४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बागलुङ बसपार्क सञ्चालनको तयारी

जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका—४ मा निर्माण भएर पनि अलपत्र बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको छ।

बागलुङ नगरपालिका कार्यालयले सोमबार बसपार्कमै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी बसपार्क सञ्चालनको पहल अगाडि बढाएको हो।

एक वर्ष अगाडि नै कालोपत्र भैसकेर तयार भएको बसपार्क अन्य संचरना निर्माण र पहुँचमार्गको समस्याले गर्दा अहिलेसम्म सञ्चालन हुन सकेको छैन। बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका स्थानीयसंगको सहमति अनुसार बसपार्क निर्माण गरेर बाँकी रहेको जग्गा घडेरीको रुपमा विकास गरेर जग्गाधनीलाई उपलब्ध गराउन बाँकी रहेका कारण बसपार्क सञ्चालनमा आउन नसकेको हो।

बसपार्क निर्माणका क्रममा कटान गरेर फालिएको माटो हटाउनका लागि पुनः टेन्डर प्रक्रिया मार्फत काम अगाडि बढाईएपछि डुप्लीकेसन भएको भन्दै अख्तीयारमा मुद्दा परेपछि जग्गा विकासको काम प्रभावित भएको छ। दोहोरो रकम खर्च गरेर भ्रष्टाचार गरेको भन्दै तत्कालिन बागलुङ नगर उपप्रमुख, इन्जिनियर, बानपा—४ का वडाध्यक्ष, जग्गा विकास समितिका अध्यक्ष लगायतलाई अख्तीयारले मुद्दा दायर गरेपछि बसपार्क सञ्चालनको प्रक्रिया नै अवरुद्ध भएको थियो। बागलुङ नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्षपछि अहिले उक्त बसपार्क सञ्चालनका लागि पहल थालिएको हो। स्थानीय जनताले आफ्नो जग्गा निःशुल्क रुपमा उपलब्ध गराएर निर्माण भएको बसपार्क सञ्चालनका सम्बन्धमा स्थानीयलाई स्पष्ट जानकारी गराउन सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको भन्दै बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले चाँडै नै बसपार्क सञ्चालनमा ल्याउने बताए।

‘स—सानो कुराले बसपार्क सञ्चालनमा कठिनाई उत्पन्न भएको छ,’ उनले भने, ‘यहाँको समस्याबारे स्थानीयलाई जानकारी पनि होस् र बसपार्क सञ्चालनमा सबैको हातेमालो पनि होस् भनेर यो कार्यक्रम आयोजना गरिएको हो। यहाँहरु सबैको सुझाव लिएर हामी बसपार्क सञ्चालनमा ल्याउँछौं।’ बागलुङ बसपार्क निर्माणका लािग जग्गा उपलब्ध गराएको जग्गादाहरुको जग्गा विकास गरेर जग्गाधनीलाई फिर्ता गर्ने प्रक्रिया तत्कालै सुरुवात गर्ने पनि उनले बताए। ‘विगतमा तिलक निर्माण सेवाले जिम्मा लिएर काम पनि सुरु गरेको थियो। अख्तीयारमा मुद्दा परेपछि त्यो काम रोकिएको हो,’ उनले भने, ‘तिलक निर्माण सेवाले काम गरेको रकम पाउनुपर्ने बाँकी रहेको देखिन्छ। अब हामी चाँडै पनि यो प्रक्रियालाई फेरी अगाडि बढाउँछौं। तिलक निर्माण सेवाले चाहेको खण्डमा यही निर्माण कम्पनीलाई निरन्तरता दिन्छौं नभए नयाँ प्रक्रिया सुरु हुन्छ।’

