको छन्। महानगरपालिकामा सडक बालबालिका समेत नरहेको उनले जानकारी गराईन्। भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको उनको भनाई छ।  

उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए। अधिकारीले महानगरपालिका पूर्वाधार विकाससंगै सामाजिक र मानव अधिकारका विषयमा त्यतिकै ध्यान दिएको बताए।  घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताए । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको  भनाई छ। महानगरपालिका २०१६को जेनेभा सन्धि अनुसार अगाडि बढेको उनले बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सधै सबै पक्ष क्रियाशिल हुनुुपर्ने बताए । उनले बालबालिकालाई केन्द्रविन्दुमा राखेर महानगरपालिकाले काम गरेको उनको भनाई छ । भरतपुर महानगरपालिकाले यही महिना भित्र २१ र २३ नम्बर वडापनि बालमैत्री घोषणा गर्ने अन्तिम तयारी गरेको छ।  

 

प्रकाशित: २ असार २०८० ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App