१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मतदाता शिक्षामा सामाजिक विषयका शिक्षिका

पोखरा- स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि माध्यमिक विद्यालय तहका सामाजिक विषयका शिक्षिका खटाइने भएको छ। शिक्षिकामार्फत गाउँगाउँ खटिने मतदाता स्वयंसेविकालाई प्रशिक्षण दिएर खटाइने निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीका अनुसार मतदाता शिक्षाका लागि मावि तहका सामाजिक विषयका शिक्षिकालाई प्रशिक्षण दिइएकोे छ। सामाजिक विषयका शिक्षिकालाई पहिलोपटक निर्वाचनमा मतदाता शिक्षाका लागि खटाउन थालिएको सुवेदीले बताए। उनका अनुसार शिक्षिकासहित सामाजिक विकास हेर्ने जिल्ला समन्वय समितिका अधिकृत, शिक्षा कार्यालयका स्रोतव्यक्तिलगायतलाई पनि प्रशिक्षण दिइएको छ।

'माध्यमिक तहको सामाजिक विषयमा निर्वाचन प्रणाली र निर्वाचन कार्यालयको भूमिकाबारेमा अध्यापन गराउनुपर्ने हुन्छ, त्यही भएर शिक्षिकालाई प्रशिक्षणमा समावेश गरेका हौं', उनले भने, 'यहाँ प्रशिक्षण लिएका शिक्षिका र कर्मचारीले जिल्ला पुगेर गाउँगाउँमा खटिने स्वयंसेवकलाई थप प्रशिक्षण दिनेछन्। शिक्षिकाको प्रशिक्षण पाएपछि स्वयंसेवक गाउँ पुग्नेछन्।' जिल्ला शिक्षा कार्यालयमार्फत सामाजिक विषयका शिक्षिका छनोट गरिएको थियो। उनीहरूलाई पोखरामा दुई दिनसम्म प्रशिक्षण दिइएको थियो। 'यसपटक शिक्षिकालाई नै पहिलो प्राथमिकता दिने नीति थियो। लैंगिक दृष्टिकोणले महिला छनोटमा थिए', उनले भने। पोखराको हुने सबैखाले प्रशिक्षणमा गण्डकी र धवलागिरीका १० सहित गुल्मी र पाल्ला समेत १२ जिल्लाका कर्मचारी सहभागी हुने गरेका छन्।

उनका अनुसार पोखरामा प्रशिक्षण लिएका कर्मचारीले आआफ्नो जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारी र स्वयंसेवकलाई थप प्रशिक्षण दिनेछन्। 'चैत २७–२८ गतेपछि मतदाता शिक्षाका लागि स्वयंसेवक खटिन्छन्', उनले भने, 'एक महिनासम्म चल्ने मतदाता शिक्षामार्फत मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका सिकाइनेछ।'

सुवेदीका अनुसार मतदाता शिक्षामा गाउँपालिकाका सामाजिक परिचालक, पूर्वप्राथमिक विद्यालयका शिक्षिका, स्वास्थ्य स्वयंसेविका, प्राथमिक विद्यालयका शिक्षक लगायत खटिनेछन्। जिल्ला प्रशासन कार्यालयले मतदाता शिक्षाका लागि स्वयंसेवक छनोट गर्नेछ। कास्कीमा एक सय ५० मतदानस्थल तोकिएको छ। ती स्थलमा करिब तीन सय १५ वटासम्म मतदान केन्द्र हुनेछन्। मतदान केन्द्रको टुंगो लागिसकेको छैन। एक हजार मतदाताका लागि एक केन्द्र तोकिनेछ।

त्यसैगरी निर्वाचनका लागि गाउँगाउँ खटिने अन्य कर्मचारीलाई सिकाउन प्रशिक्षण दिन थालिएको छ। मतदाता शिक्षा, निर्वाचन सामग्रीको प्रयोग गर्ने तरिका, खर्चको हिसाबकिताबलगायत सहज बनाउन क्षेत्रीय निर्वाचन कार्यालयले सोमबारदेखि प्रशिक्षण दिन थालेको हो।

निर्वाचन अधिकृत, कोष तथा लेखा नियन्त्रकलाई सोमबारदेखि सामग्री प्रयोग र लेखासम्बन्धी प्रशिक्षण दिन थालिएको छ। दुईदिने प्रशिक्षणमा पश्चिमाञ्चलका १२ जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि र निर्वाचन अधिकृत सहभागी छन्।

निर्वाचनमा प्रयोग हुने ६४ प्रकारका सामग्रीको प्रयोगबारे सिकाउन पनि प्रशिक्षण दिन थालिएको सुवेदीले बताए। सियो धागोसम्मका सामग्री प्रयोग हुने भएकाले ती सामग्रीको प्रयोग, सुरक्षाबारे पनि कर्मचारीलाई प्रशिक्षण दिन जरुरी रहेको उनले बताए। 'सबैभन्दा बढी समस्या हिसाबकिताब  राख्नमा हुने भएकाले पनि कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रशिक्षण दिनुपरेको छ', उनले भने।

उनका अनुसार अघिल्ला निर्वाचनमा धेरै खर्च बेरुजु हुने गरेको छ। 'गाउँगाउँमा खर्च भएको रकमको बिल हुँदैन, अनि रकम बेरुजु रहन्छ', सुवेदीले भने, 'आगामी दिनमा त्यस्तो बेरुजु नआओस् भनेर हामीले कर्मचारीलाई प्रशिक्षण दिन थालेका हौं।' जिल्लामा भन्दा केन्द्रबाट खटिने कर्मचारीको बेरुजु बढी रहने गरेको उनले बताए।

प्रकाशित: १५ चैत्र २०७३ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App