बसपार्क निर्माणको मुख्य जिम्मा लिएको फेवा÷आशिष जेभीले तीन सय मिटर लगेर माटो व्यवस्थापन गर्नेगरी भेरिएसन गरेर नगरपालिकाबाट २२ लाख ९६ हजार रुपैयाँ भुक्तानी लिएको भए पनि त्यहाँ खनिएको रकम नजिकै थुपारेको र उक्त माटो व्यवस्थापनका लागि पुनः टेन्डरमा गएपछि अख्तीयारमा मुद्दा परेको देखिएको उनको भनाइ छ। करिब १० करोड लगात अनुमान गरिएको उक्त बसपार्क निर्माणका लागि फेवा÷आशिष जेभीले सुरुमा ७ करोड ६६ लाख ९९ हजार ७४ रुपैयाँमा निर्माण जिम्मा लिएको थियो। दोस्रो भेरिएसनपछि बसपार्क निर्माणको कुल लागत ८ करोड ८० लाख ६४ हजार १९८ पुगेको थियो। विभिन्न बहाना बनाएर निर्माण ढिलाई गरी पटक पटक म्याद थपेको निर्माण कम्पनीले भुक्तानीका लागि कुल ९ करोड २१ लाख ३५ हजार एकस य ४६ रुपैयाँको बील पेश गरेको छ।  

उक्त बीलमध्ये ८ करोड ८० लाख ६४ हजार एक सय ९८ रुपैयाँ भुक्तानी भैसकेको नगरपालिकाले जनाएको छ। सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको जवाफ दिँदै फेवा÷आशिष जेभीका सञ्चालक राजु पौडेलले सुरुमा आफुहरुले तीन सय मिटर पर लगेर माटो व्यवस्थापन गरे पनि पछि नगरपालिका, जग्गा विकास समिति लगायतले पछि त्यहाँ रहेको खाल्डो पुर्नका लागि माटो आवश्यक पर्ने भन्दै माटो त्यही थुपार्न भनेपछि आफुहरुले त्यही राखेको बताए। ‘हामीले नगरपालिकासंग काम गरेको हो, नगरपालिकाको नेतृत्व र प्राविधिक टोली, जग्गा विकास समिति सबै आएर यो हाम्रो सम्पत्ती हो, भोली यहाँको खाल्डो पुर्नुपर्छ भनेर यहीं फाल्नुपर्छ भन्नुभयो,’ उनले भने,‘त्यसपछि हामीले काम नसक्दै अर्को कम्पनीलाई माटो फाल्ने ठेक्का दिनुभएछ । त्यो कुरा हामीले जान्ने कुरा भएन।’

उनले आफूले काम गरेको अझै ८० लाख रकम भुक्तानी पाउन बाँकी रहेको समेत दाबी गरे। तिलक निर्माण सेवाका भुपेन्द्र खड्काले आफूहरुले काम गरेको १२ लाख बढि रकम नपाएको भन्दै अख्तीयारमा मुद्दा परेको विषय आफुहरुसंग सम्बन्धित नभएको बताए। कार्यक्रममा धौलागिरि गण्डकी यातायात प्रा.लि.का अध्यक्ष उमेश केसीले बसपार्क सञ्चालनका लागि सडक सञ्जाल उपयुक्त नभएको बताए। ‘अहिलेका बसहरु निकै ठूला छन्, यहाँ आउने बाटाहरु निकै साँघुरा छन्,’उनी भन्छन्,‘बजारबाट दुरी टाढा भएकाले पनि अप्ठ्यारो देखिन्छ।’ कार्यक्रममा खिमलाल सापकोटा, भीमबहादुर खत्रीले नगरपालिकाको करोडौं रकम खर्च भएको बसपार्क अलपत्र पारेर राख्न नहुने बताए।

‘साना तिना मुद्दाहरु पर्छन् तर करोडौंं लगानी भएको ठाउँलाई अलपत्र पार्नु भएन, जसरी पनि सञ्चालनमा ल्याउनुप¥यो,’उनीहरुले भने। स्थानीय बिजुला शर्मा उपाध्यायले काँक्रो खाने थाक्रो भाँच्ने काम नगर्न आग्रह गर्दै छिटो भन्दा छिटो जग्गाधनीलाई विससित जग्गा फिर्ता गर्ने काम गर्न आग्रह गरिन्। बागलुङ नगरपालिका—४ का निवर्तमान वडाध्यक्ष ध्रुबबहादुर केसीले बसपार्क निर्माण क्रममा आफुहरुले अनाहकमा मुद्दा खेप्नु परेको भन्दै सबैको साझा प्रयासबाट बसपार्क सञ्चालनमा ल्याउनुपर्ने बताए। कार्यक्रममा जग्गादाता सुबास केसी, स्थानीय बाबुराज कार्कीले स–साना कुराहरुमा नअल्झेर छिटो बसपार्क सञ्चालनमा ल्याउन माग गरे।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बसपार्क सञ्चालनमा सबैले चासो दिनुपर्ने बताए। ‘स्थानीय जनताले सित्तैमा जग्गा दिएर करोडौं खर्चेर बनेको बसपार्क सञ्चालनमा सबैले ध्यान दिनुपर्छ,’उनी भन्छन्,‘यो ठाउँ साबिक धौलागिरिकै सदरमुकाम नै हो। बसपार्क सञ्चालनले यहाँको समुदायलाई पनि आर्थिक उन्नतिमा सघाउँछ।’ कार्यक्रममा चित्राङ्गद बरालले बसपार्क सञ्चालनका लागि प्रशासनको तर्फबाट सबै प्रकारको सहयोग हुने बताए। पत्रकार तारानाथ आचार्यले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको समापन बागलुङ नगर उपप्रमुख राजु खड्काले गरेका थिए। उपल्लाचौरको दापगरामा बसपार्क निर्माण गर्ने निर्णय भएपछि २०५७÷०५८ सालदेखि त्यहाँका स्थानीय जग्गा लिन सुरु भएको थियो।

