२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

जैविक मार्गमा प्लाष्टिक नै प्लाष्टिक

पुर्व पश्चिम राजमार्गको टिकौली जंगल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ। यस क्षेत्र जैविक मार्ग समेत हो। तर, यस राजमार्ग वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै गएको छ। जथाभावि फालिने फोहोर र तिब्र गतिमा गुड्ने सवारी साधनका कारण उनीहरुलाई जोखिम बढेको हो।  

यस क्षेत्रमा प्लाष्टिकहरु असरल्ल देख्न सकिन्छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय चितवनले सयुंक्त आयोजना गरेको कार्यक्रममा टिकौली जंगलको प्रवेशद्धारबाट मात्रै एक ट्याक्टर प्लाष्टिक संकलन गरिएको छ। प्लाष्टिकको असर वन्यजन्तुमा पर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्। ‘यस क्षेत्रमा गैँडा, बाघ, चित्तल, हरिण लगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने गर्दछन्। कतिपय वन्यजन्तुले नुनिलो मानेर प्लाष्टिक खाएको देखेका छौँ,’ तिवारीले थपे, ‘यसले वन्यजन्तुलाई असर गरिरहेको छ।’  

यात्रा गर्दा यात्रुले बसबाट बढि प्लाष्टिक फालेको भेटिन्छ। अर्को तर्फ संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको बरण्डाभार क्षेत्रमा बसहरु दिशा पिसाब गराउन रोकिन्छ। जसले गर्दा पनि प्लाष्टिक जन्य फोहोर बढेको छ। निकुञ्ज प्रशासन यसलाई व्यवस्थापन गर्न लागेको तिवारी बताउँछन्। ‘यस क्षेत्रमा यात्रुहरु जथाभावि रोकिने गरेका छन्। यसको दिगो व्यवस्थापनमा हामी छौँ,’ उनले भने ‘अब बरण्डाभार क्षेत्रमा जथाभावि प्लाष्टिक फाल्न दिदैनौँ।’ प्लाष्टिकले वातावरणको सुन्दरतालाई समेत असर गर्दै आएको छ। अर्को तर्फ सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने समेत गरेका छन्।  

‘प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौँः वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मुल नाराका साथ जैविक माग सरसफाई गरिएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्याल, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगाना, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन, डिभिजन वन कार्यालय चितवनका प्रमुख लोकराज नेपाल, नेपाली सेनाका प्रमुख सेनानी सशिकुमार कार्की, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की लगायतको उपस्थिती रहेको थियो। उनीहरुले प्लाष्टिक जन्य फोहोरको व्यवस्थापन गर्न जोड दिएका थिए।  

प्रकाशित: २२ जेष्ठ २०८० ०८:३३ सोमबार

जैविक मार्गमा प्लाष्टिक नै प्लाष्टिक