१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कलिला कोपिलामाथि गिद्धे नजर !

म्याग्दीको मंगला गाउँपालिकाकी १० वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै चार महिनापछि सार्वजनिक भयो। बालिकाले अचानक पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकीमा लगेपछि बालिका गर्भवती भएको थाहा पाएलगत्तै प्रहरीलाई खबर गरिएको थियो। बालिकालाई ललाइफकाइ बलात्कार गरेका २० वर्षीय आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोही गाउँपालिकामा अर्की १३ वर्षीया बालिकालाई ४५ वर्षीय एक पुरुषले बलात्कार गरे। घटना बालिकाको पेटमा गर्भ रहेको प्रमाणित भएपछि मात्रै सार्वजनिक भयो। धवलागिरि गाउँपालिकामा १३ वर्षीया एक बालिकालाई ३१ वर्षका पुरुषले घरमा कोही नभएको मौका छोपी बलात्कार गरे। आर्थिक अवस्था कमजोर, बालिकाका आमाबुबा मजदुरी गर्न गएको मौका छोपी जबर्जस्ती गर्ने पुरुष प्रहरी हिरासतमा छन्।

माथिका तीनवटै बलात्कारका घटना भएको करिब चार–पाँच महिनाको अन्तरालमा गर्भ बसेको जानकारी पाएपछि मात्रै घटना सार्वजनिक भएको थियो। केही स्थानीयले गाउँमै मुद्दा मिलाउन दबाब दिएकै कारण पीडितले जाहेरी दिन सकेका थिएनन्। बुबा–आमा खेतमा गएको मौका छोपी विभिन्न बहानाका साथै डर, त्रास, धम्की र प्रभाव देखाएर कुदृष्टि लगाउने यौन पिपासुको यौनजन्य क्रियाकलापले कलिला कोपिला नै असुरक्षित भएका छन्। ‘मानवता हराएको घटनाबारे बालिकाको परिचय नखुल्ने गरी अनुसन्धान गरिरहेका छौं। गर्भपतन गराएर बालिकालाई पूर्णरूपमा काउन्सिलिङ गरिएको छ। कलिला कोपिलामाथि झम्टिएको हृदयविदारक दृश्यबाट स्तब्ध छौं’,जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।

कलिला बालबालिकालाई फकाउन, लोभ्याउन र धम्क्याउन सहज हुने, प्रतिकार गर्न नसक्ने तथा यौन हिंसाको हाउभाउ नबुझ्ने भएकाले जबर्जस्ती घटना हुने गरेको प्रनाउ कुँवरले बताए। आपराधिक मानसिकता भएका व्यक्तिलाई निरुत्साहित गर्न जनचेतनामूलक अभियानसँगै अभिभावकले समेत निगरानी र सर्तकता अपनाउनुपर्ने बताए। बालिकालाई स्वाभाविक रूपमा सामान्य हिसाबले पनि फकाउन सजिलो हुन्छ। कुनै आश्वासन दियो भने सजिलै फकाउन सकिने भएकाले बलात्कारको सिकार हुने गरेको प्रनाउ कुँवरको भनाइ छ। विद्यालयस्तरमा सचेतनामूलक अभियान र बालिकालाई आत्मरक्षा तालिम र बलात्कारजस्तो जघन्य अपराधको प्रयास भएमा तत्कालै सहयोग माग्नेलगायत विभिन्न जानकारी बालिकालाई बुझाउन सकेमा घटना न्यूनीकरणमा सहज हुने प्रहरी भनाइ छ।

अर्कातर्फ पीडकले अपराध सामान्य, यो केही होइन भोलि जेल जानुपर्छ, समाजले हेलाँ गर्छ भन्ने जस्तो नसोच्ने हुँदा उनीहरू अपराधमा संलग्न हुने गरेको पाइएको छ। एकपटक अपराधमा संलग्न भएकाहरू फेरि पनि अन्य अपराधका घटनामा संलग्न हुने खतरा भएका कारण आपराधिक सोच भएका मानिसलाई समयमै परामर्श आवश्यक हुने बेनी अस्पतालका मेडिकल अफिसर डा. गोविन्द पोख्रेलले बताए। उनले प्रजनन अंग विकास नहुँदै यौन सम्पर्क कायम गरिँदा दीर्घकालसम्म समस्या देखिन सक्ने भएकाले कुनै समस्या भएमा तत्काल स्वास्थ्य केन्द्रमा उपचारका लागि जानुपर्ने बताए। आफन्त र चिनेजानेकाबाट हुने करणी तथा करणीमा संलग्नलाई हुने कारबाहीबारेमा समेत प्रचारप्रसार भएमा न्यूनीकरणमा सहज हुने जानकारहरूको भनाइ छ।

प्रकाशित: २ जेष्ठ २०८० ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App