दशक पहिला परम्परागत संस्कृति समाजको प्रतिबिम्वका रुपमा हेरिन्थ्यो। जसले समाज भित्रका हरेक पक्षको पहिचान झल्काउने काम गर्थ्यो। समाजको एक महत्वपूर्ण गहना मानिन्थ्यो संस्कृति। संस्कृतले इतिहासको प्रतिबिम्ब गर्ने व्याख्या पनि गरिन्थ्यो। पुर्खाहरुको पौरख, रितिरिवाज र चालचलनका विषयमा लगिन्थ्यो।
तर अहिले केही दशक यता आधुनिकताको प्रवेशसंगै परम्परागत संस्कृति हराउदो अवस्थामा देखिन्छ। पातारासी गाउँपालिकाका-३ हुरी गाउँकि राममाया बुढा आधुनिक संस्कृतिले परम्परागत संस्कृति हराउदै जान थालेकोमा निकै चिन्ता थपेको बताउँछिन्। उनले भनिन् 'पुरानो पुस्ता सकिदै जानु र नयाँ पुस्ताले परम्परागत संस्कृति संरक्षण गर्न नसक्नुले निकै चिन्तित बनेका छौं। सहर केन्द्रित आधुनिक संस्कृति एकपछि अर्को गर्दै ग्रामिण क्षेत्रमा प्रवेश गरेको छ। यहाँको पहिरनमा आधुनिकता झल्कन थालेको छ।'
जुम्ला लगायत कर्णालीमाा गाइने झोडा, देउडा, रत्यौली, मागल, धारु, छैटी, आरती, हुड्के नाच, बालो चम्फा नाच पनि लोप हुने अवस्थामा छन्। जुम्लामा जेठ,असारमा धान रोपाइ हुन्छ। रोर्पाईमा मागल गाउने परम्परा नै हो। धान खेतमा सुनिने सुरिलो मागल भाका आजभोली सुनिन छाडेको छ। विडम्बनाकाे कुरा हो। मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएको राममाया बुढा बताउँछिन्। कर्णाली खस सभ्यताको केन्द्र हो। खस भाषाको उद्गमस्थल पनि। तर कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै जादा यहाँको अस्तित्व संकटमा पर्न थालेको हो।
अर्की सोही गाउँकी जयदेवी बुढा पश्चिमेली संस्कृति र सहरी क्षेत्रको पहिरनले जिल्लाको पुख्र्यौैली संस्कृति र पहिरन ओझेलमा बताउँछिन्। 'अहिलेका पुस्ता शरीर भरी ढाक्ने लुगा लगाउँदैनन्। विदेशी संस्कृतिको महिमा गान गाउँछन्। आफ्नो संस्कृति प्रति घृणा गर्छन्।' उनी थप्छिन्, 'त्यसको परिणाम अहिले जुम्लाको संस्कार र संस्कृति लोप हुने अवस्थामा पुगेको छ। पुरानो पुस्ताले युवापुस्तामा संस्कृति हस्तान्तरण गर्न सक्दैन्।' नयाँ पुस्ताले पुरानो संस्कृति सजिलै ग्रहण गर्न मान्दैन्। परम्परागत संस्कृति धरापमा पर्दै गरेको उनको भनाइ छ।
जयदेवीका अनुसार संस्कृति र सभ्यता संकटमा पर्दा पुर्खाहरुको चिनो धरापमा पर्ने देखिन्छ। अहिलेका पुस्ता बजारमा निस्केका आधुनिक गीत संगीतमा रमाउँछन्। लोकसंस्कृति प्रति बेवास्ता गर्दै आएका छन्।
गाउँका युवा सान्तारामा बुढा विगतमा वनपाखामा गुन्जिने देउडा गीत, ठाडी भाका, सवाल जवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएका बताउँछन्। 'यो राम्रो पक्ष होइन्। विवाह, व्रतबन्ध, उत्सव, देवीदेवताको पूजा लगायतमा गाइने गीत लोप हुँदैछन्।'