बसपार्क निर्माणका लागि आवश्यक जग्गा नगरापालिकाले प्रयोग गर्ने र बाँकी जग्गा व्यवस्थीति खडेरीको रुपमा विकास गरी स्थानीयलाई फिर्ता गर्नेगरी स्थानीयले जग्गा दिएका थिए। जग्गा विकास समिति गठन गरेर त्यसमार्फत काम अगाडि बढेको थियो। तर त्यसले समयमै मूर्त रुप धारण गर्न सकेन। २०६३ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेम नारायण शर्माले बसपार्क निर्माणका लागि भनेर उद्घाटन गरे पनि अर्को एक दशक कुनै काम अगाडि बढ्न सकेन। न त्यहाँ बसपार्क नै बन्यो न स्थानीयले आफ्नो जग्गा उपभोग नै गर्न पाए। स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिमाथि बसपार्क निर्माणको व्यापक दबाब परेपछि बागलुङ नगरपालिकाले बसपार्क निर्माणका लागि अग्रसरता लिएको थियो।

निर्माण कम्पनी फेवा÷आशिष जेभीले वि.स २०७६ साल कात्र्तिक २७ गते बसपार्क निर्माणको काम सक्ने गरी जिम्मेवारी लिएकोमा पहिलो पटक पहिलो पटक २०७७ बैशाख २५, दोस्रो पटक विस २०७७ कात्र्तिक मसान्त र तेस्रो पटक विस २०७८ बैशाख २५ गतेसम्म समय थप गरिएको थियो। बसपार्कको टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्क लगायतको संरचना तयार भएका छन्। आधुनिक बसपार्क निर्माण भएपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ। बागलुङ नगरपालिकाले नगर विकास कोषसँगको समन्वयमा ८ करोड ८० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो।  

नगर विकास कोषसँगको ९० प्रतिशत ऋण लगानी नेपाल सरकारको साढे सात प्रतिशत र नगरपालिकाले साढे दुई प्रतिशत आर्थिक दायित्वको व्यवस्थापन गरेको छ। बसपार्क निर्माणका लागि भनेर बागलुङ नगरपालिकाले नगर विकास कोषबाट ९ करोड ४ लाख ३९ हजार दुई सय ९० रुपैयाँ ऋण लिएको छ। उक्त ऋण लिएबापत बागलुङ नगरपालिको वार्षिक झण्डै ५० लाख रुपैयाँ व्याज तिर्दै आएको छ। बसपार्क सञ्चालनमा नआउँदा त्यहाँ निर्माण भएको २६ वटा सटर भाडामा लगाउन नपाउँदा नगरपालिकालाई मासिक चार लाख बढि घाटा हुँदै आएको छ।

बसपार्क निर्माणका लागि ५२ जना स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका थिए। बसपार्क निर्माण क्षेत्रमा रहेको ५९ रोपनी जग्गामध्ये १७ रोपनीमा बसपार्क निर्माण गरी अन्य जग्गा व्यवस्थीत घडेरीको रुपमा विकास गरेर स्थानीयलाई फिर्ता दिने गरी जग्गा प्राप्तीको काम अगाडि बढेको थियो।  

प्रकाशित: २ जेष्ठ २०८० ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App