२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भारतीय एसएसबीले हत्या गरेका साह परिवारलाई १० लाख दिइने

एसएसबीले हत्या गरेका मोरङका वासुदेव साह

काठमाडौं—भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ६ वर्षअघि हत्या गरेका मोरङका वासुदेव साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति र उचित सम्मान गर्ने भएको छ।

मोरङको सीमावर्ती अमाही बरियाती-७ बयरबनाका साहलाई भारतीय सुरक्षाकर्मीले २०६७ जेठ ११ गते नेपाली भूमि प्रवेश गरी गोली हानी हत्या गरेका थिए।

घटनाको गृहमन्त्री विमलेन्द्र निधिले पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उचित सम्मानको व्यवस्था गर्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन्।

'साह परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने टुंगो लागिसकेको छ', गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले नागरिकन्युजसँग भने, 'यसमा निर्णय नै भइसकेको हो।'

फागुन २६ गते कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोलीबाट गोविन्द गौतमको मृत्यु भएको थियो। नेपाली भूमि प्रवेश गरी भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गरेको विरोधमा जनलहर उर्लिएपछि सरकारले उनलाई शहीद घोषणा गर्दै १० लाख क्षतिपूर्ति र राष्ट्रिय सम्मान प्रदान गरेको थियो।

कसरी मारिएका थिए वासुदेव साह?

वासुदेव साह मोरङको अमाही बरियाती-७ खयरबना गाउँ निवासी हुन्। घटना भएको दिन बिहान ८ बजेतिर 'तस्करलाई पछ्‌याउँदै' एसएसबीको २४ औं बटालियनका सादा पोशाकका दुई सुरक्षाकर्मी हतियारसहित नेपाली भूभाग प्रवेश गरेका थिए। नेपाल भित्र छिरेरै नेपालीलाई कुटपिट गर्न थालेपछि स्थानीय प्रहरी चौकीका प्रहरी तथा स्थानीयले प्रतिकार गरेका थिए। सो घटना थाहा पाएपछि वासुदेव चौकी नजिकै पुगेका थिए। त्यति नै बेला एसएबीका इन्स्पेक्टर हितेन्द्र हितेन्द्र सिंहले कम्मरमा राखेको पेस्तोल निकालेर नेपालीमाथि अन्धाधुन्द गोली प्रहार गरे। नजिकैबाट गोली लागेका वासुदेव साहको त्यही प्राण पखेरु उड्यो।  

सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ज्यादती उग्र बन्दै गए पनि नेपाल सरकार मौन रहँदै अाएको थियो। गौतमको हत्यालाई लिएर स्थानीयले चर्को प्रतिकार गरेपछि सरकार क्षतिपूर्ति र सम्मान दिन तयार भएको थियो। त्यसपछि भने अन्य सीमावर्ती क्षेत्रका पीडितको भनाइ बाहिर अाइरहेका छन्।

प्रकाशित: १३ चैत्र २०७३ ०६:०२ आइतबार

भारतीय एसएसबीले हत्या गरेका साह परिवारलाई १० दिइने