दशक अघि सम्म २५ र ३० जना महिला आपसमा सवाल जवाफ गर्दै यो गीतमा रमाउने गर्थे। दुई समूहमा भेला भएर महिलाद्वारा गाइने झोडा गीत अहिले बिरलै सुन्न गरेको उनले बताए।
परम्परागत पहिरन पनि संकटमा
जुम्लामा गीतसंगीतमात्र होइन परम्परागत पहिरन पनि संकटमा परेको छ। पातारासीको हुरी गाउँ जस्तै जुम्लाका अन्य गाउँ बस्तीमा महिलाले लगाउने गुन्युँचोली र पुरुषले लगाउने दौरासुरुवाल पनि हराउँदै गएको हुरी गाउँकी लालमाया बुढाले बताइन्। घरमै उत्पादित ठेटुवाबाट बनेका दौरा सुरुवाल पुरुष लगाउँथे । महिलाले धोती चोलो समेत ठेटुवाकै हुन्थ्यो । त्यो कपडा चिसो र तातो मौसममा उपयुक्त हो।
अहिले बजारमा विदेशमा उत्पादित कपडाको आयात बढ्न थालेपछि परम्परागत पोसाक हराउन थालेको भन्दै गुनासो उनले पोखिन। पुर्खाहरुले लगाउने पहिरनको कुनै जिवन्त छैन। यस्तै पछिल्लो समय पञ्चेबाजा पनि लोप हुने अवस्थामा पुगेका छन । बढ्दो आधुनिकीकरण र संरक्षण अभावमा पन्चेबाजा संकटमा परेको जुम्लाका संस्कृतविद् रमानन्द आर्चाय बताउँछन्।
आचार्यले थपे, 'विवाह, व्रतबन्ध, देवताको पूजापाठ र अन्य उत्सवमा बजाइने लोकप्रिय बाजा सुनिन छाडेको छ। विवाह, व्रतबन्ध, मेला र अन्य पर्वमा आधुनिक बाजा बज्न थालेका छन । अहिले सुन र चाँदीका विभिन्न गहना समेत गाउँघरमा देखिन छाडेका छन्।'
गाउँबस्तीमा ७० वर्ष माथिका वृद्धाले समेत विरलै परम्परागत गहनाको प्रयोग गर्ने गरेको देखिन्छन। खुट्टामा लगाइने कल्ली र पैरा, हातमा लगाउने बाला, घाँटीमा लगाइने सानीमाला, ठूलीमाला, साङ्ला, मुगामाला, डोरी,, ढुंग्री, कालो, पहेंलो, सेतो पोते, कपुर्ने माला लगायत पुराना गहना गाउँमा लगाउन छाडेको पातारासी गाउँपालिका- ३ छुमचौरकी ललिता बुढा बताउँछिन्।
संस्कृतिसँग सम्बन्धित परम्परागत मागी विवाहमा नाचिने हुडे नाच पनि लोप हुने अवस्थामा छ। मागी विवाहको चलन हटेसँगै यो नाच पनि लोप भएको स्थानीय बताउँछन्। 'दशकअघि सम्म मंसिर र माघ महिनामा गाउँघरमा बिहेका पन्चेबाजा खुब सुनिन्थे, हुड्केलाई पनि भ्याइनभ्याइ हुन्थ्यो। तर अहिले त गाउँमा विवाह भए नभएको बारेमा थाहा पाउन एक हप्ता सम्म लाग्छ। पहिले बिहे हुँदा पुरुष जन्ती जाने र महिला राति बेहुलाको घरमा जम्मा भई रत्यौली खेल्ने, मागल चुटकीला गाउने परम्परा थियो। जन्तीलाइ पानी खन्याउने चलन थियो। बिहेको पछिल्लो दिन दौरा लगाएर हातमा डमरु जस्तै देखिने हुड्को समातेर दुई जना सहयोगी जोल्याको साथमा पुराना वीर (पैकेला) हरूका कथा भनेर दिनैभरि नाच्ने, गाउने र रमाइलो गर्ने प्रचलन हुन्थ्यो। बिहेमा खुब नाचिन्थ्यो, गाइन्थ्यो, हुड्कोे बजाइन्थ्यो,' स्थानीय भन्छन्, 'तर अहिलेका पुस्तालाई हुडको बारे केही थाहा नै हुदैन्।'
प्रकाशित: २३ जेष्ठ २०८० ०८:३३ मंगलबार