काठमाडौं— मेलम्ची खानेपानी वितरणका लागि भत्काइएका सडक वर्षाअघि नै कालोपत्रे गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय निर्देशक तिरेशप्रसाद खत्रीले असारभित्रै पाइपलाइन विस्तारका क्रममा खनिएका सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
खानेपानी वितरणका लागि भत्काइएका ५७ सडक निर्देशनालयले कालोपत्रे गर्ने उनले बताए । लैनचौरदेखि पानीपोखरीसम्मको १.५ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ । त्यस्तै, बालाजुदेखि बाइपाससम्मको १.१ किमि सडक कालोपत्रे सकिसकेको उनले जानकारी दिए ।
‘भत्काइएका सडक पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइसकेका छौं,’ खत्रीले भने, ‘असारभित्रै भत्किएका सडक बनाइसक्नेछौं ।’ निर्देशनालयले पाइपलाइन विस्तार भइसकेको सडकमा कालोपत्रे गर्न सब बेस, सब ग्रेड तयार गरिरहेको जनाएको छ ।
‘भत्किएका सडकले सर्वसाधारणलाई धेरै सास्ती पाइरहेको महसुस गरेका छौं,’ उनले भने, ‘त्यसैले अहिले रातको समयमा धमाधम कालोपत्रे गरिरहेका छौं ।’
बहुप्रतीक्षित मेलम्ची सरकारले आगामी असोजभित्रै काठमाडौं उपत्यकामा ल्याउने तयारी गरिरहेको छ । दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ । सरसफाइ तथा खानेपानी मन्त्रालयले असार मसान्तभित्रै पाइपलाइन बिछ्याइएका सडकको पुनर्निर्माण गर्न सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपलिका र अन्य ठेकेदार कम्पनीलाई जिम्मा दिइसकेको छ ।
उपत्यकाका ५७ सडकको कालोपत्रे गर्न सडक विभागलाई ८५ करोड रुपैयाँ छुट्ट्याइएको छ । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक अयोध्याप्रसाद श्रेष्ठले काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समयमै पाइपलाइन विस्तार नगर्दा सडक कालोपत्रे गर्न ढिलाइ भइरहेको बताए । ‘भत्काइएको सडकमा पाइपलाइन नबिछ्याएसम्म कालोपत्रे गर्न मिलेन,’ उनले भने, ‘पाइपलाइन बिछ्याएको सडकमा कालोपत्रे गर्न केही समस्या छैन । अझै पर्याप्त मात्रामा पाइपलाइन बिछ्याएको सडक नै पाएका छैनौं । त्यसैले काम गर्न असहज भएको हो ।’
खानेपानी वितरणका लागि भत्काइएका ५७ सडक निर्देशनालयले कालोपत्रे गर्ने उनले बताए । लैनचौरदेखि पानीपोखरीसम्मको १.५ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ । त्यस्तै, बालाजुदेखि बाइपाससम्मको १.१ किमि सडक कालोपत्रे सकिसकेको उनले जानकारी दिए ।
काठमाडौं उपत्यकाका ३८ हजार तीन सय ४२ घरधुरीमा धारा जडान गरिसकेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आगामी असारसम्म उपत्यकाका ८६ हजार घरधुरीमा खानेपानी धारा जडान गर्ने लक्ष्य राखिएको छ । खानेपानी वितरण प्रणाली सञ्जालअन्तर्गत ६ सय ७० किमिअन्तर्गत पाँच सय ५० किमि सडकमा पाइपलाइन बिछ्याइएको छ । पानीपोखरी निर्माण कार्यमध्ये ८० प्रतिशत सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ ।
चक्रपथभित्रका महाराजगन्ज, सामाखुसी, स्वयम्भू क्षेत्र र चक्रपथबाहिरका जोरपाटी, तीनचुलो, बौद्ध, आरुबारी, सरस्वतीनगर, कपन, सुकेधारा गल्फुटार लगायत क्षेत्रमा खानेपानी पाइपलाइन तथा वितरण प्रणाली तयारी गरिएको छैन । चक्रपथभित्रका केही ठाउँमा मेलम्ची वितरणका लागि तत्कालै नयाँ सञ्जाल नबन्ने भएको छ । बजेट अभावमा पाइपलाइन बिछ्याउन समस्या भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । नयाँ वितरण प्रणाली नबनेका क्षेत्रमा पुरानै वितरण प्रणालीमार्फत् घरघरमा खानेपानी पु¥याउने लक्ष्य राखेको निर्देशनालय प्रवक्ता लीलाप्रसाद ढकालले बताए । ‘नयाँ वितरण प्रणाली नभएका क्षेत्रमा पुरानै प्रणालीबाट वितरण गर्नेछौं,’ उनले भने, ‘छिटो नयाँ सञ्जाल विस्तार गर्ने योजनामा छौं ।’
प्रकाशित: २३ फाल्गुन २०७३ ०३:३१ सोमबार